चेतकान्तको कवितात्मक शक्ति – खेम थपलिया

कम्युनिस्ट आदर्शले जीवनशील मूल्यको बोध गराउँदै आएको छ

khem thapaliya१. आमुख
समकालीन आजको विश्वमा उत्तर– माक्र्सवाद र उत्तर–आधुनिकतावादको गठजोडद्वारा प्रोत्साहित हाइब्रिड एवम् कम्पोमाइज्ड साहित्यको लेखन, प्रकाशन, परिचर्चा एवम् बजारीकरणलाई विश्वव्यापीकरण गरिएको छ । यसो गरिनु उनीहरूको भित्री मक्सद समाजवादी शिविरमाथि धावा बोल्दै साहित्यको माध्यमबाट प्रतिक्रियावादी सत्तालाई चिरस्थायी बनाउन खोज्नु हो । पछिल्ला दिनहरूमा उपर्युक्त नकारात्मक विरासतलाई उल्ट्याउँदै पुँजीवादी साहित्यिक शिविरका विरुद्ध सशक्त प्रतिरोध हुनेगरी विश्वमा माक्र्सवादी साहित्यिक आन्दोलनलाई अपेक्षाकृत ऊध्र्व दिशा प्रदान गर्न आवश्यक पहलकदमी पुगेको महसुस गर्ने अवस्था बनिरहेको छैन । त्यति मात्र होइन, समाजवादी शिविरमा जे जति साहित्यिक कामहरू भएका छन्, त्यसका आधारमा समालोचनात्मक प्रचारको विकास र सिर्जनाको सही परख गर्ने काम पनि अपेक्षाकृत सुस्त नै छ । कलम, मादल र कुचीवाहक परिवर्तनधर्मीहरूलाई यस्तो सुस्तताले चिन्तित तुल्याउनु अस्वाभाविक होइन । क्रान्तिकारी अभियानका लागि, यसका माध्यमबाट जनतालाई पार्ने सकारात्मक प्रभाव र निरन्तर क्रान्तिको मार्गमा अघि बढ्नका निमित्त साहित्यको महत्वपूर्ण भूमिका रहँदै आएको तथ्य जगजाहेरै छ । कला साहित्य पनि वर्गीय हुन्छ । समाजवादी यथार्थवादी लेखनमा वर्ग पक्षधरता र माक्र्सवादी दृष्टिकोण आवश्यक मानिन्छ । चेतना÷समाजको एकत्वबाट नै समाजवादी यथार्थवादी साहित्यको सिर्जना हुन्छ । यसलाई सोही दर्शन र पक्षधरताका आधारमा परख गर्ने काम नै समालोचना हो । यसले साहित्यको माध्यमबाट जनताको आफ्नो विषयले विस्तृत स्वरूप ग्रहण गर्दछ । जनयुद्धले नयाँ जीवनमूल्य, नयाँ सौन्दर्यमूल्य निर्माण गरेको छ । यसले नयाँ यथार्थलाई मूर्तीकृत गरेको छ अनि यसले आतङ्क र आनन्दको सौन्दर्यबोध गराएको छ ।

मूलतः कम्युनिस्ट आदर्शले जीवनशील मूल्यको बोध गराउँदै आएको छ । मरणशील यथार्थको विरुद्धमा सदैव उभिँदै आएको कम्युनिस्ट आदर्श साहित्यको मोर्चामा वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्ष निकै पेचिलो रहँदै आएको छ । सङ्घर्षको रापिलो भट्टीमा आतङ्क र आनन्दको सौन्दर्यको अभिरेखाङ्कन पनि सोही अनुरूप मूर्तीकृत पनि हुँदै आएको छ । अतीतलाई वर्तमानको सेवामा लगाउने र अन्तर्राष्ट्रिय अनुभवहरूलाई स्वदेशी हितमा प्रयोग गर्ने कुरा समालोचनाको क्षेत्रमा पनि उत्तिकै लागू हुने कुरा हो । ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै साहित्यिक क्षेत्रमा निरन्तर क्रान्तिको भावधारालाई अवलम्बन गर्न आवश्यक हुन्छ । यही आधारमा लेखिएका साहित्यको माक्र्सवादी विश्लेषणले निख्खारता ल्याउन थप मद्दत गर्दछ । मानवीय स्वभावजन्य कमजोरीबाट फाइदा उठाउँदै पुँजीवादी सिद्धान्तको प्रवचनद्वारा सर्वहारावर्गलाई ठूलो भ्रममा पार्ने कोसिस हुँदै आएको छ । सर्वहारावर्ग यस्ता कुराबाट भ्रमित रहन आवश्यक छैन । यसतर्फ माक्र्सवादी समालोचकहरू असाध्यै गम्भीर हुन आवश्यक छ । प्रतिरोध गर्ने हिम्मतका अभावमा कैयौँ साहित्यकार, समालोचक स्वतन्त्रताको सपना देखेर पनि उदासीनता, आलस्य, निराशा र कुण्ठाको बाटो समाएका अनेकौँ उदाहरण देख्न सकिन्छ । निर्जन विपत्तिका बीचमा पनि समाजवादी यथार्थवादी स्रष्टाहरू निरन्तर अगाडि बढ्न आवश्यक छ । यसरी मात्र जनपक्षीय स्रष्टाहरूको ऊध्र्वगामी र अग्रगामी पहलकदमीको सार्थकता रहनेछ । बौद्धिक, प्राज्ञिक तथा दार्शनिक क्षेत्रको यही ऊध्र्वगामी र अग्रगामी पदचापले समाजवादी साहित्यिक शिविरको उन्नतस्तरको बोध गराउँछ । समालोचना विशिष्ट प्रकारको बौद्धिक तथा प्राज्ञिक क्षेत्र भएकोले यो क्षेत्रको न्यायिक निरूपण गर्ने साहसी समालोचक सशक्त रूपमा प्रस्तुत हुनु आजको आवश्यकता हो । ती महान् स्रष्टाका महान् सिर्जनाहरूको उचित गोडमेल गर्न आवश्यक छ । सिर्जना र सर्जकको पहिचान गर्नु तथा तिनको उचित स्याहार–सम्भार गर्नु माक्र्सवादी समालोचकहरूको महत्वपूर्ण कार्यभार हो । जनताका महान् सङ्घर्षबाट प्राप्त भएका साहित्यिक उपलब्धिहरू रक्षार्थ तथा क्रान्तिलाई पूर्णता दिने दिशामा साहित्यलाई सहयोगी भावधारमा प्रवाहित गराउन उत्प्रेरणा गराउन सक्ने माक्र्सवादी समालोचकहरूको विशाल पङ्क्ति निर्माण गर्न आवश्यक छ । रसियन क्रान्तिले गोर्की जन्माएजस्तै, चिनियाँ क्रान्तिले लुसुन जन्माएजस्तै नेपालको महान् जनयुद्धले इच्छुकहरू जन्माइसकेको छ । यही आलोकमा प्रगतिवादी स्रष्टा चेतकान्त चापागाईं र उनका कवितात्मक सिर्जनधर्मिताको खोजी गर्नु उपयुक्त हुन्छ ।

२. कवि परिचय

२००५ वैशाख २६ गते कास्की जिल्लाको तार्काङमा जन्मिएका कवि चेतकान्त चापागाईं नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनको सशक्त हस्ताक्षरको नाम हो । उनका ‘दासढुङ्गाको व्यथा गाथा (२०५१)’, ‘यात्रा मुक्ति शिखरको (२०५५)’, ‘राता फूलहरू (२०६३)’, र ‘कमल गङ्गाको व्यथा गाथा (संयुक्त कविता सङ्ग्रह)’ प्रकाशित छन् । नेपाली प्रगतिवादी आन्दोलनका सशक्त साहित्यिक योद्धा चेतकान्त चापागाईं नेपाल र नेपाली जनताको वास्तविक परिवर्तन तथा रूपान्तरणकारी अभियानमा आजीवन क्रियाशील रहे । उनी विभिन्न सङ्घ संस्थाहरूसित पनि आवद्ध थिए । उनी नेकपा– माओवादी, चितवन जिल्ला सङ्गठन समिति तथा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, चितवनको सल्लाहकार पनि थिए । उनले थुप्रै पुरस्कार तथा सम्मानहरू पनि प्राप्त गरेका थिए । उनले प्राप्त गरेका पुरस्कार तथा सम्मानहरूमा ‘एक्टिभ युथ क्लबद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम– २०६३’, ‘लक्ष्मीप्रसाद देवकोटाको ९० औँ जयन्तीमा आयोजित कविता प्रतियोगितामा प्रथम’, ‘लेखनाथ पौड्यालको ११३ औँ जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगितामा प्रथम’, ‘मातृभूमि साहित्य समाज, हेटौंडाद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम’ आदि उल्लेख्य रहेका छन् । कवितासम्बन्धी चेतकान्त चापागाईंको धारणा यस्तो रहेको थियो– “म कविता उत्पीडितसँगै बसेर लेख्छु, उनका वेदनासँग एकाकार हुन्छु । यसो भएपछि कवितामा उत्पीडितको वेदना भरिन्छ । प्रायः म छन्दमा कविता लेख्न मन पराउँछु । जसले कवितालाई सुन्दर बनाउँछ भन्ने म ठान्दछु । (चितवनका कवि र कविता (२०७०), चरैवेति साहित्यिक त्रैमासिक पत्रिका, पृ. १०५) ।”

कष्टसाध्य रोग (क्यान्सर) का कारण लामो समयको उपचारपश्चात् २०७१ साल भदौ १७ गते उनको दुःखद् निधन भयो । उनले आफूलाई एउटा सहज प्रकृतिका लोकप्रिय छन्दकवि, गजलकार र जेलनेल खपेका समाज रूपान्तरणकर्मी स्रष्टाका रूपमा परिचित गराएका थिए । करिब आधा दर्जन कृति प्रकाशित गरिसकेका चापागाईंका अन्य केही कृतिहरू पनि प्रकाशोन्मुख छन् । सामाजिक रूपान्तरण तथा नेपाली प्रगतिवादी साहित्यको फाँटमा उनले पु¥याएको योगदान अमूल्य र उल्लेख्य मानिन्छ । अहिले पनि उनको लोकप्रियता र मिलनसारिताको चितवन जिल्ला र त्यस आसपासमा सम्मानका साथ चर्चा हुने गरेको छ । उनले मृत्यु हुनु एक दिनअघि ‘साहित्य र घर’ सम्बन्धमा लेखेको अन्तिम पत्र निकै मार्मिक र हृदयस्पर्शी रहेको छ ।

३. कविताको भावात्मक निरूपण

नेपाली जनताको मुक्तिको अभियान र त्यस अभियानलाई सफलीभूत पार्न विभिन्न तवरबाट योगदान पु¥याएका चापागाईंको मूल सिर्जनात्मक क्षेत्र कविता हो । उनका कविता प्रतिक्रियावादी सत्ता, तिनका पृष्ठपोषक र रक्षकहरूका निम्ति बम बने, बारुद बन्ने अथवा भनौँ चेतकान्तका कविता प्रतिक्रियावादी सत्ताविरुद्धका लडाइँमा शक्तिशाली आयुध बने । जब प्रतिक्रियावादी सत्ता आतङ्कित बन्यो, ढलपलायो, उसको शोसकीय जग नराम्ररी हल्लियो तब उनलाई प्रतिक्रियावादी सत्ताले पटक पटक पक्राउ गर्ने, थुन्ने र चरम यातना दिने काम ग¥यो । विचारका अगाडि प्रतिक्रियावादी सत्ताका रक्षकहरू हारे, चेतकान्तले जिते । जितिरहेका छन् र निरन्तर जितिरहनेछन् । प्रतिक्रियावादी सत्तका अनेकन् षड्यन्त्र, जालझेल र हत्याका विरुद्ध चापागाईंले आफ्ना कवितात्मक आयुध उजिल्याएका छन् । ती जनहत्याराहरूलाई उनले ऐलान गरेका छन् र एकदिन ती अपराधीहरू जनताका कठघरामा उभिनुपर्ने कुरामा कवि अटल विश्वास प्रकट गरेका छन् । जनताका छोरीचेलीहरूका रगत चुस्नेहरूका विरुद्ध रगतको बदला लिने कुरामा उनी निकै आशावादी रहेका छन् । त्यही आशावादिता, त्यही विश्वास र त्यही जनक्रान्तिको पूर्णताको कामना तथा त्यसको अवश्यम्भावी सफलताको भावना उनका कविता ‘बदला रगतको’ कविता हो । यहाँ ‘राता पूलहरू, (२०६३)’ कविता सङ्ग्रहमा सङ्गृहीत ‘ बदला रगतको’ कविताको भावगत रूपमा सङ्क्षिप्त समीक्षा गर्ने प्रयास गरिएको छ ः

(क) नारी उत्पीडन र चेतनाको चित्रण

नेपाली समाज निकै लामो समयदेखि अन्यायपूर्ण राज्यसत्ताका कारण उत्पीडनमा पर्दै आयो । विश्वमा आएको सामाजिक, राजनीतिक तथा सांस्कृतिक चेतनाका कारण नेपाली समाजले पनि मुक्तिको आकाशमा कावा खाने सपना देख्न थाल्यो । यहीक्रममा नेपालमा अनेकन् प्रकारका द्वन्द्व, सङ्घर्ष, आन्दोलनहरू हुन थाले । यसको उत्कर्ष नै माओवादी जनयुद्ध थियो । २०५२ सालबाट प्रारम्भ भएको माओवादी जनयुद्ध २०५७ सालको आसपासमा पुग्दा जुर्मुराउँदै, झाङ्गिँदै अघि बढिरहेको थियो । प्रतिक्रियावादी सत्ता र तिनका रक्षक तथा पृष्ठपोषकहरू अनेकन् प्रकारले जनताको साथ र समर्थनमा अघि बढिरहेको त्यो महाभियानका विरुद्ध लागिपरिरहेका थिए । प्रतिक्रियावादी सत्ता र तिनका रक्षकहरू नेपाली जनताका छोरी–चेलीहरूहरूको इज्जत लुट्न र रगत पिउन कुनै बेर लगाउँदैनन् । त्यसो गर्नु उनीहरूले आफ्नो परुषार्थ सम्झन्छन् र अहिले पनि सो कार्य यथावत् छ । यस्तो अन्यायको सङ्ख्या एक होइन, सय होइन, हजारौँ रहेका छन् । जनयुद्धको चेतनाले फुल्दै र फर्कंदै गरेका ती मुनाहरूलाई रातको समयमा नराधमहरूले निमोठ्नेसम्म निमोठे । यस्तो निकृष्ट कार्यलाई सत्तासीनहरूले आफ्नो बहादुरी सम्झे । प्रतिक्रियावादी सत्ताको यही हर्कतका कारण थुप्रै नेपालीहरूको जीवन बर्बाद भयो । हजारौँ नेपाली चेलीहरूको अस्मिता लुटियो । जनयुद्ध र त्यसले विकास गरेको राजनीतिक, सामाजिक, वैचारिक तथा सांस्कृतिक नारी सशक्तिकीकरण सत्तासीनहरूका लागि असह्य बन्यो । त्यसैले त कवि चेतकान्तका प्रस्तुत कवितामा नारी उत्पीडनको विषय अत्यन्त महत्वका साथ उठाइएको छ । नेपाली समाजमा पैmलिँदै गएको चेतनाले सबैखाले उत्पीडनका साथै, नारी उत्पीडनका विरुद्ध सङ्घर्ष गर्ने चेतनाको अभिवृद्धि भएको छ । यही उत्पीडन र चेतनालाई मुखरित गर्ने भावलाई चापागाईंले कवितात्मक स्वरूपमा सुन्दर बान्की दिएका छन् । एक साक्ष्य ः
‘परिन् हत्याराका दलबलसँगै बन्दुक–मुख
बँचाई आफ्ना ती सहचर बलिन् न्यायस्वरूप
चथोरेको छाती लतपत थिइन् रे रगतमा
बली तारा बस्छिन् ‘हरि’ अमर बन्दै सगरमा ।।’
– (पृ. २२)

(ख) वर्गसङ्घर्षको सचित्र वर्णन

सङ्घर्ष वाध्यात्मक परिस्थितिको उपज हो । समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष रहिरहनेछ । यो कहिले शुषुप्त हुन्छ भने कहिले उत्कर्षमा पुगेको हुन्छ । यस परिस्थितिमा एउटा वर्गले अर्को वर्गमाथि आफ्नो श्रेष्ठता कायम गने प्रयास गरिरहेको हुन्छ । संसारमा जति पनि परिवर्तनहरू भएका छन्, ती सबै वर्गसङ्घर्षकै उपज हन् । यी सङ्घर्षहरूमा कहिले जनताको विजय भएको छ भने कहिले शासककै जित भएको छ । मूलतः जनताले जितिरहेका छन् । यो जित–हारको लुकामारी, यो वर्गसङ्घर्षको लुकामारी वर्गको अस्तित्व रहुञ्जेल रहिरहन्छन् । आज संसारभरका न्यायप्रेमी देशभक्त, क्रान्तिकारी, स्वाधीनताप्रेमीहरू सङ्घर्षरत छन् । नेपालमा पनि जनताले न्यायपूर्ण आन्दोलन गरिरहेका छन् । यहाँका प्रतिक्रियावादी सत्ता आफ्नो सत्ता टिकाउने जालसाक्षी बुनिरहेको छ । जनताले तिनलाई हायल कायल पारिरहेका छन् । नेपाली वर्गसङ्घर्षका कथा व्यथा अथाह र अव्यक्त रहेका छन् । तिनको सौर्य, साहस र बलिदान अवर्णनीय रहेका छन् । जनताको पछिल्लो महान् साहस, सौर्यको महान् गाथा महान् जनुद्धको कोरिएको थियो । त्यसैले त चेतकान्तका प्रस्तुत कवितामा पनि यी सन्दर्भ आएका छन् । चेतकन्त रचित कविता ‘बदला रगतको’ मा सत्ताका खूनी नङ्ग्रा गाडिएको यथार्थलाई मार्मिक ढङ्गले सुन्दर बान्की दिएका छन् । यो कविता वर्गसङ्घर्षको सुन्दर चित्रण गरिएको सफल कविता हो । अबोध र अबला एक चेलीलाई सत्ताधारीहरूको एक जत्थाले हत्या गरी फालिएका शवलाई उठाउँदै जनसमुदायले त्यसको बदला लिने कसम खाएको सन्दर्भले यो कविता वर्गसङ्घर्षको ज्यूँदो अभिव्यक्ति बन्न पुगेको छ । यो कविता वर्गसङ्घर्ष र वर्गीय भावनाको सुन्दर अभिव्यञ्जना बन्न पुगेको छ । एक साक्ष्य ः
‘निकाले हातैले अमर मनले खावाबीच पसी
पु¥याए माहेन्द्री तट निकट विश्राम नबसी
हजारौँ आस्थाका शिखहरूको एक जपना
उठी बोल्छन् ‘खाऔँ कसम हरिको फेर्न सपना ।।’
– (पृ. २३)

(ग) बलिदानी भावनाको प्रस्तुति

कुनै पनि परिवर्तनकारी अभियानले बलिदानको कोटाको माग गर्दछ । संसारमा जति पनि परिवर्तनहरू भएका छन्, ती सबैमा कुनै न कुनै कोणबाट बलिदान हुँदै आएको छ । महान् बलिदानसँग महान् सम्भावना पूरक रहँदै आएको हुन्छ भन्ने कुरा सही हो । जनताको मुक्ति अभियानमा लामबद्ध हजारौँ– लाखौँ योद्धाहरू पहिलो सहिद हुने कामनाका साथ जनमुक्ति अभियानमा होमिए । बलिदानी भावनाबारे गद्दर भन्छन्– “जब मान्छे एउटा असल कामका लागि समर्पित हुन्छ, त्यतिबेला ऊ मर्नदेखि डराउँदैन । यदि मलाई गिरफ्तार गरियो भने पनि म गाउँछु । यदि उनीहरूले मेरो जिब्रो काटिदिए भने पनि म आफ्नो हत्केलाले टेबुलमाथि बजाएर गाउँछु । यदि उनीहरूले मेरो हत्केलालाई पनि काटिदिए भने मैले आफ्नो खुट्टाबाट आबाज निकाल्नेछु । यदि उनीहरूले मेरो खुट्टा पनि काटिदिए भने मैले आफ्नो शरीरलाई युद्धमा लडिबुडी गराउनेछु । यदि उनीहरूले मलाई फासीमै चढाए भने मैले ‘रक्तसङ्गीतम्’ द्वारा आफ्नो सन्देश जनतासमक्ष पु¥याउनेछु ।” गद्दरको उपर्युक्त गम्भीर बलिदानी भावनाजस्तै युगौँयुगदेखिको पिछडिएको सामन्ती संस्कृतिबाट ती महिलाहरू उत्पीडित भइरहेका थिए, छलाङमय रूपान्तरणका लागि उकुस मकुस थिए । जनयुद्घले तिनीहरूको कैद मस्तिष्क र भौतिक शरीरलाई खुला गरिदिएको थियो । प्रतिक्रियावादी सत्ताद्वारा बोल्न, हाँस्नबाट समेत प्रतिबन्धित महिलाहरू उसकै रक्षक शक्तिलाई कासन गर्ने भए । उनीहरू छापामार भए र पूर्व, पश्चिम, हिमाल, तराईसम्म फैलिए । उनीहरूले ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने माओको प्रसिद्ध प्रस्तावनालाई आत्मसात् गरे । सो प्रस्तावनालाई जीवन व्यवहारमा अनुवाद गर्न निरन्तर उत्प्रेरित भएर लागिरहे । सत्ताको उत्पत्ति, प्रयोग र रक्षासम्बन्धी व्यावहारिक ज्ञानार्जन गरे । उनीहरूले अल्पसङ्ख्यक शोषकवर्गले बन्दुककै आडमा बहुसङ्ख्यक शोषित जनतामा राज गर्दै आएको कुरा बुझे । संसदीय आन्दोलनको निरीहता पनि बुझे । उनीहरूले राज्यसत्ताको निर्णायक शक्ति शाही सेनासित लडे । त्यहाँ वैचारिक पथप्रदर्शन थियो । त्यो नकारात्मकभित्र सकारात्मक, सकारात्मकभित्र नकारात्मक हेर्न पद्धति बन्यो । त्यहाँ प्रधान दुश्मन र गौण दुश्मन परिचित बने । यी सबै बलिदानी भावनाका उपज थिए । यस्तो महाभियानमा कैयौँले सहादत प्राप्त पनि गरे तर केहीलाई मात्र पहिलो सहिद बन्ने अवसर प्राप्त भयो । यो कविताले सशक्त रूपमा बलिदानको भावनालाई कवितात्मक अभिव्यञ्जना प्रस्तुत गरेको छ । जनक्रान्तिलाई पूर्णता दिनका लागि आवश्यकताका आधारमा बलिदान दिन तयार रहेका छन् र तयार रहनुपर्छ भन्ने भाव यस कवितामा सुन्दर ढङ्गले मुखरित भएको छ । मानिसको सबैभन्दा प्रिय चीज भनेको उसको जीवन हो । यस्तो प्रिय चीजको बलिदान गर्न पनि मानिस किन तयार हुन्छन् ? यो प्रश्न सामान्य छैन । यस्तो असामान्य प्रश्नको उत्तर पनि असामान्य नै हुन्छ । उन्नतस्तरको वैज्ञानिक र सर्वहारावर्गीय चेतना, उच्च प्रतिबद्धता र मुक्तिकामी सपनालाई साकार तुल्याउन निरन्तर क्रान्तिको भावधारामा हेलिएर मात्र यो कुरा सम्भव हुन्छ । सैद्धान्तिक–वैचारिक आस्थालाई अविचल राख्दै मुक्तिको सपनालाई साकार तुल्याउन आम जनसमुदाय थप बलिदान गर्न तयार रहेका छन् भन्ने साक्ष्य पनि यो कविताले प्रस्तुत गरेको छ । अर्को एक कवितांश ः
‘इरादा हो उनको सहिद पहिलो घोषित हुने
पु¥यायौ त्यो इच्छा अब कसरी हामी बटुलिने
खटाई बस्छौँ यो पिर सकल आस्था छ अमर
अझै बाँचेकाले रगत दिन बाँकी छ समर ।।’
– (पृ. ऐ.)

(घ) प्रतिक्रियावादी सत्ताको सङ्कटको चित्रण

धर्तीको कुनै पनि भूगोलमा, कुनै पनि देशमा शासकहरू जब जनताको नजरमा गिर्न पुग्दछन्, त्यस्तो बेला सत्ताधारीवर्ग सङ्कटग्रस्त बन्ने गरेको इतिहास छ । जब सत्ताधारीहरूको अन्याय, अत्याचारले सीमा नाघ्न पुग्दछ, तब जनता पनि थप सुदृढ र सशक्त बन्दै जुर्मुराउँदै जान थाल्दछन् । त्यसपछि प्रतिक्रियावादी सत्ताका विरुद्ध धावा बोल्न सुरु गर्दछन् । वास्तवमा संसारमा जति पनि सत्ताहरू ढलेका छन्, चिहानमा पुरिएका छन्, ती सबैले आफ्नो चिहान आफैँले खनेका हुन्छन् । जनतामैत्री नभएका शासक र शासन व्यवस्था यसरी नै ढलेका छन् । अन्तिम अवस्थामा नेपालीहरू ‘आइलाग्नेमाथि जाइलाग्न पनि पछि पर्दैनन्’ भन्ने उक्ति स्थापित छ । यही कारणले बेला–बेलामा प्रतिक्रियावादी सत्ता चरम सङ्कटबाट गुज्रिनुपरेको छ । नारी अस्मिताको रक्षाका साथै स्वतन्त्रता, स्वाभिमान, मुक्तिको खातिर पुरातन राज्यसंरचना अर्थात् मनोसंरचनाको ध्वंस गरी नुतन राज्यसंरचना अर्थात् मनोसंरचनाको स्थापनार्थ क्रान्तिबाहेक अरू कुनै विकल्प छैन भन्ने कुरालाई प्रस्तुत कविताले सशक्त रूपमा प्रस्तुत गरेको छ । अहिले पनि नेपाली क्रान्तिको कार्यभार पूरा गर्ने अभियानमा जनताका असली प्रतिनिधि पात्रहरू लामबद्ध भइरहेका छन् । नेपालको इतिहासको खास खास कालखण्डमा विशिष्ट किसिमका वर्गसङ्घर्षका चित्र पनि मुखरित हुँदै आएको छ । यही भावलाई प्रगतिवादी कवि चेतकान्तले आफ्नो कविताका माध्यमबाट सशक्त रूपमा पेश गरेका छन् । जनताका खून–पसिनामा मोजमस्ती गर्दै तथा रमाउँदै आएका प्रतिक्रियावादी सत्ता र तिनका मतियारहरूको एक दिन अन्त्य अवश्यम्भावी छ भन्ने कुरा यो कविताका माध्यमबाट अभिव्यक्त भएको छ । हरेक कुराले एउटा उत्कर्ष प्राप्त गरेपछि अर्थात् एउटा सीमाभङ्ग भएपछि त्यसको अवसान निश्चित छ । प्रतिगामी सत्ताको अवसानको निश्चितताको भावाभिव्यक्ति गरेको प्रस्तुत कविता ‘बदला रगतको’ को एक अंश ः
‘विलासी व्याधा हौ अपगुन चरीको कुन थियो ?
कि छोरीले आमासँग मन फुन हुन्न भन यो ?
चिहानै खन्दै छौ अझ नजिक आफैँ किन तिमी ?
फुटेका आँखाले जहर कति रोप्छौ घुमी घुमी ?’
– (पृ. ऐ.)

(ङ) प्रतिरोधी भावनाको अभिव्यक्ति

आज संसारका थुप्रै देशहरूमा प्रतिरोधी सङ्घर्ष जारी छन् । त्यसैले आजको विश्वको मूल चरित्र प्रतिरोध अर्थात् क्रान्ति बन्न गएको छ । केही देशहरूमा नयाँ जनवादी क्रान्ति भइरहेका छन् भने कैयौँ देशहरूमा स्वाधीनताका आन्दोलनहरू भइरहेका छन् । त्यहाँ शासक–शासक र जनता– शासकका बीचमा छिनाझम्टी भइरहेका छन् । संसारमा नयाँ नयाँ अन्तरविरोधहरू पनि देखापरिरहेका छन् । आज संसारभर प्रतिरोधको आवाज मुखरित हुँदै आएको छ । यसले साम्राज्यवादी शक्ति र उत्पीडित जनसमुदायबीचको अन्तरविरोध सतहमै छर्लङ्गै देखापरेको छ । यसबाट नेपाल पनि अछुतो रहने कुरै भएन । नेपालको १० वर्षका जनयुद्ध त्यही प्रतिरोधी भावनाको उत्कर्ष थियो । योक्रममा प्रतिरोधका महान् गाथाहरू कोरिएका छन् । यसले मुक्तिको आकाङ्क्षीहरूलाई निरन्तर उत्प्रेरणा दिइरहेको छ । यद्यपि विश्वका अन्य देश र ती देशका नागरिकभन्दा नेपालीको आफ्नै विशेषता, आफ्नै पहिचान रहँदै आएको छ । नेपालीहरू आफ्ना छोरी–चेलीको इज्जतको ख्याल राख्छन् । तिनलाई सम्मानपूर्ण व्यवहार गर्दछन् । यस्तो शिष्ट परम्परामा सत्ताधारीहरू वाधक बन्दै आएका छन् । नेपालका कैयौँ सांस्कृतिक परम्पराहरू जनमुखी र जनपक्षीय रहँदै आएका छन् भने कैयौँ परम्पराहरू धार्मिक तथा सांस्कृतिक जडताद्वारा ग्रस्त पनि रहेका छन् । नेपालको यस्तो सांस्कृतिक परम्परामा अहिले बाह्य संस्कृतिले जति प्रहार गरिरहेको छ, त्योभन्दा पनि बढी प्रतिक्रियावादी पुरानो सत्ताले नारी, नारी अस्मितालाई अबला ठान्ने, मनोरञ्जनको साधन ठान्ने, दोस्रो दर्जाको नागरिक ठान्नेजस्ता कूकृत्य गर्दै आएको छ । नारीलाई बच्चा उत्पादन गर्ने कारखाना एवम् मनोरञ्जनको साधनको रूपमा पुरातन सत्ता–संस्कृतिले व्यवहार गर्दै आएकै कारण अबोध छोरी–चेलीहरूको इज्जत लुटिने, अनाहकमा मर्नुपर्ने स्थिति बन्दै आएको छ । यी र यस्तै यस्तै लैङ्गिक विभेदका विरुद्ध जनताले निकै लामो समयदेखि वर्गसङ्घर्ष चलाउँदै आएका छन् । प्रस्तुत कवितामा पनि यही प्रतिरोधी भाव गहन ढङ्गबाट अभिव्यक्तिएको छ । जनताको रगत खेर नजाने, एक न एक दिन ती रगतको बदला लिइने कुरा यहाँ प्रकट भएको छ । प्रतिरोध गर्नु, विद्रोह गर्नु जनताको अधिकार हो भन्ने माओको उक्ति सबैले कण्ठस्तै छ । यही भावधारामा कवि चेतकान्तले आफ्नो कविताका माध्यमबाट आफ्नो प्रतिरोधी भावना मुखरित गरेका छन् । निहत्था जनताका हत्यालाई कसैले पनि माफी दिन सक्ने कुरा होइनन् । सगरमाथाको देश, वीर योद्धाहरूको देश नेपालमा यस्तो हुनु अशोभनीय कुरा हो । यस्तो हर्कतलाई कुनै पनि हालत माफी दिन सकिँदैन । यस्तो क्रियाकलापको जनताले बदला लिएरै छोड्छन्, यसका विरुद्ध प्रतिरोध गर्दछन् भन्ने भाव प्रस्तुत कवितामा प्रस्तुत भएको छ । यो कवितामा प्रतिरोधको प्रतिबद्धता छ । कविताको एक अंश ः
‘ग¥यौ चेली हत्या तर अब कहाँ भुल्छ दुनियाँ
हिमाली काखै छन् गहन धन सन्तान बलिया
लुछेको देखौँला कुकुरहरू हो मासु हरिका
कहाँ त्यसै छोड्छन् नलिई “बदला त्यो रगतको” ।।’
– (पृ. ऐ.)

(च) नवीन संसारको कामना

प्रगतिवादी कवि चेतकान्तले आफ्नो कविता ‘ बदला रगतको’ शीर्षकमा नवीन संसार स्थापनाको कामना व्यक्त गरेका छन् । मानिस परिवर्तन चाहन्छ । यो उसको मानवीय चरित्र हो । वर्ग आफ्नो मुक्ति चाहन्छ । यो पनि उसको वर्गीय चरित्र हो । यसका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । मूलतः शोषित र उत्पीडित वर्गले आफ्नो वर्गको शासन व्यवस्था ल्याउन लागिपरिहेकै हुन्छ । चाहना र कामनाले मात्र संसार बदलिँदैन । यो कुरा सबैलाई थाहा छ । यसका निमित्त क्रान्तिकारी कार्यदिशा, सही नीतिका साथ सही नेतृत्व चाहिन्छ । जनताका सपना पूरा गर्न सक्ने नेतृत्वको विकास इतिहासका खास खास अवस्थामा मात्र सम्भव हुन्छ । प्रतिक्रियावादी सत्ताले दमन, उत्पीडनको मात्रा जति जति बढाउँदै जान्छ, जनता उति उति एकताबद्ध र प्रतिबद्ध हुँदै जान्छन् । जनताको एकता र प्रतिबद्धताले वर्गसङ्घर्षका अनेकन् रूपहरूलाई विकास गर्दै गएको छ, विकास गरेका छन् र यो विकासको गति बढ्दै पनि जानेछन् । जनताका प्रतिरोध सङ्घर्षद्वारा एक दिन प्रतिक्रियावादी सत्ता माटोमुनि पुरिन पुग्छ भने जनताको नयाँ संसारको स्थापना हुन्छ । न्यायिक र समानतामुखी समाजका खातिर अहोरात्र खटिरहने क्रान्तिकारी परिवर्तनकारीहरूका यस्तो चाहना भनेको कविको चाहना पनि हो । यसमा बलिदानको मूल्य मिसिएको हुन्छ । यसका त्यागको मूल्य मिसिएको हुन्छ । यसमा प्रतिबद्धता र वर्गीयताको मूल्य मिसिएको हुन्छ । त्यसैले जनताको नयाँ शासन व्यवस्थाको स्थापना गरी जनताको मुक्तिको सपना साकार तुल्याउन आवश्यक छ । यसका निम्ति जस्तोसुकै मूल्य चुकाउनुपरे पनि जनता तयार छन् भन्ने भावना कविको देखिन्छ । जनताका निम्ति प्रतिक्रियावादी फासिस्ट व्यवस्था जहर हो । इतिहासमा जनताले कैयौँपटक यस्ता जहर पिउँदै आएका छन् । बलिदानका अपूर्व कीर्तिमान खडा गरेका छन् । महान् सहिदहरूका परिवर्तनको धोकोलाई पूरा गर्ने कसम खाएका छन् । अन्तिममा जनताकै विजय हुने कुरा स्थापित छ र कविको विश्वास पनि जनताकै विजय हुने कुरामा रहेको देखिन्छ । यही विश्वासको कारण विश्वमा आम उत्पीडित जनताको मुक्तिको सपना जिउँदै रहन सकेको हो । यो विश्वास नेपालमा पनि जिउँदै छ । यही विश्वास, यही कामनालाई ‘बदला रगतको’ शीर्षक कविताको एक ठाउँमा यसरी कवितात्मक भावना उर्लिएको छ ः
‘चपाए झैँ लाग्यो जहर हरिको त्यो खबरले
सुसाए झैँ लाग्यो सुमन–दिन मादी, बगरले
मलाई लेखे है कवि पर हुँदा पत्र नविन
बिसाएको धोको सरल मनको भुल्न सकिनँ ।।’

(छ) पुरातन बिम्बको प्रयोग

कविता बिम्बात्मक अभिव्यक्ति हो । थोरैले धेरै भन्न सक्ने कविताको सामथ्र्यशीलता हुन्छ । यो सङ्क्षिप्तात्मक र सूत्रात्मक हुन्छ । कवितामा भावमय प्रवाहशीलता तीब्र हुन्छ । कविताको प्रगतिवादी क्षेत्रमा कविहरूले त्याग, बलिदानसित सम्बन्धित बिम्बहरू, प्रतीकहरू सोहीअनुरूप प्रयोग गरिन्छन् जुन स्वाभाविक हुन् । यद्यपि, प्रगतिवादी कवि चेतकान्तको प्रस्तुत कवितामा पुरातन बिम्बको पनि प्रयोग भएको छ । खासगरी उनले कैयौँ ठाउँमा ‘हरि’ शब्दको प्रयोग गरेका छन् । ‘हरि’ शब्द पुराणबाट लिइएको बिम्ब हो । सामान्यतया नेपाली प्रगतिवादी साहित्यका र अन्य स्रष्टाले यसखालका बिम्बको प्रयागेमा मोह राखेको पाइन्छ । जनयुद्धबाट सिर्जित नयाँ यथार्थका पक्षधरहरूलाई पौराणिक बिम्बको प्रयोगले अनौठा मनोदशा खडा हुन्छ । आदर्शवादी–पूर्वीय चिन्तन र त्यसमा पनि पौराणिक÷धार्मिक चिन्तनले सांस्कृतिक रूप ग्रहण गरेको र नेपाली समाजको केन्द्रीय प्रवृत्ति प्रगतिवादी सांस्कृतिक चेतनाको प्रभाव प्रगतिवादी साहित्यिक धारामा पनि परेको पाइन्छ । प्रगतिवादी सांस्कृतिक चेतनाका संवाहकहरूले यस्ता बिम्ब– प्रतीकहरूको प्रयोग गर्नु युक्तिसङ्गत मान्न सकिँदैन । ‘हरि’ काव्यकृतिका चरित्र मात्र नभएर पूर्वीय अध्यात्मवादी हिन्दू धर्म र सामन्ती सांस्कृतिक धरोहर पनि हुन् । ‘हरि’ को अर्थ दयाको खानी, ईश्वर वा भगवान् हो । यहाँ सोहीअनुरूप रूपमा प्रयोग गरिएको छ । बलिदानको यत्रो महागाथामा आधारित कवितामा प्रयुक्त बिम्बले कविताको मूल भावलाई बिम्बात्मक न्याय गर्न नसकेको हो कि भन्ने कुराको प्रतीत हुन्छ । यसलाई कविकार चेतकान्तको सीमा मान्न सकिन्छ । प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलनका अभियन्ताहरूले बिम्ब–प्रतीकको प्रयोग गर्दा निकै संयमित र सिर्जनशील हुनुपर्छ । परिवर्तनका निमित्त जनताले गरेको सङ्घर्षले पैदा गरेको अर्थात् जनसङ्घर्षद्वारा स्थापित नवीन बिम्ब तथा प्रतीकले सिर्जनाकारको मौलिकता, सिर्जनशीलताको बढोत्तरी हुन्छ । यस प्रक्रियाद्वारा सर्जक र सिर्जना स्थापत्य कायम हुन्छ । यो कुरामा स्रष्टाहरूले विशेष ख्याल गर्न आवश्यक छ । जनताको सङ्घर्षले स्थापित गरेको विजय– बिम्बहरू, साहसिक मोर्चाहरू, बलिदानका भव्य र महान् पीरामीडहरू, प्रतिक्रियावादी सत्ता र तिनका रक्षकहरूको पराजयहरूलाई नयाँ यथार्थपरक साहित्यकारहरूले बिम्बका रूपमा प्रयोग गर्न सक्छन् । यसतर्फ समाजवादी यथार्थवादी साहित्यकारहरूले विशेष ध्यान दिन आवश्यक छ । कवि चेतकान्तको कवितामा प्रयुक्त ‘हरि’ बिम्ब–शब्दको केही दृष्टान्त ः
‘बली तारा बस्छिन् ‘हरि’ अमर बन्दै सगरमा (पृ. २२) ।’
‘चपाए झैँ लाग्यो जहर हरिको त्यो खबरले (पृ. ऐ.) ।’
‘उठी बोल्छन् ‘खाऔँ कसम हरिको फेर्न सपना’ (पृ. २३)’

(४) उपसंहार

विश्वमा नेपालीहरूको विशिष्ट पहिचान रहँदै आएको छ । वीरताको हिसाबले, त्यागको हिसाबले, कीर्तिमानीको हिसाबले नेपाल विश्वमा ख्यातीप्राप्त नै छ । बहादुर नेपाली छोरीचेलीहरूको प्रख्याती पनि निकै माथिल्लो स्तरमा रहेको छ । यहाँको आन्तरिक सांस्कृतिक परम्परा पनि निकै समृद्ध रहँदै आएको छ । यद्यपि, प्रतिक्रियावादी सत्ताले नेपाली समाज र यहाँका नागरिकको आन्तरिक सामथ्र्यको कहिल्यै पनि पनि सम्मान गर्न जानेन र सकेन पनि । फलतः अनेकन् विषम परिस्थितिको सिर्जना भयो । लयबद्ध तथा मझौला आकारमा संरचित प्रगतिवादी कवि चेतकान्त चापागाईंको प्रस्तुत कविता ‘बदला रगतको’ कविताका भाव निकै गहन रहेका छन् । यो कविताले नेपाली वर्गसङ्घर्षको एक विशिष्ट क्षणमा प्रतिक्रियावादी शासकले निहत्था जनताको हत्या गर्ने, बेपत्ता बनाउने, आतङ्कित पार्ने गरेको यथार्थिक विवरण प्रस्तुत गरेको छ । नेपाली समाजको रूपान्तरणकारी अभियानमा भए–गरेका अनेकन् सङ्घर्षले पैदा गरेका जागरणले प्रतिक्रियावादी सत्ताका विरुद्ध बोल्ने, लेख्ने र भौतिक रूपमै मोर्चामा लामबद्ध हुने अग्रसरता पनि यो कवितामा मुखरित भएको छ । नेपाली जनता र परिवर्तनकारी अभियन्ताहरूको अपूरो कार्यभारलाई पूरा गर्न निरन्तर क्रान्तिको भावधारामा हेलिएर मात्र एक दिन जनताको शासन स्थापना गर्न सकिने विश्वास पनि यहाँ प्रकटिएको छ । जनताको रगत कहिल्यै खेर जाँदैन । खेर जान दिन हुँदैन । यसर्थ, जनताको बलिदान कहिल्यै खेर नजाने कुरा यो कविताले गहिरो विश्वास व्यक्त गरेको छ । अंशतः सीमा भए पनि नेपाली जनता मुक्तिको महान् अभियान एक न एक दिन विजयी हुने अटल आशा र विश्वास नै प्रस्तुत विवेच्य कविताको समाथ्र्य र शक्ति हो । जीवनशील यथार्थ यो कविताको पहिचान हो । मरणशील यथार्थ र जीवनशील यथार्थको चर्चासँगै चीनका पतनशील बादशाहका कविता १० औँ शताब्दीका दक्षिणी ताङ राज्यका अन्तिम राजा लिउको तल उल्लिखित कवितामा दरबारिया पतनशील जीवनको बयान गरिएको छ । सोही कविताको एक अंश यहाँ प्रस्तुत गर्नु उपयुक्त हुन्छ ः
‘कँुदिएका बार्दलीका कलात्मक खम्बाहरू
टट्टू जस्ता झन्डा राख्ने ढुङ्गे खम्बाहरू अझै छन्
कति महान् छ मेरो मालिकको वेदना
पूर्वतर्फ अन्त्यहीन बहिरहने वसन्तको नदी जस्तो !’
यही विषयमा चीनका महान् साहित्यकार लु सुन यसरी कविताका माध्यमबाट बयान गर्छन् ः
‘कालो दुब्लो अनुहार भएकाहरूको एउटा समूह काँडाघारीमा
कस्तो अझै आक्रोसले पृथ्वी हल्लाउने हिम्मत गर्दछन् ?
म हाम्रो सम्पूर्ण दूरदूरसम्म फैलिएको जमिनमा ओथारो बस्छु,
र यो मौनतामा गर्जंदो आवाजको घन्टा ध्वनि सुन्छु ।’

लु सुनको यो कवितात्मक वयान समाजवादी यथार्थवादी धारासित सन्निकट रहेको छ । यो कुरा किन पनि यहाँ प्रस्तुत गरिएको हो भने सिर्जना र स्रष्टाका बीचमा रहेको सम्बन्धले पनि त्यसको दिशा निदृष्ट गरेको हुन्छ । यसको वर्गीय पक्षधरताले ठूलो काम गरिरहेको हुन्छ । तेल मालिकले कोइला बटुलिरहेकी कविलाको दुःख बुझ्न सक्तैन । गरिब मानिसले धनी मानिसबाट सुखको अपेक्षा गर्नु बेकार हुन्छ । त्यसैले त हामीलाई यस्तै यस्तै संसारभर बोल्ने जनसाहित्यको आवश्यकता छ । लेनिन भन्छन्– “जुनसुकै वर्गसचेत मजदुरले, भाग्यले उसलाई जुनसुकै जनताको बनाएको भए पनि यसले आफूलाई नौलो भाषाविहीन, साथीविहीन, आफ्नो मातृराष्ट्रबाट टाढा महसुस गरेता पनि अन्तर्राष्ट्रिय प्रसिद्ध रहनीद्वारा यसले आफैँ कमरेड र साथीहरू पाउन सक्छ ।” चेतकान्तको कविताबाट लेनिनको उक्त भनाइको भावाबोध गर्न सकिन्छ । चेतकान्तको वर्गपक्षधरता र सिर्जनधर्मितालाई यही आलोकमा बुझ्नु सही हुनेछ ।

सिद्धान्तमा द्वन्द्वात्मक भौतिकवादी भए पनि व्यवहारमा त्यहीअनुरूप नदेखिएको र व्याख्यामा एकरूपता नभएको आजको सन्दर्भमा चेतकान्तका रचना बलशाली भएर उभिएका छन् । आजका अध्ययनहरू विज्ञानसम्मत नभइरहेको र दृष्टिकोण पनि माक्र्सवादी नभइरहेको सन्दर्भमा उनका रचना क्षेप्यास्त्र भएका छन् । ज्ञानको केन्द्रीकरण सामूहिकतामा हुन्छ भन्ने कुरालाई ख्याल नगर्ने आजको पुस्तालाई विचारको प्रतिवाद विचारले नै गर्नुपर्दछ भन्ने ज्ञानबोध गराउन उनका काव्यिक रचना निकै प्रभावकारी ठहरिएका छन् । रचनात्मक साहित्य लेखन कहिल्यै पनि यथास्थितिको बन्दी हुन सक्तैन । वैचारिक आस्थाका साथ लेखिएका साहित्यमा जीवनको छाया देख्न सकिन्छ भन्ने कुराको बलिया प्रमाण चेतकान्तका रचना हुन् । आलोचनाको अधिकार प्राप्त गर्न कुनै निश्चित सत्यमा विश्वास हुनुपर्दछ भन्ने कुरा सही हो । त्यसैले त इच्छुकले भने– “हाम्रो लेखन र सिर्जनअनुरूप हाम्रो जीवनशैली बनोस् ।” यो कुरा प्रगतिवादी कवि चेतकान्त चापागार्इंको जीवनमा लागू भयो । साहित्य क्षेत्रको मौसमी क्रियाशीलतालाई स्थायी र गुणात्मक क्रियाशीलतामा फेर्न आवश्यक छ भन्ने चेतकान्तका सिर्जनाका गुदी कुरा हुन् । हाम्रो यात्रा अँध्यारोबाट उज्यालोतिर, असभ्यताबाट सभ्यताातिर र विपन्नताबाट सम्पन्नतातिरको यात्रा हो र हुनुपर्छ भन्ने कामना पनि चेतकान्तका कविताले उद्बोधन गरेको छ । गोर्कीले भनेजस्तै प्रगतिशील लेखकहरूको लेखन हस्तक्षेपकारी र रूपान्तरणकारी हुनुपर्दछ । आजको आवश्यकता पनि त्यही हो । क्रान्तिकारी कला साहित्य उत्पीडित जनताको रचनात्मक ऊर्जा र श्रम सौन्दर्यको संवाहक हो । यो जनसमुदाय क्रान्ति तथा कार्यकर्ता सबैका लागि अत्यन्तै मूल्यवान् वैचारिक तथा सांस्कृतिक खुराक हो । माक्र्सवादी विश्वदृष्टिकोणअनुसार क्रान्तिकारी कला साहित्य क्रान्तिकै अभिन्न अङ्ग हो र यसले रचनात्मक क्रियाशीलताको सौन्दर्यबोध गराउँछ । वैचारिक तथा सांस्कृतिक खुराक बन्न सफल चेतकान्तका कविता माक्र्सवादी सौन्दर्यात्मक मूल्यका दृष्टिले पनि महत्वपूर्ण रहेका छन् । त्यसैले अन्तमा यति भनौँ– चेतकान्तका कविता वैचारिक, सौन्दर्यात्मक तथा काव्यिक मूल्यका साथ विशिष्ट स्थान हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :