मानवीयता र संवेदनशीलता मरेको सरकार

जब मानिस गम्भीर गल्ती गर्छ ऊ सबैसँग डराउन थाल्छ । सच्याउनै नसकिने गल्तीहरू दोहोर्याउन थालेपछि ऊ कतिसम्म कायर हुन्छ भने अगाडि जे देखे पनि तर्सिन थाल्छ । कायरहरू मानिसको छाया देखे पनि आफूलाई आक्रमण गर्ने शक्ति सामुन्ने आएको ठान्छन् र भाग्न थाल्छन् वा आवेशमा आएर जथाभाबी आक्रमण गर्न थाल्छन् । धेरै गल्ती गर्ने र गल्ती दोहो¥याइरहनेहरू विपनामा मात्र होइन, सपनामा पनि बर्बराउन थाल्छन् र आफ्नो वरिपरिका सबै चीजवस्तुहरूसँग तर्सिन थाल्छन् । बच्चाहरूलाई डराउन शिशु अवस्थादेखि नै अभिभावकहरूले हाल्ने भूतप्रेतका बेतुकका त्रासद् कथाका कारण मानिस किशोर र युवा मात्र होइन, वृद्धावस्थासम्म पनि कुनै अमूक आकृतिसँग तर्सिरहन्छन् । यो कुरा व्यक्तिमा मात्र होइन, सत्ता र सरकारमा पनि लागू हुन्छ, हुँदो रहेछ ।

साम्राज्यवादले देखाएको कम्युनिस्टविरोधी भूतका कारण आज पनि शासकहरू वैज्ञानिक समाजवादका पक्षधरहरूसँग तर्सिरहेका छन् । उनीहरू कि त लुकिरहेका छन्, भागिरहेका छन् कि त जथाभाबी आक्रमण गरिरहेका छन् । आज कम्युनिस्ट खोल ओढेर नक्कली समाजवादको जामा पहिरिँदै देश र श्रमिक वर्गमाथि ब्रह्मलूट मच्चाइरहेको केपी वली सरकार कम्युनिस्टको भूतले तर्सिरहेको छ किनकि हिटलर र मुसोलिनीहरूले, डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीहरूले उसलाई कम्युनिस्ट देख्नासाथ कि भाग्नू कि आक्रमण गर्नू भनेर सिकाएका छन् । आफ्ना अग्रज र गुरुहरूको उत्तरदानका रूपमा वली सरकार कम्युनिस्ट पार्टी, कम्युनिस्ट नेता–कार्यकर्ता मात्र होइन, माक्र्सवादी लेखक, स्रष्टा र संस्कृतिकर्मीहरूसँग कि लुकिरहेको छ, भागिरहेको छ कि त अन्धाधुन्ध आक्रमण गरिरहेको छ । उसको आक्रमणको शैली कहिले आवेग र क्रूरतापूर्ण हत्या हुन्छ, कहिले अन्धाधुन्ध गिरफ्तारी, यातना, जेलनेल र हिरासत हुन्छ । पछिल्लो समयमा माक्र्सवादी स्रष्टासमेत रहेका रातो खबर साप्ताहिकका निर्देशक एवम् नेकपाका नेता अनिल शर्मा ‘विरही’ देखि नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल सिन्धुलीका अध्यक्ष राजीव सुनुवार ‘अखण्ड’ सम्मको अशक्त र बिरामी अवस्थामै भएका कायरतापूर्ण गिरफ्तारीले वली सरकारको हिटलरपथलाई राम्ररी देखाउँछन् ।

केपी वली सरकार र रामबहादुर थापा प्रशासन यतिबेला निरन्तर हिटलरी फासिवादको उत्कृष्ट र निकृष्ट प्रयोग एकैचोटि गरिरहेको छ । आफ्ना विरोधीहरू हुर्किए भने सत्तामाथि खतरा हुन्छ भनेर विरोधीहरू, बलबालिकादेखि वृद्धवृद्धासम्म, रोगी, अशक्तदेखि अपाङ्गसम्म सबैलाई ग्याँस च्याम्बरमा हालेर मार्ने र प्रतिपक्ष समाप्त पारेर निष्कण्टक राज्यसत्ता सञ्चालन गर्ने हिटलरको फासिवादको उत्कृष्ट नमुना केपी वली सरकार बन्दै गएको छ । बिरामी, अशक्त, अपाङ्ग, अस्पतालमा उपचार गराइरहेका घाइते, स्रष्टा, लेखक, बुद्धिजीवीदेखि यो सत्ता र सरकारदेखि असन्तुष्ट कुनै पनि व्यक्ति दुस्मन हुन् र तिनलाई जरैदेखि उखेलेर समाप्त पार्नुपर्छ भन्ने वली सरकारको दर्शन र कार्यक्रम हो ।

हिटलर त बरु आफ्नो समूहका लागि, आफ्नो देशको रक्षाका लागि इमानदार थियो । विपक्षीहरू र विशेषगरी कम्युनिस्ट र यहुदीहरूलाई शत्रु देख्नु उसको सीमा थियो तर केपी वली सरकार न आफ्नो पार्टी, गुट र समूहभित्रै लोकप्रिय छ, न त आफ्नो देशप्रति इमानदार छ । जनताको जीविका अत्यन्त करुणादायी छ । वली सरकार चियापानी र ‘दारुभोज’ मा मुलुकको २० अर्ब रुपैयाँ स्वाहा पारिरहेछ । नेपालको राष्ट्रियता दाउमा लगाइरहेको छ सत्ताका लागि । भारतीय साम्राज्यवादले मिचेको भूमि फिर्ता गराउन पहल गर्नु छैन, महामारीका रूपमा फैलिरहेको कोरोना प्रकोप नियन्त्रणमा संवेदनशील हुनु छैन, महँगी, भ्रष्टाचार, कालोबजारी, कमिसनमा लिप्त र छ र त्यसको विरोध गर्नेहरू राजनीतिक पार्टी होऊन् वा स्रष्टा, आक्रोशित जनसमुदाय होऊन् वा संस्कृतिकर्मी जहाँ, जुन अवस्थामा भए पनि चिलले चल्ला टिपेझैँ टिप्यो, थुन्यो, झूट्टा मुद्दा लगाएर हिरासत र जेलमा कोच्यो, सडायो, बस् ! इतिहासमा योभन्दा दुर्दिन मुलुकका लागि कहिले आउँछ ? जनताका लागि यस्तो स्वेच्छाचारी र उन्मादी सत्ता कसको आउँछ ?

अघिल्लो साताको अन्त्यमा वली सरकारले रातो खबर साप्ताहिकका निर्देशक एवम् लेखक अनिल शर्मा ‘विरही’ लाई उपचार गराइरहेको अवस्थामा अस्पतालबाटै गिरफ्तार गर्यो । यद्यपि गत वैशाख २३ गते स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका विरहीलाई वली सरकारले अस्पतालको शैयाबाटै गिरफ्तार गरेर दुनियाँसामु कलङ्कित अनुहार प्रस्तुत गरिसकेको थियो । अदालतले बारम्बार बिरामी अवस्थामा गिरफ्तार नगर्न र रिहा गर्न आदेश दिएपछि पनि वली सरकारले विरही उपचाररत अस्पतालमा प्रहरी तैनाथ गरिरह्यो । न्यायकर्मी, संस्कृतिकर्मी, स्रष्टाहरू, अधिकारकर्मीहरू यस्तो अमानवीय कार्य नगर्न सरकारलाई सुझाव दिइरहे, आग्रह गरिरहे, चिन्ता र चासो व्यक्त गरिरहे तर पत्थरको हृदय भएको वली सरकारले सबै आग्रह र निर्णयहरूलाई बेवास्ता र तिरस्कार गर्दै एउटा घाइते र दीर्घरोगी स्रष्टालाई घेराउ गरिरह्यो । अन्ततः गत शनिबार अस्पतालले डिस्चार्ज गर्नासाथ सशस्त्र प्रहरी भ्यानहरूले घेरा हालेर उनलाई कायरतापूर्वक गिरफ्तार गर्यो र अन्यत्र राज्यविरुद्ध मुद्दा दर्ता भएका छन् भन्दै पूर्वतिर लग्यो । यो निन्दनीय घटना हो । विरही राजनीतिकर्मी त हुन् नै, उनी संस्कृतिकर्मी र माक्र्सवादी स्रष्टा पनि हुन् । अस्पतालको शैया नम्बर उल्लेख गरेरै उनी सिर्जना गरिरहेका थिए । एउटा दीर्घरोगी र कलम चलाएर अस्पतालको शैयामा उपचार गराइरहेको मानिसबाट पनि कति त्रसित छ वली सरकार ? मानिसहरू प्रश्न गर्न थालेका छन्– यो वली सरकारको मात्र समाप्तिको सङ्केत मात्र हो वा दलाल पुँजीवादी व्यवस्थाकै ? –सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :