नेकपाले मनायो १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रामेछापले १८ औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस रामेछापमा सहिद परिवार र जनसमुदायका बीचमा भव्य रूपमा मनाएको छ ।

सहिद परिवार जिल्ला समिति सदस्य तथा खाँडादेवी गापा सेक्रेटरी ज्वालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी विवेकले गरेका थिए भने तामाङ मुक्ति मोर्चा खाँडादेवी गापाका संयोजक गगलाल तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा ताम्सालिङ ब्युरो सदस्य तथा पार्टीका रामेछाप जिल्ला इन्चार्ज चैतन्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य राजनीतिक दलका नेताहरूले पनि आआफ्नो मन्तव्य राखेका थिए ।

प्रमुख अतिथि रहेका जिल्ला इन्चार्ज चैतन्यले आफ्नो मन्तव्यका क्रममा जनयुद्धको नेतृत्व गर्ने नेताहरू आत्मसमर्पण गरेर अहिलेको दलाल संसदीय व्यवस्थामा सहिदको नाम बेचेर व्यक्तिगत स्वार्थ पूरा गरिरहेको बताए । उनले आफ्नो पार्टीले त्यस्ता गद्दारहरूमाथि सैद्धान्तिक, वैचारिक हतियारद्वारा नाङ्गेझार गर्दै नेपाली जनताको सुनौलो भविष्य सुनिश्चित गर्ने, बरु सहिद बन्न तयार हुने तर जनताप्रति गद्दारी नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानीय कलाकारले बेजोड सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी कार्यक्रमलाई वैचारिक रौनक प्रदान गरेका थिए ।

युवा सङ्गठनका तर्फबाट मन्तव्य राख्दै सफलले महान् सहिदहरूको सपना पूरा गर्ने, देशलाई कायापलट बनाउने जिम्मा अब युवाको काँधमा आएको र कुहिएको दलाल संसदीय व्यवस्थालाई ध्वस्त बनाई एककाईसौँ शताब्दीको नवीन व्यवस्था वैज्ञानिक समाजवाद स्थापना गर्न युवाको अहम् भूमिका रहनुपर्नेमा जोड दिएका थिए ।

२०६० सालमा शाही सरकार र जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) बीच दाङको हापुरेमा वार्ता भइरहेको समयमा शाहीसेनाका मेजर राममणि पोखरेलको नेतृत्वमा रामेछापको दोरम्बामा बसिरहेका २१ जना माओवादी नेता–कार्यकर्ताको नृशंस हत्या भएको दिनलाई नेकपाले दोरम्बा हत्याकाण्ड स्मृति दिवसका रूपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :