दोलखामा बाढी–पहिरोमा परी एकजनाको मृत्यु, ९ घर डुबानमा

काठमाडौँ : दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिकामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने बाढीका कारण र स्वास्थ्यचौकीसहित ९ घर डुबानमा परेका छन् । गएराती गौरीशङ्कर गाउँपालिका ८ खारेको टुनिटारमा पहिरो जाँदा मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका ८ सुनखानीका करिब २८ वर्षीय सुरेश शिवाकोटी रहेको स्थानीयले बताएका छन् ।

मृतक शिवाकोटी सिगटीबाट टुनिटारको नवनिर्मित घरमा सटर राख्नका लागि बिहीबार गएका थिए भने काम नसकिएर सोही स्थानमा बसिरहेको अवस्थामा पहिरोले पुरेर मृत्यु भएको र उक्त पहिरोमा परेर तीनजना घाइते भएको दोलखा प्रहरीले जनाएको छ ।

गएराती नै आएको बाढीले गौरीशङ्कर गाउँपालिका ६ गुरुम्फीको बरु क्षेत्रमा खारे खोलाबाट आएको बाढी बजारमा छिर्दा स्वास्थ्यचौकीसहित ९ वटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । ९ वटा घरका १० महिला, ७ पुरुष, ७ बालक, १० बालिका गरी ३७ जना विस्थापित भई नजिकका आफन्तकोमा सुरक्षित रहेको बताइएको छ ।

बाढीले सिप्रिङखोला जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ भने उक्त गाउँपालिकाका विभिन्न वडामा निर्माणाधीन घट्टेखोला, तल्लो खारेखोला जलविद्युत् आयोजनाका विभिन्न संरचना बगाएको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :