थेग्लान् त वामदेवले सरकारी पार्टीको डुब्न थालेको डुंगा ?

सत्ता र गुटीय स्वार्थका कारण चरम विवाद हुँदा फुटको मुखैमा पुगी धर्मराइरहेको सरकारी नेकपाको पार्टी विभजन रोक्न उक्त दलले बारम्बार चुनावमा पराजित हुँदै आएका वामदेव गौतमलाई राष्ट्रिय सभामा लगेर सरकारमा ल्याउने प्रयास थालेको छ । केपी वलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिए अहिले हो कि भरे फुट्ला भन्ने अवस्थामा पुगेको सरकारी पार्टीको विभाजनलाई चिनियाँ राजदूतले जोगाइदिएकी थिइन् । त्यसपछि अनेक कार्ड फाल्दै वामदेवले फुट्नबाट जोगाइरहेको र त्यही गुनको बदला उनलाई राष्ट्रिय सभामा लगेर सरकारमा ल्याउने केपी वलीको रणनीति रहेको विश्लेषकहरू बताउँछन् । तर प्रश्न पनि उठिरहेको छ– के वामदेव गौतमले डुब्न लागेको सरकारी नेकपाको जहाज पार लगाउन सक्लान् त ?
विगतमा केपी वलीले महाकालीमा राष्ट्रघात गरेको निष्कर्ष निकाल्दै एमालेबाट विद्रोह गरी माले गठन गरेका वामदेव पछि रुझेको बिरालोजस्तै बनेर एमालेमा विलय हुन पुगेका थिए । त्यसपछि एमाले पक्षले उनलाई कहिल्यै शक्तिमा आउन दिएको छैन । कहाँसम्म भने एमाले पक्षले उनलाई देशको एक नम्बर भ्रष्टाचारी नै घोषणा गरेको थियो ।
उता जनयुद्ध कालमा वामदेवकै पालामा आतङ्ककारी विधेयक ल्याएर हजारौँ माओवादी मराएको दोष पनि वामदेवले खेपिरहेका छन् भने माओवादी सिध्याउने उद्देश्यले ल्याइएको सङ्कटकाल उनीहरूकै जोडबल र सहयोगले बारम्बार थपिएर माओवादीलाई आतङ्ककारी घोषणा गर्दै जनताको हत्या गर्न शाहीसेना दुरुपयोग थियो । त्यसैले उनी वास्तविकतामा गौतम न केपी वलीका, न त पुष्पकमल दाहालहरूकै विश्वासका पात्र हुन् । उनी त अरूका लागि प्रयोग भइदिने निर्जीव बन्दुक वा लट्ठीजस्ता हुँदै आएका छन् ।
यद्यपि सरकारी नेकपाले पार्टीका मनोनीत उपाध्यक्ष गौतमलाई अर्को मनोनयन गर्दै राष्ट्रिय सभामा पठाउने निर्णय भने गरेको छ । सरकारी नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमध्ये राष्ट्रपतिले मनोनीत गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी उक्त पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका हुन् ।
पार्टी सचिवालय बैठकमा वलीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको श्रेष्ठले बताएका हुन् । गौतमलाई राष्ट्रिय सभामा लग्ने सरकारी पार्टीको निर्णयपछि अर्थमन्त्री रहेका युवराज खतिवडा भने आजबाट सरकारबाट बाहिरिने भएका छन् । वलीका विश्वासपात्र खतिवडा र तातो भाँडो समाउँदा काम लाग्ने ‘हनबेर्नु’ वामदेवमध्ये यतिबेला सरकारी पार्टीमा आएको गम्भीर समस्या टालटुल पार्न सहयोग गरेका वामदेव नै रोज्नु परेको हो । तर उनको विगतदेखिकै अस्थिर, ढुलमूल र सत्ताकेन्द्रित इतिहासका कारण दिगो समाधान भने दिन नसक्ने विश्लेषकहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :