दार्जिलिङमा फेरि हिंसा भड्कियो / चीनलाई देखाएर निरंकुशता र फासिवादी शासन लाद्दै बेनर्जी सरकार

sonadaरातो खबर संवाददाता / काठमाडाैं, असार २८ :  एकजना प्रदर्शनकारीको बेवारिसे लास भेटिएपछि शनिवार दार्जिलिङमा भएको आक्रोशित भीडमाथि अर्धसैन्य बलले अन्धाधुन्ध गोली बर्षाउँदा थप तीन जना भारतीय नागरिकको मृत्यु भएको छ । नेपाली भाषीहरूले भारतीय गृहमन्त्री निवासमा ज्ञापनपत्र दिन अगाडि बढेका प्रदर्शनकारीलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ । तृणमूल कार्यालयबाट मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङको आन्दोलन विदेशीले उक्साएको भन्दै थप दमन गर्ने संकेत गरेकी छन् । भारतमा हरेक स्वतन्त्रता र न्यायपूर्ण आवाजलाई चीन या पाकिस्तानले उक्साएको भन्दै दमन गर्ने परम्परा बस्दै आएको छ ।

शनिबार लेप्चा रुलर डेभलभमेन्ट बैंकको कार्यालयमा आगजनी भएको छ । सिंहमारीमा भएको गोलाबारीमा स्थानीय समिर गुरुङको ज्यान गएको छ । सोनादामा टासी भुटिया र दार्जिलिङमा अर्को एकजना गरी ३ जनाको मृत्यु भइसकेको छ । कलकत्ता उच्च अदालतले दार्जिलिङको विद्रोह साम्य पार्न केन्द्र सरकार मौन बसेको भन्दै आलोचना गरेको छ । सोनादामा प्रदर्शनकारीले प्रहरी वाहन तोडफोड गरेका छन् । केही दिन यता पहाडको विद्रोहको धक्का सिलगुढी, डुबर्स, जलपाइगुडी लगायतका तराईमा पनि परेको छ । ती क्षेत्रमा पनि तोडफोड र उग्र प्रदर्शनहरू भएका छन् । जातीय हिंसा नहोस् भनेर शनिबार सिलगुढीमा ‘गोर्खा पिस फोरम तराई’ गठन गरिएको छ । संगठनका प्रवक्ता शक्ति शर्माले प्रशासन र सबै राजनीतिक दल तथा संस्थाहरूलाई सामाजिक सहिष्णुता कायम राख्न अपील गर्ने भएका छन् ।

दार्जिलिङको आन्दोलनलाई लिएर भारतमा अन्तर्राष्ट्रिय द्वन्द्व देखापरेको छ । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले गोर्खाल्याण्ड आन्दोलनलाई समर्थन गरेका छन् भने त्रिमूल कांग्रेसले हस्तक्षेप गरेको आरोप लगाएको छ । उता सुभाष घिसिङको नेतृत्वमा भएको गोर्खा ल्याण्ड आन्दोलनको विरोध गरेको भाकपाले सत्ता बाहिर रहेको समयमा भएको त्यही आन्दोलनलाई अहिले भने समर्थन गरेको छ । माक्र्सवादी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता केबी बातरले गोर्खाल्याण्ड आन्दोलनलाई खुला समर्थन गरेका हुन् । त्यसैगरी शनिवार तारखोलादेखि रम्फुसम्म आन्दोलनकारीले पदयात्रा गरेका छन् । पदयात्रामा युवा पुस्ता र विद्यार्थीहरूको ठूलो उपस्थिति थियो ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले आन्दोलनकारी दलहरूलाई आइतबार वार्तामा बस्न आह्वान गरिन् तर आन्दोलनकारीहरूले माग पूरा नभएसम्म वार्तामा बस्न अस्वीकार गरेका छन् । दार्जिलिङमा भएको विद्रोहले व्यापक ध्रुवीकरणको संकेत गरेको छ । ममता पार्टीका कालेबुङ अध्यक्ष पासाङ तामाङले सो पार्टीबाट राजिनामा दिएर आन्दोलनमा सहभागी हुने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :