१७ करोड भ्रष्टाचार गर्ने इन्जिनियर अख्तियारको कठघरामा !

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानुनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँबराबरको सम्पत्ति कमाएको अभियोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोजनाका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुग्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदा गैरकानुनी तवरले सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट खुलेकाले हिजो विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार गुप्ताकोे वैध आय एक करोड ११ लाख ६९ हजार ९६२ रुपैयाँ मात्रै रहेको भए पनि उनले १७ करोड ८४ लाख २६ हजार ४५९ रुपैयाँबराबरको खर्च तथा लगानी गरेको पाइएको छ । वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँबराबरको रकमको स्रोत नखुलेको पाइएको छ ।

आयोगले गुग्ताका आफन्तहरू अन्जुकुमारी महतो, उदीतनारायाणप्रसाद रौनियार, चन्द्रेश्वर महतो, धीरजकुमार गुप्ता, प्रीतिकुमारी गुप्ता, डा रचनाप्रसाह शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, सङ्गीता शाह रौनियार र सन्तोषकुमार गुप्ताका नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार ७८३ रुपैयाँबराबर रकम लुकाइछिपाई राखेको पाइएको छ ।

आयोगले उनीहरूको सम्पत्ति जफत गरी हदैसम्मको कारबाहीको माग गरेको छ । यस्तै आयोगले नेपाल खानेपानी संस्थान पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्लेले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घूस लिएको अभियोगमा हिजो पक्राउ गरेको छ । आयोगले वाग्लेलाई पोखरा महानगरपालिका ट्याक्सी चोकबाट पक्राउ गरेको र अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए ।

समाचार स्रोत : राष्ट्रिय समाचार समिति

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :