म यो देशको नेता

व्यङ्ग्य कविता

म यो देशको नेता हेर्नुस्
राष्ट्रियताको भाषणमा रमाएको छु
किन बचाइराख्नु अब देश
मेरो पुस्तौँलाई पुग्ने धन कमाएको छु ।

केही भारतले खायो, बाँकी
अमेरिकालाई दिने हो
एमसीसी अनुमोदन गर्नुपर्छ जनतालाई
जेसुकै होस् हामीले पैसा लिने हो ।

अझै कमाउने हो सकेसम्म
मोजमस्ती गर्ने हो, रमाउने हो
नेपाल त दूध दिने गाई हो
दूध खाँदै विदेशीको हात समाउने हो ।

आफैँ खाने हो
आफ्नालाई खुवाउने हो
जनतालाई खुवाएर
आखिर के पाउने हो ?

यो देशमा मात्रै कति घुम्नु
ठूल्ठूला देश पनि घुम्ने हो
देश बेचेको पैसाले
चरम आन्नद लिँदै रम्ने हो ।

किन जोगाउने नेपाल ? किन बचाउने नेपाली ?
अब नेपाललाई नि सिरिया बनाउने हो
जनता मरे मर्छन्, आफ्नो सन्तान
अमेरिका पठाउने हो ।

किन जोगाउनु पहाड ?
किन जोगाउनु खनिज ? सबै नष्ट गर्ने हो
डाँडाकाँडा खारेर विद्युत्
लाइन विस्तार गर्ने हो ।

किन उन्नति–प्रगति गर्नु ?
देशलाइ बरु घाटामा पार्ने हो
अमेरिकी सेना ल्याउने हो
नेपाली सेनाको मेख मार्ने हो ।

सधैँ कति गर्ने साना
मालिकहरूसँग मात्रै साथ ?
अब त मिलाइन्छ ठूलाठूला
मालिकहरूसँग हात ।

चिन्ता नगर अमेरिकाको पैसा आउँछ
सुख पाइन्छ भनी लगाइन्छ नारा
त्यो त सम्झिने हो जनताहरू
चल्छ नेपालमा अब अमेरिकाको पारा ।

हामीले किन गर्ने देशको विकास ?
जे गर्छ उसैले गर्छ
अब त नेपालमा केही गर्न पनि
अमेरिकालाई सोध्नुपर्छ ।

खुसी हुनुपर्छ, नाच्ने हो, नचाउने हो
हाँस्ने हो, हँसाउने हो
नेपाली गीत–सङ्गीत त्यस्तै हो
अब अमेरिकी गीत बजाउने हो ।

किन गर्छौ विद्रोह जनता ?
हामीले कमाउने बेलामा
चिन्ता लिनु हुँदैन अब अमेरिकी
सेनाको परेड हेर्दै रमाउने बेलामा ।

कोही केही नभन जनताको पालो
आउँछ देशले कोल्टे फेर्छ
अमेरिका हाम्रो साथमा छ जे
भए नि चिन्ता छैन, अब कसले के गर्छ ?

चिन्ता छैन केही अब
अमेरिकाले चलाओस् देश
छिमेकीहरूलाइ ढोग्नुभन्दा
एउटैको दास बनेको बेस !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :