रुसले कोरोनाविरुद्ध खोप बनाएपछि मानिस खुसी

काठमाडौँ : रुसले कोभिड १९ विरुद्ध खोप तयार पारेको खबरले मानिसहरुमा केही खुसी सञ्चार भएको देखिएको छ । हालै रुसी वैज्ञानिकहरुले अनवरत कोसिसपछि कोभिडविरुद्धको खोपमा उल्लेख्य सफलता हातपारेको बताएपछि मानिसहरुमा खुसी सञ्चार भएको हो ।

रुसले कोभिडविरुद्धको खोप तयार पारेको खबरले नेपालमा सुनको मूल्य घटेको छ । मङ्गलबार १ लाख १ हजार ६ सयमा कारोबार भएको सुनको भाउ एकै दिन ६ हजार २ सय रुपैयाँ घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायीले जनाएका छन् ।

सुनचाँदी व्यवसायीका अनुसार नेपाली बजारमा एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट भएको पहिलोपटक हो ।

रुसले कोभिड १९ विरुद्धको खोप तयार पारेको खबरले अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ताको मनोबल उच्च भएकाले सुनको मूल्य ओरालो लागेको र डलर बलियो हुन थालेका कारण सुनका लगानीकर्ता नाफा सुरक्षित गर्न लागेको व्यवसायीहरुको भनाइ छ ।

बुधबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाविरुद्धको खोपमा प्रभावकारी औषधी तयार भएको भन्दै देशको नियामक निकायले कोरोना भाइरस सङ्क्रमणविरुद्ध एउटा खोपलाई स्वीकृति प्रदान गरेको जानकारी दिएका थिए । साथै उक्त खोप कोरोनाविरुद्ध निकै प्रभावकारी भएको भन्दै आफ्नी एउटी छोरीले पनि उक्त खोप लगाएको पुटिनले बताएका थिए ।

रुसले उक्त खोप प्रभावकारी भएको भन्दै त्यसले मानिसको प्रतिरोध क्षमतालाई बलियो बनाएको दाबी गरेको छ । यस्तै चीन, अमेरिकालगायत देशका वैज्ञानिकहरुले पनि कोरोनाविरुद्धको खोप तयार गर्न रातदिन लागिपरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :