‘सहिद वासुका सपना एकीकृत जनक्रान्तिले पूरा गर्छ’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले जनयुद्धमा बलिदान गर्ने सहिद सुरेश वाग्ले ‘वासु’, भीमसेन पोखरेललगायत महान् सहिदहरूका अधुरा सपना एकीकृत जनक्रान्तिले पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सहिद वासुको २२ औँ स्मृति दिवसका सन्दर्भमा प्रेस वक्तव्य प्रकाशित गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले सहिद वासु र भीमसेनप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली प्रकट गरेका छन् । उनले वक्तव्यमा भनेका छन्, ‘आज भदौ २३ गते महान् सहिद कमरेड सुरेश वाग्ले ‘वासु’ र महान् सहिद कमरेड भीमसेन पोखरेलको २२ औँ स्मृति दिवस हो । महान् जनयुद्धका क्रममा २०५६ साल भदौ २३ गते उच्च सहादत प्राप्त गर्नुहुने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पोलिटब्युरो सदस्य क. सुरेश वाग्ले ‘वासु’ र क. भीमसेन पोखरेलप्रति हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।’

प्रकाण्डको वक्तव्यमा अगाडि भनिएको छ, ‘महान् सहिदहरूको सपना पूरा गर्नुको अर्थ दलाल पुँजीवादको अन्त्य गर्नु र वैज्ञानिक समाजवादको स्थापना गर्नु हो । जनयुद्धका महान् सहिदहरूको सपना अलपत्र छोडेर केही कायरहरूले दलाली र गद्दारीको बाटो समाते पनि एकीकृत जनक्रान्ति महान् सहिदहरूका ती अधुरा सपनाहरू साकार पार्ने दिशामा तीव्र गतिमा अघि बढिरहेको छ । महान् जनयुद्धका क्रममा बलिदान गर्ने क. वासु, क. भीमसेनलगायत हजारौँ महान् सहिदहरूका सपना हामी एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :