ऋणीहरूलाई धम्की दिने बैङ्क/वित्तीय संस्थाहरूलाई नेकपाले कारबाही गर्ने

नेकपा रूपन्देहीले कोरोना सङ्कटको बेला बैङ्क तथा वित्तीय संस्थाहरूले व्यवसायी तथा ऋणीहरूबाट किस्ता, ब्याज र हर्जनासमेत असुल गर्न ताकेता गर्ने, घरमा पुगेर मानसिक दबाब दिने र ब्याज र हर्जनासमेत असुल गर्न ऋणीहरूलाई धम्की दिएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
आइतबार जिल्ला सेक्रेटरी प्रभातले प्रेस विज्ञप्ती जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाहरूको यस्तो हर्कतले व्यवसायी तथा ऋणीहरू घरपरिवार र समाजबाटसमेत पलायन हुनुपरेको बताएका छन् ।
कोरोना कहरको बेला जनताको गाँस, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकताहरू राज्यले पूरा गर्नुपर्ने दायित्वबाट पन्छिएर केपी वली नेतृत्वको सरकारले उल्टै उठीबास पार्ने कार्य गर्नु निन्दनीय र खेदजनक रहेको भन्दै यस्तो हर्कत तत्काल बन्द गर्न नेकपा रूपन्देहीले चेतावनी दिएको छ । ‘कोरोना सङ्कटको भयावह स्थितिमा श्रमजीवी जनतालाई गाँस, बास, कपास, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता राज्यले पूरा गर्नेपर्ने दायित्वबाट पन्छिएर उल्टै धम्की दिने र उठीबास पार्नेजस्ता घृणित हर्कत गर्नु निन्दनीय र खेदजनक रहेको छ । बैङ्क तथा वित्तीय संस्थाले श्रमिक जनतामाथि गरेको यस्तो व्यवहारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ र आगामी दिनमा यस्ता घटनाहरू नरोकिए जनस्तरबाट प्रतिरोध गर्ने र त्यसको प्रतिफल भोग्न तयार रहन सम्बन्धित निकायलाई जानकारी गराउँछौँ’, विज्ञप्तीमा उल्लेख छ ।
यस्तै कोेभिड १९ को बहाना बनाई अत्यावश्यक सामानको नक्कली अभाव उत्पन्न गराई महँगो भाउमा व्यापार गर्ने दलाल, कोभिड १९ का नाउँमा अथाह रकम हिनामिना गर्ने, नक्कली बिलभर्पाई र कमिसनको भरमा फस्र्योट गर्ने नगरपालिका र गाउँपालिकालाई समेत कारबाही गरिने नेकपा रूपन्देहीले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :