बस्तीमा बाढी पसेपछि कैलाली–कञ्चनपुरका हजारौँ परिवार विस्थापित


काठमाडौँ : अविरल वर्षापछि आएको बाढीले कैलाली र कञ्चनपुरमा हजारौँ परिवार विस्थापित भएका छन् । सोमबारदेखि निरन्तर भएको वर्षाले कैलालीका विभिन्न खोला र नदीमा बाढी आएपछि ती क्षेत्र डुबानमा परेर हजारौँ परिवार विस्थापित हुन पुगेका हुन् ।

बाढीले बगाएर भजनी नगरपालिका ८ का तीनजना बेपत्ता भएका छन् । मोहना, कान्ध्रा, पथरिया र कर्णालीमा आएको बाढीले भजनी, टीकापुर नगरपालिका, जोशीपुर, जानकी, बर्दगोरिया र कैलारी गाउँपालिकाका दर्जनौँ बस्ती जलमग्न भएका छन् ।

कैलालीको जमरा कुलोमा पानीको सतह बढेर बस्तीमा पसेपछि टीकापुर बजार क्षेत्र, शिवनगर, चमेलीपुर र विजयनगरमा करिब डेढ सय घर भत्किएका छन् ।  काँचो माटो र ब्लकले बनाइएका घरका भित्ता ढलेपछि घर भत्किएका हुन्  ।

यस्तै महाकालीमा पानीको सतहले खतराको स्तर पार गरेको छ । महाकालीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बस्तीहरू जोखिम बढेको छ । कैलाली र कञ्चनपुरमा निरन्तर वर्षा भइरहेकाले अन्य धेरै ठाउँ पनि डुबानमा पर्नसक्ने र जीउधनको क्षति हुनसक्ने चेतावनी प्रशासनले दिएको छ । बाढीबाट विस्थापित भएकाहरूमध्ये केहीलाई अस्थायी ठाउँहरूमा लगेर व्यवस्थापन गरिए पनि धेरै परिवार समस्यामा परेका छन् । बासस्थान छोडेर हिँड्नुपर्दा वृद्धवृद्धा, सुत्केरी र बालबालिका समस्यामा परेको, लामो समय अस्थायी बासस्थानमा रहँदा बिरामी पर्नसक्ने र कोरोनाको पनि जोखिम हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :