ताप्लेजुङ सेक्रेटरी लिम्बूलाई बिनासर्त रिहा नगरिए प्रतिरोधको सामना गर्नुपर्ने नेकपाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मेची–कोसी ब्युरोले प्रेस–विज्ञप्ति जारी गर्दै भदौ २७ गते पार्टीका ताप्लेजुङ जिल्ला सेक्रेटरी किशोर लिम्बूलाई पार्टी कामको सिलसिलामा रहेको अवस्थामा फक्ताङ्लुङ गाउँपालिका वडा नः ३ तावाबाट सरकारले अकारण गिरफ्तार गरेकाले बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ । ब्युरो इन्चार्ज प्रतापले जारी गरेको विज्ञप्तिमा पार्टी नेता–कार्यकर्तामाथि धरपकड र जिल्ला इन्चार्ज लिम्बूको गिरफ्तारीको घोर भत्र्सना गर्दै बिनासर्त मुक्त नगरिए प्रतिरोधको सामना गर्न चेतावनी दिएका छन् ।

प्रतापले विज्ञप्तिमा भनेका छन्, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी कोरोना महामारीका कारण देश नै अस्तव्यस्त बनिरहेको समयमा उचित सुरक्षा अपनाउँदै जनताको बीचमा रहेर यस महामारीबाट सजग रहन र सचेतनाका निम्ति कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । यता सत्ताको मातले नशामा चुर्लुम्म डुबेको वली सरकार भने जनतालाई छाक टार्नसमेत कठिन परिरहेको बेला भ्रष्टाचार गर्नमै तल्लीन रहेको छ । दलाली गर्ने र जनतालाई दुःखी बनाउने अहिलेको व्यवस्थाको विकल्पमा जनताहरु एकीकृत भएर आन्दोलनको तुफानबाट वैज्ञानिक समाजवादी व्यवस्थाका निम्ति जुटिसकेको अवस्था छ । यसले के देखाउँछ भने अन्ततः अहिलेको व्यवस्था र यो सत्ता पूर्ण रूपमा असफल बनिसकेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा मिति २०७७ भदौ २७ गते. हाम्रो पार्टीका ताप्लेजुङ जिल्ला सेक्रेटरी कमरेड किशोर लिम्बूलाई बिहान ८ः०० बजे पार्टी कामको सिलसिलामा फक्ताङ्लुङ गाउँपालिका वडा नः ३ तावाबाट फासिवादी ,दलाल केपी सरकारले गिरफ्तार गरेको छ । यस किसिमको धरपकड र गिरफ्तारीको पार्टी घोर भत्र्सना गर्दछ साथै यस विषम परिस्थितिमा पार्टीका नेता–कार्यकर्तामाथि धरपकड बन्द गरी बिनासर्त मुक्त गर्न माग गर्दछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘आफ्नो निजी जीवनको कुनै परबाह नगरी जनता र देशका निम्ति अहोरात्र खटिरहनुभएका हाम्रा नेता–कार्यकर्तामाथिको यसखालको दमन र गिरफ्तारी केपी सरकारलाई महँगो पर्नेछ । आफ्नो सत्ता टिकाउनका लागि क्रान्तिकारीहरुमाथि गरिएको धरपकड खेदजनक छ । अतः यस किसिमको कदम तत्काल बन्द नगरे उचित समयमा यसको जबाफ दिइनेछ जसको जिम्मेवारी स्वयम् अहिलेको केपी सरकार हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :