नेकपा कालीकोटका नेता रतनको रहस्यमय निधन, पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेकपा कालीकोटका सचिवालय सदस्य रतन बोगटी ‘रमणीय’ को यही भदौ २२ गते रहस्यमय निधन भएको छ । नेकपा कालीकोटले रमणीयप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । पार्टीका इन्चार्ज विराट र सेक्रेटरी रणदीपले शोक विज्ञप्ति जारी गरी रमणीयको रहस्यमय निधनको सत्यतथ्य पत्ता लगाई सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

विराट र रणदीपले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी कालीकोट जिल्ला सङ्गठन समिति सचिवालय सदस्य तथा एरिया नं. १ का सेक्रेटरी क. रतन बोगटी ‘रमणीय’ भदौ २२ गते कामको सिलसिलामा माल्कोटबाट कोटबाडा आएको तीन दिनपछि कोटबाडा र रकुको सीमा क्षेत्र अँधेरी खोलामा रहस्यमय घटना भई २४ गते मृत अवस्थामा शव भेटिएको दुःखद् खबरले सिङ्गो पार्टी समिति स्तब्ध भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘जनयुद्धकालदेखिको एक होनहार सिपाही, कर्मठ, इमानदार, अनुशासित, कर्तव्यनिष्ठ क. रमणीयको दुःखद् निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको छ । यस दुःखद् घडीमा मृतक क. रतन बोगटी ‘रमणीय’ प्रति जिल्ला सङ्गठन समिति कालीकोट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकाकुल घरपरिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछ । यस रहस्यमय घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :