देश हाम्रो आँखाको नानी हो

कविता

देश हाम्रो आँखाको नानी हो
श्रमिक वर्ग सम्पूर्ण जिन्दगानी हो

राष्ट्रियता मुटुको धड्कन हो
एकीकृत जनक्रान्ति हाम्रो श्वास–प्रश्वास हो
अब पनि झम्टिई–झम्टिई नआ ए गिद्द
कास्मिर वा सिक्किम होइन मेरो देश
सिरया र इरान पनि होइन मेरो देश
यो त जनगणतन्त्रको भ्रूण हो
मानौँ र जनगणतन्त्र कोरियाजस्तै बन्दै गरेको
यो मेरो रगत, पसिना र पदचापले निर्माण भएको भूमि हो ।

दास बनाउन खोजेको छस् मेरो जन्मभूमिलाई ?
मेरो देश मेरो प्राण हो, विगत, वर्तमान र भविष्य हो ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो
अब हामी खोज्नेछौँ पूर्व टिष्टा, पश्चिम काँगडा
सुस्ता, महेशपुर सबै हामै्र–हाम्रो हो ।

जब नङ्ग्रा तिखारेर, चुच्चो उद्याएर
गिद्दहरू उड्छन् आकाशमा छट्पटाएर
झस्किन्छन्, क्रुद्ध हुन्छन् मेरा कालापानीहरू
जब हुँडर र ब्वाँसा सल्बलाउँछन् लिपुलेकमा
जुर्मुराउँछन् मेरा नालापनीहरू
ए दुष्ट ! नफिँजा तेरा नङ्ग्रा, फँडा, खुँडा र तरबार
तोपसँग गुलेली–तरबारले लडेर जितेको इतिहास छ मेरो
रगतले नक्सा कोरेको र शरीरको चाङ लगाएर
जङ्गे पिलर ठड्याएको
गौरवशाली इतिहास छ मेरो ।

भुलेको होलास् सायदै–
टिस्टा र काँगडामा
रक्तमुछेल खुँडा–तरबार पखालेको इतिहास छ मेरो ।

जब सुस्तामा बज्रिन्छन् रक्तपिपासु बुटहरू
ब्युँझिन्छन् ओलाङ्चुङ्गोलादेखि चाँदनी र दोधाराहरू
लिपुलेकका तेरा डोजरहरू उडाउन
विस्फोट हुन्छन्
मुटुभरिभरि सजिएका
देशभक्तिका डाइनामाइट
आफैँ विस्फोट हुन लामबद्ध छन् ।

सिक्किम खाइस्, खाइस् कस्मिर र लद्दाख
सोचेको होलास् खान्छु टुक्राटुक्रा पारेर
लिपुलेक, कालापानी र लिम्पियाधुरा
जहाँ टेक्छस्, त्यहीँ उडाइदिने
फेरि शक्तिशाली सेना बनेका छन् मेरा
ख्यालख्याल सुरुङ खन्दैनन् यी सेनाले
तल र माथि दुवैतिरबाट मच्चाउनेछन् धमाका ।

हेर् त कति बलियो हुन्छ देशभक्ति
कोरियाबाट पुच्छर लुकाउँदै
भागेको याङ्की त हो तेरो आदर्श
कहाँ टिक्यो, कोरियामा ? भियतनाममा ?
क्युबा वा बोलिभियामा ?
लिएर रक्तपिपासु भगौडा सेना
भन्ठानेको होलास्
इराक, अफगानिस्तान, सिरिया र इरान बनाउँछु
देखेको होलास् सपना सुलेमानी वा कर्नेल कद्दाफी बनाउँछु
हामीले जन्माइसकेका छौँ आफ्नै देशमा
चे, हो काका, किम जोङ उन र गोविन्द गौतमहरूलाई
जसका आँखाले नै भष्म पार्छ तेरो कुदृष्टि
र चकनाचुर हुन्छन् तेरा दुस्वप्नहरू !

देश हाम्रो आँखाको नानी हो
श्रमिक वर्ग सम्पूर्ण जिन्दगानी हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :