दोरम्बामा बलिदान गर्ने महान् सहिदहरूको सम्झनामा

१७ वर्षअगाडि २०६० साल आजकै दिन साउन ३२ गते दोरम्बा हत्याकाण्डको भएको हो । जति बेला नेपालमा २०५२ सालमा सञ्चालित महान् जनयुद्ध सगरमाथाको शिखरमा पुग्ने जमर्को गर्दै थियो । त्यसैबीच सत्ताका मतियारहरू आत्तिएर वार्ताको नाटक मञ्चन गरिरहेका थिए । दुवै पक्षको छलफलपछि दोस्रोपटक शान्तिवार्ता गर्ने निर्णय भयो । दुवै पक्षले आचारसंहिता निर्माण गरी तत्कालीन शाही सेना ब्यारेकभन्दा ५ किलोमिटर बाहिर निस्कन नपाउने र एकअर्कालाई आक्रमण गर्न नपाउने सहमति गरिएको थियो । तत्कालीन सरकार पक्ष र माओवादी पक्षबीच दाङको हापुरेमा वार्ता चलिरहेको थियो ।

यता रामेछाप जिल्लाको दोरम्बामा जिल्ला पार्टीका प्रमुखहरूको उपस्थितिमा एरिया पार्टीको आन्तरिक छलफल र बैठकमा जुटिरहेका कमरेडहरूमाथि षड्यन्त्रपूर्वक माओवादी जनयुद्ध र नेतृत्व समाप्त पार्ने निर्णय सुराकीका आधारमा दोरम्बा हत्याकाण्ड गरिएको थियो । २०६० साल साउन ३२ गतेको दिन नेपालको इतिहासमा सर्वहारा वर्गका लागि कालो दिन हो । राजतन्त्रात्मक संसदीय व्यवस्थाका मतियारहरू भने दोरम्बा हत्याकाण्डले खुसी मनाइरहेका थिए ।

बर्सात्को समय, सिमसिम पानी परिरहेको, हुस्सुले दोरम्बालगायत रामेछापको भूमि घुम्टमे ओढिरहेको थियो । तर वार्ताको समय भएकाले दुस्मनको ख्यालै नगरी निःशस्त्र शिक्षक युवराज मुक्तानको घरमा एरिया पार्टीको बैठकमा जुटिरहेका कमरेडहरूमाथि एक्कासि शाही सेनाले घेरा हाली क. टेकबहादुर थापामगर ‘विवेक’ लाई कार्यक्रमस्थलमै हत्या गरियो भने क. बाबुराम तामाङ ‘पुष्प’, क. अम्किका दाहाल ‘ललिका’, क. प्रदीप दोङ ‘रक्तिम’, क. उमा कार्की ‘सहारा’, क. पदमराज गिरी, क. सानुराम योञ्जन तामाङ ‘तारा’, क. ठूलोराम तामाङ ‘छोप्पा’, क. लक्षुमन तामाङ, क. युवराज मोक्तान, क. लीला मोक्तान, क.चतुरमान थामी, क. सोमाई थामी ‘सङ्गीता’, क. विष्णु थापामगर ‘बिमा’, क. श्याम तामाङ ‘इन्क्लाब’, क. हर्क घिसिङ ‘यथार्थ’, क. रवि चौहान ‘समीर’, क. हर्कलक्ष्मी राई ‘विमला’, क. उषा, क. जमिन, क. सोमलाई डोरीले पछाडि हात बाँधी दोरम्बाबाट १ घन्टा टाढा डाँडाकटेरीमा लगी वर्गवैरीले सामूहिक रूपमा जनयोद्धाहरुको हत्या गर्यो ।

जिल्ला इन्चार्ज क. ललित, सेक्रेटरी क. मदन, क. बिर्खबहादुर ‘उदय’ लगायत केही कमरेड घेरा तोड्न सफल भए पनि जनसरकार प्रमुखलगायत नेता–कार्यकर्ता दृढतापूर्वक लड्ने, जनयुद्धलाई सफलतामा पुर्याउने, आफूहरू बलिदान गर्ने तर आत्मसमर्पण नगर्ने, व्यक्तिगत जीवनको भिक नमाग्ने, बरु महान् सहिद हुने प्रतिबद्धता जाहेर गर्नुभयो । शाहीसेनाका मेजर राममणि पोख्रेलको नरपिपाशु नेतृत्वको टोलीले डाँडाकटेरीमा अन्धाधुन्ध ढाड, टाउको र छातीमा गोली हानी हत्या गरेर जङ्गलमा फालियो । आदरणीय सहिद कमरेडहरूले शिर झुकाउनुभएन, दरो मुठी उठाउदै मालेमावाद – जनयुद्ध जिन्दावादलगायत नाराहरू लगाउनुभयो । दुस्मनप्रति घृणा र आक्रोश व्यक्त गर्दै बूढा बाबा–आमा, बालबच्चा, भर्खरै विवाहित जीवनसाथीको भौतिक सुखसयलको परबाह नगरी उत्पीडित सर्वहारावर्गका लागि बलिदान गर्नुभयो । डाँडाकटेरीको बनपाखा, गगनभेदी नाराले घन्कियो । रगतको भेलले चराचुरुङ्गी, रूखबिरुवा स्तब्ध भइ शिर झुकाए । नेपाली जनता, माओवादी नेता–कार्यकर्ता र देशविदेशमा रहेका परिवर्तनकारी पक्षहरू उक्त घटनाबाट आक्रोशित हुँदै बर्खे झरीसरि आँसु बगाउन विवश भए । बदलाको भावना जाग्यो । सहिदको सपना पूरा गर्ने प्रतिबद्धता नेकपा (माओवादी) का केन्द्र, जिल्ला, स्थानीय स्तरसम्मका नेता–कार्यकर्ताले जाहेर गरे । तिनै महान् सहिदका आफन्तहरू एक्ला, टुहुरा भए भने नेता–कार्यकर्ता देशले सच्चा क्रान्तिकारीहरू गुमाएको र त्यसको बदला लिएर छाड्ने प्रतिबद्धतासहित शोकलाई शक्तिमा बदल्दै अगाडि बढे । देश र जनताले असल क्रान्तिकारीको भौतिक शरीर गुमायो तर उहाँहरूको मालेमावादी सिद्धान्तको प्रगाढ नयाँ आस्था र विचार गलेन, ढलेन । क्रान्ति र जनयुद्ध समाप्त पार्ने दलालहरूको योजना धुलीसात हुँदै गयो । जनयुद्धले एकपछि अर्को सफलता, नयाँ उचाइ हासिल गर्दै बेगवान् गतिमा सगरमाथाको शिखरमा लालझन्डा फहराउने महान् उद्देश्यका साथ अघि बढिरह्यो ।

दसबर्से जनयुद्ध सामान्य घरेलु हतियारबाट सुरु हुँदै ठूलाठूला अत्याधुनिक हतियारहरू कब्जा गर्न जनमुक्ति सेनाहरू सफल भए । छापामार युद्धको विकास गर्दै रक्षा, सन्तुलन, प्रत्याक्रमण, ढाडमा टेकेर टाउकोमा हान्ने, आमनेसामने लडाइँ भइरहेको थियो । यसै सन्दर्भमा ८ बँुदे सहमति र १२ बुँदे सम्झौता हुन गयो । जनमुक्ति सेनाले शाही सेना, पुलिस, सीआईडी, सुराकीलाई सहर र सदरमुकाम केन्द्रित हुन बाध्य बनायो । नेपाली जनतासँग सीआईडी सुराकीले आत्मसमर्पण गरिरहेका थिए । झन्डै सफलताको नजिक पुगेको जनयुद्ध ०६२–०६३ को १९ दिने जनआन्दोलनसँगै शान्तिवार्तामा शाही सेना, पुलिससँग नहारेको जनमुक्ति सेना हतियार, वाईसीएलका युवा कमरेहरूलाइ दलाल संसदीय व्यवस्थाको घेरामा बन्दी बनाइराख्ने काम भयो । लडाइँको मोर्चाबाट निर्मित जनसेना, जनअदालत, जनसरकार, जनकम्युन, सामन्तको कब्जा गरिएको जग्गा फिर्ता गर्न थालियो । युद्धकालीन मुद्दा लगाएर जेलमा सडाउने काम भयो भने मुख्य नेतृत्वले नै षड्यन्त्रपूर्वक युद्ध सिध्याउने खेल सुरु गरेपछि नेपालमा प्रतिक्रान्ति भयो ।

क्रान्तिकारीहरू नेपालको जनयुद्धको सपना र उद्देश्यहरू लिएर अझै अगाडि बढिरहेका छन् भने हिजो जनयुद्धका जिउँदो सहिद भनी चर्चामा रहेका कमरेडहरू पुरानै संसदीय व्यवास्थाको संरक्षणमा आत्मसमर्पण गरेर सहिद, बेपत्ता, घाइते, जेल–हिरासत खेप्नेहरूको अपमान गरिरहेका छन् । व्यक्तिगत जीवन, पदप्रतिष्ठा, पैसा, ऐसआराम र लुछाचुँडीमा रमाइरहेका छन् । जनयुद्धकै क्रममा सहिद, बेपत्ता, झूटो मुद्दा, यातना खेप्ने कमरेडहरू रामेछाप जिल्लामा महान् सहिद बाबुरामलगायत १२० भन्दा बढी र देशैभरि दसौँ हजार सहिदहरूको अपमान भइरहेको छ । बेपता क. कोसिस (डुन्डु तिवारी) लगायत छन् भने घाइते योद्धाहरू क. जितबहादुर मगर, क. अपिल, क. उत्कर्षलगायत सयौँ रहेका छन् । झूटो मुद्दा र यातना खेप्ने क. गोपाल (रेशम चौलागाईं), क. पेमा लामा, क. किरण (कृष्ण ढुङ्गेल), क.आकाश, क.प्रहार, क. उद्धव, क.अनिल (आइते माझी), क. कमल ढुङ्गेललगायत आन्तरिक सङ्घर्षको कारण हत्या गरिएका क.साहस (रमेश ढुङ्गेल) लगायतका कारण रामेछाप जिल्लाको इतिहास जीवन्त छ । उनीहरूका सपना पूरा नहुँदै तत्कालीन जनयुद्धका मुख्य नेताहरू प्रचण्ड–बाबुरामले आत्मसमर्पण गरेका छन् ।

कथित दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार आन्दोलनका क्रममा क. कैलास (नरबहादुर थापा), क. चूडा कार्की उक्त आन्दोलनकै क्रममा तत्कालीन माओवादी केन्द्रका नेताहरूले कब्जा गरी क. निखिल (नीरबहादुर श्रेष्ठ) लाई जिल्ला प्रहरी कार्यालयमा बुझाउने घृणित कार्य गरियो । पुनर्गठित हाम्रो जनमुखी पार्टीका क. विवेक, क. प्रेम श्रेष्ठ ,क. बद्री बोहरा, क. हीराबहादुर घिसिङलगायतलाई झूटो मुद्दा लगाई दुःख दिने काम भयो । क. अभिलाषलाई झूटो मुद्दा लगाई जेलजीवन बिताउन बाध्य पारिएको छ । अन्य कमरेडहरूलाई विभिन्न आरोपमा मुद्दा लगाई घर खनतलासी गर्ने, झूटो मुद्दामा फसाउने अनेक जाल बुनिरहेका छन् । जमिनलगायत केही अवसरवादीहरूले आत्मसमर्पण गर्दै एकीकृत जनक्रान्ति कार्यदिशाको अपमान गरेका छन् ।

रामेछापको कम्युनिस्ट आन्दोलनमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलाल, राणाविरोधी आन्दोलनमा सहिद हुनुभएका गङ्गालाल श्रेष्ठ, मकैको खेती पुस्तक लेखेबापत जेलमै सडाएर मृत्यु हुनुभएका कृष्णलाल अधिकारी पनि सहिद हुन् ।

जनयुद्धको पहिलो पूर्वी छापामार युद्धद्वारा बेथानको पानीघाट प्रहरी चौकी कब्जा गरी पार्टीलाई हतियार बुझाउने कमान्डर क. तीर्थ गौतम, क. फत्तबहादुर स्माली, क. दिलमाया बोम्जन नेपाली जनयुद्धको इतिहासमा रगतले लेखेको इतिहास हो । जनयुद्धका मुख्य नेतृत्व सिद्धान्त र विचार छाडेर प्रतिक्रान्ति, दलालीकरण, संसदीय व्यवस्थामा लागेका छन् भने हाम्रो महान् तथा जनमुखी नेकपा दोरम्बालगायत सम्पूर्ण सहिदको सपना पूरा गर्न क्रान्तिकारी पार्टी निर्माण गरी प्रतिबद्धता व्यक्त गरिरहेको छ । जाति, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक, श्रमजीवी जनताको इच्छा–आकाङ्क्षा पूरा गर्न दौडधुप गरिरहेका छन् । जनयुद्धबाट पूरा नभएको अधुरो अड्किएको क्रान्ति विचारमा विकाश हुन नसकेको थप मालेमावादी विचारको विकास, वर्तमान राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति, नेपालको वस्तुगत स्थिति, जनयुद्धको अनुभवसहित क्रान्तिकारी कार्यदिशा, एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास भएको छ ।

सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएर अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न प्रतिबन्ध लगाई उन्नत र क्रान्तिकारी विचार राख्नेहरूलाई झूटो मुद्दा, हिरासत, बन्दी जीवन बिताउन बाध्य पारेको छ भने क. कुमार पौडेल, क.महान, क. दीपेन्द्र, क. नीरकुमार, क. प्रज्वल, क.सनराइज, रामेछापकै रामकुमार श्रेष्ठलगायत ११ जनाले एकीकृत जनक्रान्तिको कार्यभार पूरा गर्ने क्रममा सहादत प्राप्त गर्नुभएको छ । नेकपाका स्थायी समिति सदस्य क. सुदर्शन, क. वीरजङ्ग, क. शिलु, क. ओम पुन, क. माइला लामा, क. भरत बम, अस्पतालमा उपराचार्थ भर्ना भएका क. विरहीलगायत दर्जनौँ नेता–कार्यकर्ताहरूलाई झूटो मुद्दामा फसाइएको छ । यी सम्पूर्ण काला कर्तुत, भ्रष्टाचार, दलालीकरण, जनतामाथि गिर खेल्ने दलाल संसदीय व्यवस्थाको विकल्पमा एकीकृत जनक्रान्तिको कार्यदिशाले संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादी व्यवस्था स्थापना गर्नेछ । १९५० लगायत असमान सन्धिसम्झौता, राष्ट्रघाती अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्दै कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतले मिचेको सम्पूर्ण भूमिको रक्षा गर्नु पर्दछ । जनतन्त्र, जनजीविकाको समाधान, शिक्षा, स्वास्थ्य, रोजीरोटी, यातायात, सञ्चार, मनोरञ्जनको व्यवस्थापन वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र गर्न सक्छ ।

लुटतन्त्रका कारण युवा शक्ति विदेशको गल्लीगल्लीमा भाँैतारिनु पर्दैन र आफ्नो देशमा उधोगधन्दा, कलकारखाना निर्माण गरी गरिबीको अन्त्य गरिनेछ भने गरिब र धनी, उच्च र निच, जातजाति भनी छुवाछूत र भेदभावको अन्त्य हुनेछ । महिलामाथि हिंसा, बलात्कार, विलासको साधन बनाउने दलाल संसदीय व्यवस्था हो । मानव जातिको श्रेष्ठ विचारका आधारमा वैज्ञानिक समाजवादी व्यवस्था नै हो । विभिन्न समय र परिस्थितिमा जनतालाई कालोबजारी, अत्यावश्यक वस्तु चामल, दाल, तरकारी, ग्याँस, यातायातका साधन, कृत्रिम अभाव उत्पन्न गरी चौबर मूल्य लिएर जनतालाई लुट्ने दलाल संसदीय व्यवस्था हो । यो सरकारको सुखी नेपाली, समृद्ध नेपाल, भोकै कोही मर्नु पर्दैन, कोही भोकै बस्नु पर्दैन भन्ने नारा हात्तीका देखाउने दाँत मात्रै हो । जनता १० रूपैयाँको जीवनजल र ५ रूपैयाँको सिटामोल खान नपाई डिप्रेसन भएर आत्महत्या गर्न बाध्य छन् । विश्वमा नै कोरोना भाइरसको महामारीमा जनता छन् । हात धुने पानी, साबुन, सेनिटाइजर, समयमा कोरोना भाइरस जाँच्ने मेसिनको अभावमा मृत्युपछि कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउने गरेको छ । क्वारेन्टाइन, आइसोलेसन वार्डको अभाव छ । दीर्घ रोगी, बाढीपहिरो पीडित, सवारीसाधन दुर्घटनाका बिरामीलाई अस्पतालमा राख्ने ठाउँको अभाव छ । दैनिक उपचार गर्नुपर्ने सुत्केरी महिला, वृद्धवृद्धा, अपाङ्गता भएकाहरूको उपचार गर्ने क्षमता यो सरकारसँग छैन । तेस्रो विश्वयुद्धका रूपमा जनतामा महामारीका रुपमा फैलिएको कोभिड १९ रोकथाम गर्न दलाल पुँजीवादी व्यवस्थाले नसक्ने प्रमाणित भइसकेको छ किनकि चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस अमेरिका, बेलायत, ब्राजिल, भारतलगायत पुँजीवादी देशहरूमा समेत औषधिउपचार र नियन्त्रणबाहिर छ । चीन, उत्तरकोरिया, भियतनाम, क्युबालगायत समाजवादी व्यवस्था आएका र भएका देशहरूले कोरोना भाइरस नियन्त्रण गरेका छन् । यी सारा समस्याको हल तेस्रो विश्वयुद्धको महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम वैज्ञानिक समाज र साम्यवादी व्यवस्थामा मात्रै सम्भव छ ।

१८ औँ दोरम्बा हत्याकाण्ड वीरताको गाथा बोकेको छ । सहिद, बेपत्ता, घाइते, अपाङ्ग, जेल, हिरासत, यातनाको मर्म र भावना, एकीकृत जनक्रान्तिको कार्यदिशामा छ । मालेमावादी सिद्धान्त, विचारमा सर्वश्रेष्ठ व्यवस्थाका लागि दोरम्बाका सहिदलगायत सम्पूर्ण दसबर्से जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदहरूको सपना अधुरो क्रान्तिको कार्यभार पूरा गर्न क. विप्लवले नेतृत्व गरेको नेकपासँग मात्रै छ । सहिद, बेपत्ता, घाइते, अपाङ्ग, झूटो मुद्दा खेप्नेहरूको सपना पूरा गर्न हाम्रो पार्टी नेकपा प्रतिबद्ध छ । प्रतिबन्ध र अप्ठ्यारो चुनौतीको सामना गर्नेछौँ तर यो संसदीय व्यवस्थासामु आत्मसमर्पण गर्नेछैनौँ । दसौँ हजार सहिदको सपना पूरा गर्नेछौँ । दोरम्बाका महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै क्रान्तिकारी लालसलाम व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :