भ्रष्टाचारी कथित जनप्रतिनिधिविरुद्ध सङ्घर्षमा उत्रिन नेकपाको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भूमिका नगर समिति अर्घाखाँचीले प्रेस विज्ञप्ति जारी गर्दै भूमिकास्थान नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण विवादमा वडा नं. ४ का अध्यक्ष बाबुराम पन्थीले ३,८२,०००।– फर्जी बिल बनाई रकम निकासा गर्ने विषय उठान गरेपछि र सोही नपाका मेयरले निकासा गर्न रोकेपछि चुलिएको विवादप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको भन्दै भ्रष्टाचारी जनप्रतिनिधिविरुद्ध सङ्घर्षमा उत्रिन नगरबासीलाई आह्वान गरेको छ । इन्चार्ज बारुदले जारी गरेको विज्ञप्तिमा उक्त अस्पताल र करार कर्मचारी नियुक्ति दिनेसम्मका विवाद उत्पन्न भएको र यसले नगरपालिकाका अरू काला कर्तुतहरू उजागर गर्दै जाने पनि जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनता कोरोना भाइरस (कोभिड १९) र अविरल वर्षाका कारण दुःखदायी र कष्टपूर्ण जीवन बिताइरहेका छन् । बाढीपहिरोले गर्दा हजारौँ जनता घरवारविहीन भएका छन् भने सयौँको मृत्यु भइसकेको छ । यतिबेला दुःख, कष्ट र पीडा भोगिरहेका जनतालाई सहयोग र उद्धार गर्नुको सट्टा सामाजिक दलाल फासिवादी सत्ता भ्रष्टाचार, कमिसन, करछली र भागबन्डामा लुछाचुँडी गरिरहेको छ ।’

अगाडि भनिएको छ, ‘यही सन्दर्भमा भूमिकास्थान नगरपालिकामा १५ शैय्याको अस्पतालको विवादलाई लिएर २०७७ साल भदौ १९ गते उपमेयर खडानन्द बेल्बासेले गरेको पत्रकार सम्मेलन र भदौ २२ गते मेयर रेशम थापाले गरेको पत्रकार सम्मेलनमा कार्यालयभित्र होहल्ला गरी एकअर्कोलाई आरोप–प्रत्यारोप लगाउने विषयमा नेपाल कम्युनिस्ट पार्टी भूमिकास्थान नगर समिति खेद एवम् भत्र्सना गर्दछ । उक्त घटना सोही नपा को वडा नं. ४ का वडाध्यक्ष बाबुराम पन्थीले ३,८२,०००।– फर्जी बिल बनाई रकम निकासा गर्ने विषय उठान गरेपछि र सोही नपाका मेयरले निकासा गर्न रोकेपछि नगरपालिकामा विवाद सुरु भएको हो । अहिले आएर १५ शैय्याको अस्पताल र करार कर्मचारी नियुक्ति दिनेसम्मका विवाद उत्पन्न भएको र यसले अझै नगरपालिकाका अरू काला कर्तुतहरु उजागर गर्दै जानेछ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यसले दलाल संसदीय व्यवस्था असफल भएको, अबको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था नै हुने र यसका लागि सम्पूर्ण भूमिकास्थानका नगरबासीहरूलाई सङ्घर्षमा अघि बढ्न आह्वान गर्दछौँ । यस घटनाबाट पाठ सिकेर समग्र नगरपालिकामा हुने अनियमितताको भन्डाफोर र सचेत रहन हाम्रो पार्टी अपिल गर्दछ । यस्तो विषम परिस्थितिमा नगरपालिकाका करिब ३३ हजार जनतालाई भ्रममा पारेर यस्ताखाले हर्कतहरू नगर्न नेपाल कम्युनिस्ट पार्टी चेतावनी दिन चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :