पर्चा बोकेकी आमा

कारखानानजिकै रहेको एउटा गरिब बस्ती । जारको निरङ्कुश पुँजीवादी शोषणको जाँतोमुनि पिसिएको रुसी समाज । अर्थात् भोकले दाम्रिएको सोरमोभो बस्ती जहाँ प्रत्येक व्यक्ति जन्मिएपछि बाँच्नका लागि अनिवार्य कारखानामा भर्ना हुनुपर्छ । उनीहरू दिनरात कारखानाको मेसिनसित पौँठेजोरी खेल्छन् । उनीहरूको सम्पूर्ण जीवन कारखानामा बित्छ । साँझबिहानको बाँकी समय जाँडरक्सी र जुवातासको कुलतमा व्यस्त । सोरमोभो बस्तीको दैनिक जीवन असाध्यै दयनीय, दुःखद्, तिरस्कृत, पुराना बानीबेहोरा, संस्कार र विचारहरूको गाँठोमा बाँधिएको छ । बर्सौंदेखि अभ्यस्त यो जीवनपद्धति बदल्ने इच्छा कसैमा हुँदैन । यीमध्ये एउटा परिवार हुन्छ मिखाइल भ्लासोभको परिवार । अर्थात् मजदुरी गरी जीविकोपार्जन गरिरहेको एक दुःखी परिवार । प्रत्येक दिन रक्सीले मात्तिएका श्रीमान्बाट गालीगलौज र मारपिट सहेर दुःखको जीवन गुजार्दै आएकी ती महान् आमा थिइन्– पेलागिया निलोभ्ना अर्थात् एक महान् नायिका ।

महान् समाजवादी लेखक माक्सिम गोर्कीद्वारा लिखित कालजयी पुस्तक आमा उपन्याससित छु आज म । रुसी जनताका माझमा जन्मेर विश्वसाहित्यको चम्किलो अमर तारा बन्न सफल माक्सिम गोर्कीद्वारा लिखित आमा उपन्यास अत्यन्तै चर्चित पुस्तक हो । सन् १९०५ को अक्टोबर क्रान्तिपूर्वको रुसी मजदुरहरूको जीवन र सङ्घर्षको प्रतिबिम्ब उतारिएको यस उपन्यासमा तिनै मजदुरहरूको माझमा बाँचिरहेकी एक साधारण मजदुर नारीलाई आमाका रूपमा प्रस्तुत गर्दै गोर्कीले एक महान् आमाको जन्म दिएका छन् ।

यो पुस्तकको पहिलो प्रकाशन सन् १९०७ मा भएको थियो । पुस्तकमा तत्कालीन रुसी सामाजिक एवम् राजनीतिक परिवेशको घनीभूत चित्रण गरिएको छ । माक्सिम गोर्कीसँगको एक अन्तरवार्तामा कमरेड भीआई लेनिनले उपन्यासको महत्वबारे भनेका छन्, ‘रुसी क्रान्तिमा धेरै मजदुरहरू सचेत रूपमा नभएर स्वतः स्फूर्त रूपमा भाग लिँदै आएका थिए । अब यो उपन्यास पढेर मजदुरहरूले धेरै फाइदा उठाउनेछन् । अतः यो अत्यन्तै जरुरी पुस्तक हो ।’ कमरेड लेनिनको यो भनाइबाट पनि उपन्यासको महत्व प्रस्ट हुन्छ ।

उपन्यासको प्रारम्भमा एक कारखानाको छेउमा रहेको सोरमोभो बस्ती र त्यहाँका मजदुरहरूले बाँचिरहेको दुर्दान्त समय र समाजको मर्मस्पर्शी जीवन दृश्य चित्रण गरिएको छ । ती महान् नायिका पेलागिया निलोभ्नाको लोग्नेको मृत्युपछि उनका छोरा पाभेल भ्लासोभले मजदुर बस्तीका बहुसङ्ख्यक मजदुरहरूले अपनाउँदै आएको खराब जीवनपद्धतिलाई छाडेर क्रान्तिकारी जीवनपद्धति अँगाल्न थालेपछि उनी पनि छोरासँग काँधमा काँध मिलाएर उभिन्छिन् । क्रान्तिकारी सङ्घर्षको सिलसिलामा प्रहरीद्वारा गरिएको फासिवादी दमन र असह्य यातनाको बीचबाट सत्य र न्यायका पक्षमा दृढतापूर्वक उभिएकी महान् आमाका महान् छोरा पाभेल जेल जीवनपछि प्रतिक्रियावादी अदालतको फैसलाबमोजिम हजारौँ किलोमिटर टाढा सधैँका लागि साइबेरिया निर्वासित हुन्छ । सत्य र न्यायका पक्षमा उभिएकै कारण निर्वासित हुन बाध्य पारिएका पाभेल नै उपन्यासको मुख्य पात्र हो ।

उपन्यासमा पुरानो संस्कार र मान्छेको दिमागमा बसेको जीर्ण जीवनपद्धतिको छापलाई मेटाउँदै पाभेलले कठिन तर गौरवपूर्ण यात्राको सुरुआत गर्दछ । कारखानाका अरू युवाहरूभन्दा ऊ बेग्लै छ । ऊ रक्सी पिउँदैन । जुवातास खेलेर समय खेर फाल्दैन । ऊ धेरै कम बोल्ने र गम्भीर छ । प्रत्येक दिन आमालाई काममा मद्दत गर्छ । ऊ घरमा किताबहरू लिएर आउँछ । लुकीछिपी ऊ ‘गैरकानुनी’ किताबहरू पढ्ने र लेख्ने गर्छ । उसलाई कसैको अन्याय सह्य हुँदैन । पाभेलका बुबा भ्लासोभ जँड्याहा हुन्छ र परिवारमा बुबाको दुव्र्यवहारप्रति पाभेलको हृदयमा घृणा उब्जन्छ । एक दिन जब पाभेललाई भ्लासोभले सधैँझैँ पिट्न खोज्छ तब पाभेलले प्रतिरोध गर्छ ।

पाभेल कारखानामा काम गर्ने मजदुरहरूको अगुवा हो । ऊ भन्छ, ‘हामी जनावरहरूले जस्तै पेट मात्रै भरेर सन्तुष्ट हुन सक्दैनौँ । हामी मान्छे भएर बाँच्न चाहन्छौँ ।’ सन् १९०५ को रुसी अक्टोबर क्रान्तिको तयारीको बेला आफू मान्छेजस्तै भएर बाँच्न चाहने र पार्टीको हरेक निर्देशनलाई स्वीकार गर्ने पाभेल जारको निरङ्कुश शासनबाट रुसी जनतालाई मुक्त पार्नका लागि क्रान्तिको अग्रभागमा उभिएको छ । रुसी मजदुर तथा नवयुवकहरूको प्रतिनिधि पात्रका रूपमा पाभेललाई उपन्यासको पात्रका रूपमा प्रस्तुत गरिएको छ । यसबारे माक्सिम गोर्कीले भनेका छन्, ‘पाभेल कुनै दुर्लभ पात्र होइन । यस्तै नवयुवकहरूले बोल्सेभिक पार्टीको सिर्जना गरेका थिए ।’

पाभेल पढ्दै गरेको साँझ आमा कोठाभित्र पस्दै भन्छिन्, ‘पाभेल, तिमी हरसमय यो के पढ्दैछौ ?’ जबाफमा पाभेल भन्छ, ‘आमा, म ‘गैरकानुनी’ किताब पढ्दैछु । यो ‘गैरकानुनी’ यसकारण हो, यसमा मजदुरहरूका बारेमा साँचो कुरा लेखिएको छ । तर जारशाही सत्यलाई अपराध ठान्छ । त्यसकारण यो लुकाएर छापिन्छ । योसँग म पक्रिएँ भने जेल पठाइदिन सक्छ ।’ पाभेलको कुरा सुनेर आमा डराउँछिन् र रुन थाल्छिन् । पाभेल आमालाई सम्झाउँदै भन्छ, ‘नरुनु आमा ! एकपटक सोच्नु त, हाम्रो जीवन कति दुःखी छ ! तिमी चालीस वर्षकी भयौ । के तिमीले आफ्नो जीवनमा कहिल्यै सुख देख्यौ ?’ पाभेलको कुरा आमा ध्यानपूर्वक सुन्छिन् तर उनको मुटुको ढुकढुकी भने शान्त भएको छैन । पाभेलले आमालाई आफ्ना ‘गैरकानुनी’ साथीहरूबारे पनि बताउँछ ।

मजदुरहरूका पक्षमा दिनरात काम गरिरहेका ‘गैरकानुनी’ मान्छेहरूलाई सरकार हिंस्रक पशुजस्तै पिछा गर्छ, पक्राउ गरी जेलमा थुन्छ र निर्वासित गर्छ । पाभेल गैरकानुनी मान्छेहरूबारे भन्छ, ‘आमा, म यस्ता मान्छेहरूलाई चिन्छु । तिनीहरू धर्तीका उज्याला सूर्य हुन् ।’ सुरुमा आमा पाभेलका ती साथीहरूदेखि डराउँछिन् । उनीहरूसँगको प्रत्यक्ष चिनापर्चीबाट आमाको पुरानो सबै धारणा परिवर्तन हुन्छ । आफ्नै घरमा भएको बैठकमा उनीहरूले गरेको श्रद्धा र बुद्धिमत्तापूर्ण मानवीय व्यवहारले आमाको मन जित्छ र उनी भन्छिन्, ‘के गैरकानुनी र खतरनाक मानिसहरू भनेका यिनै हुन् त ? अहँ, म यो मान्दिनँ ।’

उपन्यासमा नारीको महानतालाई आमाको भूमिकाका रूपमा बेजोड ढङ्गले प्रस्तुत गरिएको छ । छोरा पाभेल जेलमा रहेको बेला दुस्मनका कडा निगरानीलाई छकाउँदै आमाले कारखानाभित्र मजदुरहरूका बीचमा पर्चाहरू पुर्याउँछिन् । आमाको आँखामा वेदना र विवशताले बगेको आँसु देखेर एउटा पुलिस अफिसरले तिरस्कार गर्दै भन्छ, ‘महाशय ! अहिल्यै धेरै आँसु नबगाऊ । तिमीलाई पछि यो आँसुको अझ जरुरत पर्नेछ ।’ आमा जबाफ दिन्छिन्, ‘आमाको आँखामा कहिल्यै आँसुको कमी हुँदैन । तपाईंकी पनि आमा हुनुहुन्छ भने उहाँलाई यो कुरा थाहा हुनुपर्छ ।’ आमाको जबाफले पुलिस अफिसर नतमस्तक हुन्छ ।

हरेक शनिबार पाभेलको घरमा बैठक बस्न थाल्छ । बैठकमा आउनेको सङ्ख्या बढ्दै जान्छ । सबैजना आमालाई बडो सम्मान गर्छन् र आमा पनि उनीहरूलाई आफ्नै सन्तानझैँ माया गर्छिन् । कारखानामा पाभेलसँगै काम गर्ने उक्राइनी पनि हुन्छिन् । उक्राइनीका आमाबुबा हुँदैनन् । पाभेल र उक्राइनीबीचको मित्रता गाढा हुँदै जान्छ । उक्राइनी एक्लो भएको थाहा पाएपछि आमाले आफ्नै घरमा राख्छिन् ।

वर्गसङ्घर्षमा आमा जीवन र जगत्का बारेमा बुझ्दै जान्छिन् । उनी भन्छिन्, ‘मैले सत्य बुझेकी छु । समाजमा धनी र गरिब वर्ग रहँदासम्म गरिबले सुख कहिल्यै पाउने छैनन्, न त न्याय नै । हरेक आमाले आफ्ना छोराछोरीलाई हाँसी–हाँसी फाँसीको तख्तामा पठाउनुपर्छ । हरेक आमाहरूको त्यस्तो प्रेम हुनुपर्छ जुन प्रेमी मान्छेका खुट्टा बाँध्ने सिक्री बन्नु हुँदैन ।’ पाभेलका कठोर र तिखा वचन आमा सहजै आत्मसात मात्रै गर्दिनन् वैचारिक साथसमेत दिन्छिन् । आमा भन्छिन्, ‘हाम्रो जिन्दगी नै हाम्रा बालबच्चाहरूका लागि हो । सारा संसार नै उनीहरूका लागि हो ।’

बैठकमा सहरबाट आउनेहरूमा सांसा र नातासा नामका दुई नौजवान महिलाहरू पनि छन् । उनीहरूलाई देखेर आमा चकित हुन्छिन् । उनीहरूमध्ये एउटाको बाबु निकै धनी जमिनदार र अर्काका बुबा उच्च सरकारी अफिसर थिए । सांसा र नातासा भने ससाना नोकरी गर्छन् । तिनीहरू बरफको तुफानी रातमा पनि एक्लै हिँड्छन् । आमा उनीहरूको साहसबाट निकै प्रभावित हुन्छिन् ।

बस्तीमा कारखाना मालिकहरूको विरोधमा छापिएको पर्चा र त्यसलाई छर्ने चर्चा चल्छ । पर्चामा मजदुरहरूलाई शोषणका विरुद्ध एकजुट हुन आह्वान गरिएको हुन्छ । प्रहरीबाट पाभेलको घरमा खानतलासी हुन्छ । प्रहरीले कुनै पर्चा भेटाउँदैन तर उक्राइनीलाई गिरफ्तार गर्छ । उक्राइनी यसअघि दुईपटक गिरफ्तार भइसकेकी हुन्छिन् ।

कारखानावरिपरिको फोहोर सफा गर्ने मजदुरहरूको तलबमा पैसा कटाउने मालिकहरूको निर्णयविरुद्ध हडताल आह्वान गरिएको राती पाभेललगायत अन्य पचासजना मजदुरलाई गिरफ्तार गरिन्छ । पाभेलको गिरफ्तारीबाट आमा निकै दुःखी हुन्छिन् । पाभेलका सबैजसो साथीहरू पक्राउ पर्छन् र बाँकीमा सन्त्रास फैलाइएको हुन्छ । आमाको घरमा दुई दिनसम्म कोही आएका हुँदैनन् । तेस्रो दिनमा सहरबाट पाभेलका दुई साथीहरू येगोर र समोइलोब आइपुग्छन् ।

पाभेलका ती दुईजना साथीले आमालाई भन्छन्, ‘आमा, तपाईंलाई थाहा छ ! यहाँका हाम्रा सबैजसो साथीहरू पक्राउ परेका छन् । अहिले यहाँ पर्चा बाँड्नेसम्म पनि साथीहरू कोही छैनन् ।’ पाभेलका ती साथीहरूको कुरा सुनेपछि आमाले कारखानामा पर्चा छर्ने जिम्मा आफू लिन्छिन् र दृढतापूर्वक भन्छिन्, ‘तिनीहरूले पनि देखून् पाभेलको हात जेलबाहिर पनि पुग्न सक्छन् ।’

आमा खाना बेच्ने बहानामा कारखानाभित्र पस्छिन् । लुकिछिपी पर्चा बाँड्छिन् । प्रहरी र मालिक छक्क पर्छन् । पर्चाले मजदुरहरूमा अन्यायका विरुद्ध लड्ने साहस पैदा गरिदिन्छ । मजदुरहरूको चर्को विरोधका कारण मालिकहरू तलबमा कटौती गर्ने निर्णय फिर्ता लिन बाध्य हुन्छन् र पक्राउ परेका मजदुरहरूविरुद्ध कुनै प्रमाण नभएपछि क्रमशः रिहा हुँदै जान्छन् ।

पाभेलभन्दा पहिला उक्राइनी (आन्द्रेई) जेलबाट छुट्छिन् र आमाले कारखानामा पर्चा बाँडेकोमा खुसी व्यक्त गर्दै सराहना व्यक्त गर्छिन् । आमा आफ्नो सफलतामा निकै खुसी हुन्छिन् ।

आमा पाभेललाई जेलमा भेट्न जान्छिन् । पाभेल जेलमा भए पनि साथीहरू छुटेकाले आमाको घरमा पहिलेजस्तै बैठक बस्न थाल्छ । आमाले ध्यानपूर्वक सुन्छिन् तर सबै नबुझ्दा दुःखी हुन्छिन् । आमा आफूले राम्रो पढ्न नजानेकोमा पछुताउँछिन् । तैपनि आमा पढ्ने प्रयत्न गर्छिन् । बिस्तारै भुलेका अक्षरहरू सम्झिन थाल्छिन् ।

मिखाइल रिविन आमाकी छिमेकी हुन् । सुरुमा उनको धर्मविरोधी कुराबाट आमालाई चित्त बुझेको थिएन तर बिस्तारै बुझ्दै गएपछि रिविनलाई मन पराउँछिन् । रिविन किसानहरूमा जागृति ल्याउने उद्देश्यले कारखाना छोडी गाउँ जान्छिन् ।

पाभेल जेलबाट छुट्छ । उक्राइनी (आन्द्रेई) र साथीहरू मई दिवसको तयारीमा जुट्छन् । कारखाना मालिकहरू डराउन थाल्छन् । पुलिस सक्रिय हुन्छ । जासुसहरू व्यस्त हुन्छन् । सिभिलियनहरूले जासुसको काम गर्छन् । उनीहरूले क्रान्तिकारीहरूको गतिविधिको सूचना पुलिसलाई पु¥याउँछन् ।

पाभेल हातमा झन्डा समाएर मई दिवसको दिन अग्रपङ्क्तिमा उभिएको छ । सांस्कृतिक टिमले अन्तर्राष्ट्रिय गीत गाउँछ, ‘उठ जाग भोका नाङ्गा, अब उठाऊ रातो तरबार ।’ पाभेलले मजदुरहरूलाई सम्बोधन गर्छ । मजदुरहरू नारा घन्काउँदै अघि बढ्छन् । प्रहरीले जुलुस तितरबितर पार्न खोजे पनि शान्तिपूर्वक अघि बढ्छ । गोली चलाएपछि जुलुसको पछिल्लो भागमा भागदौड चल्छ । तर पाभेलसहितको अघिल्लो टिम दृढतापूर्वक अघि बढ्छ । प्रहरीद्वारा पाभेल पुनः गिरफ्तार पर्छ । आमा भीडको बीचमा लडेको झन्डा उठाएर चिच्याउँदै भन्छिन्, ‘साथीहरू हो ! प्रहरी दमनबाट तपाईंहरू नआत्तिनुस् । न्यायका निम्ति मेरो छोरा, मेरो कलेजोको टुक्रा मैदानमा निस्केको छ । उसले सबैको जीवनलाई खुसी बनाउन यो झन्डा उठाएको हो । ऊ एउटा नयाँ जीवन चाहन्छ– सत्य र न्यायको । उसलाई साथ दिन नछोड्नुस् ।’

त्यो घटनापछि आमालाई पक्राउ गर्ने डरले सुरक्षाका निम्ति सहरका इबानोबिच नामको साथीकहाँ बस्ने व्यवस्था गरिन्छ । इबानोबिच सरकारी नोकरी गरेर पनि आफ्नी बिधुवा दिदी सोफियासँग गुप्त रूपमा क्रान्तिकारी गतिविधि गर्ने मान्छे हो । उसको घर पनि आमालाई आफ्नैजस्तो लाग्छ । त्यहाँ पनि गुप्त बैठकहरू हुन्छन् तर सङ्गठनको काम नपाएको कारणले उनी असन्तुष्ट हुन्छिन् । उनी काममा दिनरात व्यस्त रहन चाहन्छिन्् ।

एक दिन आमाले किसानहरूका लागि प्रकाशित गरिएको पर्चा र अखबार गाउँ पुर्याउने मानिस नभएको कुरा थाहा पाउँछिन् । त्यो काम आमाले पूरा गर्ने विश्वास इबानोबिचलाई दिलाउँछिन् । पहिलोपटक आमा सोफियासँगै गाउँ जान्छिन् । त्यसपछि गुप्त पर्चा, अखबार र पुस्तक गाउँका जनतासम्म पुर्याउने काम आमा एक्लै गर्छिन् । आमालाई जान्नेबुझ्ने सबैले माया एवम् सम्मान गर्छन् । गाउँमा आमालाई ‘कमरेड’ भनी बोलाउँदा निकै खुसी हुन्छिन् ।

रुसी अक्टोबर क्रान्तिको तयारीकालमा भूमिगत कार्यहरूमा सामेल भएर कहिले कारखानाका मजदुरहरूका बीचमा त कहिले दूरदराजमा बस्ने गाउँका किसानहरूका बीचमा तीर्थयात्रीको भेषधारण गरेर पर्चा, अखबार र पुस्तकहरू पुर्याउने र क्रान्तिमा योगदान दिने कार्यमा पेलागिया निलोभ्ना नामकी आमा एक्लैले होइन, कैयौँ रुसी आमाहरूले ठूलाठूला जिम्मेवारीहरू वहन गरेका थिए । तिनै आमाहरूको प्रतिनिधि पात्रका रूपमा पेलागिया निलोभ्ना नामकी आमालाई उपन्यासमा प्रस्तुत गरिएको छ ।

रुसी क्रान्तिको समयमा इबानोबिचजस्ता योद्धा हुन्छन् जो बारम्बार जेलमा कैद हुन्छन्, निर्वासित हुन्छन् । फेरि उही उत्साहका साथ क्रान्तिमा प्रतिबद्ध भई लाग्छन् । क्रान्तिमा येगेरजस्ता नौजवानहरू हुन्छन् जो गरिबी र भोकका कारण बिरामी भएर पनि दिनरात काम गर्छन् र हाँस्दाहाँस्दै मृत्युवरण गर्छन् । क्रान्तिमा सासा र नातासाजस्ता केटीहरू हुन्छन् जो जमिनदार र सरकारी अफिसरका छोरीहरू भएर पनि क्रान्तिकारी योद्धा बनेका हुन्छन् र सबै सुख त्यागेर अभाव, कष्ट, जेल र निर्वासनको जीवन बिताउँदै सुखी र उत्साहित हुन्छन् । क्रान्तिमा रिविनजस्ता योद्धा हुन्छन् जो किसानहरूमा जागृति ल्याउने काम गरेको आरोपमा प्रहरीको दमनबाट रक्ताम्मे हुन्छन् र थुनिन्छन् तर क्रान्तिको लक्ष्यप्रति निष्ठावान् रहन्छन् । सोफिया र लुदमिलजस्ता महिला योद्धाहरू हुन्छन्, उनीहरू कठिन समयसँग जुधिरहेका हुन्छन्् तर एक क्षण पनि कर्तव्यपथबाट विचलित हुँदैनन् ।

पाभेल र उसका साथीहरूविरुद्ध अदालतमा मुद्दा चल्छ । मुद्दा त नाटक मात्र हो भन्ने कुरा आमा राम्रोसित बुझ्छिन् । प्रहरीले न्यायका नाममा गरेको पाखण्डी व्यवहारप्रति आमाको हृदयमा घोर वितृष्णा जाग्छ र पाभेलको लक्ष्यप्रति दृढ विश्वास पलाउँछ । मई दिवसमा पक्रिएका सबैजनालाई निर्वासनको सजाय सुनाइन्छ । मजदुरहरूले अदालतको ‘न्याय’ को विरोध गर्छन् र पाभेलको भाषण छापिनुपर्ने राय व्यक्त गर्छन् ।

पाभेलको भाषण जनतासम्म पु¥याउने जिम्मा पनि आमाले लिन्छिन् । एक दिन सुटकेस लिई आमा बस स्टेसनमा बसिरहेकी हुन्छिन् । निकै दिनदेखि पिछा गरिरहेको जासुस आमाको दृष्टिमा पर्छ । जासुस गएको केही समयपछि प्रहरी आइपुग्छ ।

आमाले झोलाबाट पर्चा निकाल्छिन् र बेन्चमा उभिएर पर्चाको चाङ उठाउँदै भन्छिन्, ‘हिजो राजनीतिक कैदीहरूविरुद्ध मुद्दा चलाए र उनीहरूमा मेरो छोरो पाभेल पनि छ । पाभेलले अदालतमा दिएको भाषण यो पर्चामा छापिएको छ ।’ स्टेसनमा रहेका सबै यात्रुहरू उनीतर्फ हेर्छन् । आमा पर्चाको चाङ हावामा उडाइदिन्छिन् । सबैजना उत्सुकतावपूर्वक पर्चा टिप्छन् र लुगाभित्र लुकाउँछन् । आमा भन्छिन्, ‘बुझ्यौ ? मेरो छोरा र उसका साथीहरूविरुद्ध किन मुद्दा चलाएका छन् ? किनकि उनीहरू सत्य बोल्छन् ।’

‘ए ! बूढी ! तल ओर्ली र आफ्नो मुख बन्द गर !’ प्रहरीले आमालाई टाउकोमा हिर्काउँदै भुइँमा झार्छ । प्रहरीले आमालाई घिसार्दै भीडलाई तितरबितर पार्छ । आमा छुट्नका निम्ति प्रयास गर्छिन् तर घिसारिँदै जान्छिन् । उनी भन्छिन्, ‘साथीहरू ! नडराउनुहोस्, हामी अति गएगुज्रेको जिन्दगी व्यतित गर्दैछौँ, त्योभन्दा खराब अरू केही हुन सक्दैन ।’ आमाको आवाज सुनेर ‘चुप होऊ कुकुर्नी’ भन्दै प्रहरीले आमाको टाउकोमा हिर्काउँछ । उनी रगताम्य भएर बेहोस हुन्छिन् । मान्छेहरूको कोलाहल सुनेर उनको होस फर्कन्छ । मानिसहरू क्रोधमा हुन्छन् र चिच्याउँछन्– ‘खबरदार ! आमालाई पिट्न पाइँदैन ।’

प्रहरीले आमाको पीठ र गर्धनमा मुक्का हिर्काउँछन् । चिच्याहट र क्रन्दनले वातावरण कोलाहलमय हुन्छ । आमाको शरीरभरि आगोले पोलेझैँ पीडा हुन्छ । अशक्त शरीर लल्याकलुलुक हुन्छ । तर उनको आँखामा चमक हुन्छ अर्थात् क्रान्तिप्रति आशा, विश्वास र प्रतिबद्धताको आगोजस्तै चमक ।

प्रहरीले आमालाई ढोकाभित्र हुल्छ । आमा चिच्याउँछिन्, ‘ए उल्लुहरू हो ! रगतको खोलाले पनि सत्यलाई दबाउन सक्दैनौ । तिमीहरू जति बढी दमन गर्छौ, तिमीहरूप्रतिको घृणा उति नै बढ्नेछ र एक दिन आक्रोशको पहाड तिम्रो टाउकोमा बज्रिनेछ ।’ आमाले आफ्नो आवाज बुलन्द गर्दै क्रान्तिकारी परिवर्तनका निम्ति लड्न आह्वान गरेकी छिन् ।

क्रान्तिकारी जीवन सङ्घर्षको शौर्यगाथा कोरिएको उपन्यासमा समाजका शोषक र शोषित वर्गबीचको वर्गसङ्घर्षलाई अत्यन्तै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । निजी जीवनभन्दा क्रान्तिलाई आत्मसात गर्नेहरू यथार्थमा समाजवादी हुने, निजी सम्पत्ति र शोषणमा आधारित पुँजीवादी सत्ता अन्त्य नहुँदासम्म क्रान्तिलाई जारी राख्नुपर्ने कुरा उपन्यासमा रहेको छ । यो उपन्यास विश्वभरका सर्वहारा श्रमजीवी तथा मजदुर वर्गका पक्षमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :