अमेरिकी र रुसी सैनिकबीच सिरियामा भिडन्त, अमेरिकी सैनिक घाइते

काठमाडौँ : अमेरिकाको निशानामा परेको युद्धग्रस्त सिरियाको उत्तरी क्षेत्रमा अमेरिकी र रुसी सैन्य ट्याङ्कहरू जुधेपछि दुवै सैनिकबीच भिडन्त भएको समाचार छ । भिडन्तमा केही अमेरिकी सैनिक घाइते भएको समाचारमा जनाइएको छ ।
भिडन्तका बारेमा रुसको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उक्त क्षेत्रमा रुसी सैनिकले गस्ती गर्दैछन् भनेर अमेरिकी सेनालाई पहिल्यै चेतावनी दिइएको थियो । रुसको समाचार एजेन्सी तासले रक्षा मन्त्रालयका तर्फबाट जारी गरिएको विज्ञप्ति उल्लेख गर्दै भनेको छ, ‘हामीले यति भन्दाभन्दै पनि विद्यमान सम्झौताहरूलाई नजरअन्दाज गरेर अमेरिकी सैनिकहरूले रुसी गस्ती टोलीलाई रोक्ने कोसिस गरे । जबाफमा रुसी सैन्य पुलिसले आफ्नो मिसन पूरा गर्न र घटना रोक्नका लागि आवश्यक जरुरी कदम उठायो ।’
गत मङ्गलबार उत्तरी सिरियामा रुसी र अमेरिकी सैनिकबीच भएको भिडन्तका लागि दुवै देशले अर्काे पक्षलाई आरोप लगाएका छन् । यस भिडन्तमा केही अमेरिकी सैनिक घाइते भएका छन् । दुवबै देशका ट्याङ्कहरू ठोक्किएको भिडियो रुसी वेबसाइट रुसभेस्ना डट एसयूुबाट प्रसारण गरिएको छ ।
यसपछि ट्वीटरमा यो भिडियो भाइरल भयो । भिडियोमा एक रुसी सैन्य वाहन मरुभूमि क्षेत्रमा एक अमेरिकी ट्याङ्कसँग ठोक्किएको देखिन्छ । भिडियोमा एक रुसी हेलिकोप्टर उडिरहेको पनि देख्न सकिन्छ ।
अमेरिकाले आफ्नो गस्तीमा रोकावट उत्पन्न गरेको रुसको आरोप छ । तर अमेरिकी रक्षा अधिकारीले सीबीएस न्युजसँग कुरा गर्दै रुसी सैनिकहरू अमेरिकी सुरक्षा क्षेत्रमा घुसेको जनाएका छन् ।
ह्वाइट हाउसका अनुसार गाडीका चालकदलका सदस्यलाई हल्का चोट लागेको छ । सिरियामा अमेरिकी र रुसी सेनाबीच संवाद र विवाद भइरहन्छ तर यस्तो टकराव भने पहिले भएको थिएन । रुसले सिरियामा सरकारी सेनालाई समर्थन गर्छ । अमेरिका भने स्थानीय कुर्द लडाकुहरूलाई साथ दिइरहेको छ । सिरयिामा सन् २०११ देखि गृहयुद्ध चलिरहेको छ भने अमेरिका सरकार पक्षलाई अपदस्थ गराउने योजनासहित विद्रेही भनिएकाहरूलाई सघाइरहेको छ । सन् २०१६ देखि भने रुसको सैन्य पुलिस पनि सिरिया सरकारको सहयोगका लागि त्यहाँ उपस्थित छ । सिरिया सरकारको नियन्त्रणमा रहेका केही इलाकामा कानून र व्यवस्था निर्माण गर्ने जिम्मा नै रुसी सैनिक पुलिसलाई दिइएको छ । त्यस्तै रुसी सैन्य प्रहरीले युद्धविरामको पनि निगरानी गर्छन् । रुसले सिरियाका राष्ट्रपति बसर अल असदको सेनालाई सैन्य उपकरण र हतियारहरू पनि सहयोग गरेको छ । असदको सेनाले आफ्नो देशमा धेरै विद्रोही सङ्गठनहरूसँग लडाइँ लडिरहेको छ ।
अमेरिकाको नेसनल सेक्युरिटी काउन्सिल (एनएससी) ले भने रुसी सैन्य वाहन अमेरिकाको एन्टी मिसाइल ट्याङ्कसँग ठोक्किएकाले अमेरिकी वाहनका चालक दलका सदस्य घाइते भएको जनाएको छ ।
एक साता पहिले पनि अमेरिकी सैनिकहरूमाथि रुसको सहयोगी सिरियाली सेनाले गोलाबारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :