मसँग एउटा सपना छ

कविता

सत्ता र शक्तिको आडमा
शासन चलाउँदै मात्तिएका
बडेमानहरुका विरुद्ध
क्रान्तिको शङ्खघोष गर्ने
मसँग एउटा सपना छ कमरेड !

सत्ताको उन्मादमा
भ्रष्टाचारी, तस्कर, अर्बौंको करछली, बलात्कारी र अपहरणकारीलाई
जोगाउन
अड्डा, अदालतको दुरुपयोग गर्ने
बडेमानका विरुद्ध
जनताको अदालतमा मुद्दा दर्ता गर्ने
मसँग एउटा सपना छ कमरेड !

निजी स्वार्थकै निम्ति
राष्ट्रघाती सन्धि–सम्झौता गर्ने
सत्ता टिकाउनकै निम्ति
राष्ट्रियताको लिलामी गर्ने
लुट्नकै निम्ति
राष्ट्रिय ढुकुटी रित्याउने
जनतामारा शासकहरुका विरुद्ध
कलमसँगै बम, बारुद र बन्दुक बोक्ने
मसँग एउटा सपना छ कमरेड !

गरिबी, अशिक्षा र बेरोजगारी अन्त्यका लागि
सर्वहारा वर्गसँगै
राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र समानताका पक्षमा
राष्ट्रिय मुक्तिको भीषण आन्दोलन गर्दै
वैज्ञानिक समाजवादी सत्ता निर्माण गर्ने
मसँग एउटा सपना छ कमरेड !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :