गोरख पुनको कथित अपहरण घटना छानबिन गर्दै नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमले आठबिसकोट नगरपालिका वडा नं ३ खदीबाट सिस्ने हिमाल बिल्डस निर्माण कम्पनीमा काम गर्ने सन्देश भनेर चिनिने गोरख पुनको अपहरणको विषयमा नेपाल कम्युनिस्ट पार्टीको नाम जोडेर प्रचारप्रसार गरिएको भन्दै त्यसो नगर्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । उक्त घटनामा आफ्नो पार्टीको कुनै पनि सहभागिता र संलग्नता नरहेको स्पष्ट पार्दै जिल्ला पार्टीका सेक्रेटरी मञ्जितले जारी गरेको विज्ञप्तिमा पार्टीले पनि त्यस विषयमा सत्यतथ्य छानबिन गरिरहेको जनाइएको छ ।

सेक्रेटरी मञ्जितको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी इतिहासले अधुरै छाडेका क्रान्तिका ऐतिहासिक कार्यभारलाई पूर्णता दिन त्याग, समर्पण र बलिदान गर्दै राष्ट्रिय स्वाधीनता, पूर्ण शान्ति, समानता र समृद्धि प्राप्तिका निम्ति वैज्ञानिक समाजवादी राज्य व्यवस्था अपरिहार्य रहेको निष्कर्षसहित नेपाली विशेषतामा आधारित, मौलिक, व्यावहारिक, वस्तुनिष्ठ, वैज्ञानिक, समयानुकूल तथा विकसित दुनियाँ सुहाउँदो एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास गरी अनवरत रूपमा वर्गसङ्घर्षको यात्रामा अगाडि बढिरहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अर्कोतर्फ सामाजिक दलाल फासिवादी केपी–पीकेको अनैतिक गठजोडको भ्रष्ट, जनविरोधी तथा पूर्ण असफल सरकार र उनीहरूको पालन पोषण र संरक्षणमा रहेका दलाल, भ्रष्ट, तस्कर, माफिया, जनविरोधी, राष्ट्रघातीहरू जनताको परिवर्तनकारी चाहनालाई निस्तेज पार्न र आराम, विलासी र वैभवपूर्ण लुटको जीवनलाई कायमै राख्न क्रान्तिकारी पार्टी र पार्टीका नेता–कार्यकर्ताहरूको बदनाम गर्न विभिन्न जालझेल र षड्यन्त्रका चक्रव्यूहहरू रच्दै जनतालाई भ्रमित पार्न खोजिरहेको विषय घामझैँ छर्लङ्ग छ ।’

घटनासँग सम्बन्धित विषय उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा आठबिसकोट नगरपालिका वडा नं ३ खदीबाट सिस्ने हिमाल बिल्डस निर्माण कम्पनीमा काम गर्ने सन्देश भनेर चिनिने गोरख पुनको अपहरण भएको भन्ने विषयलाई हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीसँग जोडेर प्रचारप्रसार गर्न तथा पार्टीको बदनाम गर्न खोजिएको प्रति हाम्रो पार्टीको विशेष ध्यानाकर्षण भएको छ । उक्त घटनामा हाम्रो जनप्रिय पार्टीको कुनै पनि सहभागिता र संलग्नता नरहेको आमजनसमुदायलाई यसै विज्ञप्तिमार्फत स्पष्ट पार्दछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘साथै सम्बन्धित निकायलाई सत्यतथ्य छानबिन गर्न, गोरख पुनको अवस्था सार्वजनिक गर्न र दोषीउपर कारबाही गर्न अनुरोध गर्दछाैँ र हाम्रो पार्टीसमेत उक्त घटनाको छानबिन गरिरहेकाले छिट्टै जनताको माझमा सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । जनताको जिउ र सम्पत्तिको रक्षार्थ सङ्घर्ष गरिरहेको क्रान्तिकारी पार्टीको जनप्रियताबाट अत्तालिएर पार्टीका विरुद्ध बिनाकुनै आधार यसप्रकारका तथ्यहीन, अनर्गल तथा प्रायोजित प्रचार नगर्न सरकारी जत्थालाई चेतावनीपूर्ण अनुरोध गर्दछौँ । युगीन आवश्यकता र जनताको उत्कट अभिलाशाको व्यवस्था वैज्ञानिक समाजवादको यात्रामा अवरोध गर्ने सबै षड्यन्त्रको हिसाबकिताब सङ्घर्षको मैदानमा अनिवार्य हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :