नेकपाद्वारा जुम्ला घटनाको भत्र्सना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको भेरी–कर्णाली ब्युरोले साउन २४ गते राती जुम्लामा भएको घटनाको घोर भत्र्सना गरेको छ ।

ब्युरो इन्चार्ज रविले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई वडा अध्यक्ष भक्त रोकायासहितको समूहले आक्रमण गरी गिरफ्तार गराएको भन्दै बिनासर्त रिहाइको माग गरेका छन् ।

प्रेस विज्ञप्तिमा जनयुद्धकालीन दमनको झल्को दिने गरी गरिएको गुन्डाराज र दानवीय शैली आफ्नो पार्टीलाई अस्वीकार्य भएको बताइएको छ । जनयुद्धकालीन दमनको झल्को दिने गरी सरकारद्वारा गरिएको गुन्डाराज र दानवीय शैली आफूलाई अस्वीकार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान समयमा कोरोना भाइरस महामारी र बाढीपहिरोका कारण जनजीवन प्रभावित बनिरहेको बेला जनताको जीवनरक्षाका लागि प्रभावकारी कदमहरू चाल्नुको साटो आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई दमन र गिरफ्तार गर्नतिर लागेको विज्ञप्तिमा उल्लेख छ । साथै विज्ञप्तिमा आफ्नो पार्टी निश्चित विचार र सिद्धान्तसहित अघि बढिरहेको भन्दै सरकारले दमन अभियानको बाटोबाट क्रान्तिकारीलाई तह लगाउने सोचाइ राख्नु गलत भएको उल्लेख छ ।

नेकपाले जुम्लाको तिला नगरपालिका वडा नं ६ घोडेगाउँमा काङ्ग्रेसी कार्यकर्ता र उक्त वडाको वडाध्यक्ष भक्त रोकायाको समूहले आफ्नो पार्टीका जिल्ला सचिव उदय, युवा सङ्गठन नेपालका जुम्ला जिल्ला अध्यक्ष नवीन, महिला सङ्गठनकी सपनालाई आक्रमण गरी समातेर प्रहरीलाई बुझाएको भन्दै उक्त घटनाको भत्र्सना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :