बन मन्त्रालयमा पञ्चायती भूत

शव नबुझी फर्के मृतकका परिवार

काठमाडौँ : साउन १ गते चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको बुटक दल गणका सैनिकको यातनाको कारण राप्ती २ (साबिक पिप्ले गाविस), मिलनटोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको छ भने साउन ४ गते चितवनकै माडी नपा, कुसुमखोलामा सेना र निकुञ्जका कर्मचारीले हात्ती लगाएर घर भत्काउने, धनमाल नष्ट गर्ने र आगजनीसमेत गरेका छन् । राप्तीका राजकुमारको मृत्यु र उनका अन्य साथीहरूको शरीरमा नाङ्गो आखाले हेर्दा नै निलडाम देखिन्छ । मृतक २४ वर्षीय चेपाङको फोरेन्सिक जाँच गर्न आइतबार शव काठमाडौँ लगिएको छ र घा–जाँच प्रतिवेदन (पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्न आलटाल गरिएको भन्दै मृतकका आफन्तहरू घर फर्किएका छन् जसका कारण राजकुमारको अन्तिम संस्कार हुनसकेको छैन । दुवै घटनामा सेनाका अधिकारीहरूले धम्कीपूर्ण र दम्भपूर्ण अभिव्यक्ति दिएका छन् ।

संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलको अध्यक्षतामा बसेको बैठकले दुवै घटनालाई मानवताविरोधी कार्य भनेको छ । तर बनमन्त्री शक्ति बस्नेतले समितिको बैठकमा निर्लज्जतापूर्वक घर नभएर केही मचान मात्र जलाइएको, मान्छे नबस्ने गोठ मात्र भत्काइएको, घर र खाद्य सामग्री तथा अन्य उपभोग्य सामग्री नजलाइएको र त्यससम्बन्धी तस्बिरहरू नक्कली भएको बताएका छन् । मन्त्री बस्नेतको बयानले मन्त्रालय र निकुञ्ज तथा सेनाले सुनियोजित रूपमा घटना गराएको देखिन्छ ।

शक्ति बस्नेत आफैँ अनैतिक र भ्रष्ट क्यक्ति हुन् । गण्डक ब्युरोमा महिलाहरूले उनी उपस्थित बैठक नै बहिष्कार गरेका थिए । शान्तिप्रक्रियामा मन्त्री तथा प्रचण्डको कार्यालय सञ्चालन गरिरहेको अवस्थामा कमिसनको झगडाका कारण उनीमाथि गोली प्रहार भएको थियो । त्यसप्रकारको भ्रष्ट र अनैतिक व्यक्तिलाई मन्त्री बनाएपछि अरू के नै आशा गर्न सकिन्छ ? सांसद गोमा देवकोटाले २०३२/३३ सालतिर पञ्चायती व्यवस्थाले गरेको ज्यादती सम्झाएको र गरिबको गणतन्त्र अझै नआएको समितिको बैठकमा बताइन् ।

प्रचण्डलाई चुनाव हराउन यस्ता कदम लगातार भइरहेको भन्दै प्रचण्ड पक्षले आक्रोश पोखेको छ । मन्त्री बस्नेतको कारबाहीको लागि चर्को दबाब आइरहेको बताइन्छ ।

चितवनका सुकुमबासीविरुद्ध भएको मानवताविरुद्धको अपराधका दोषीमाथि कारबाहीको माग गर्दै चितवन आन्दोलित भएको छ । सोमबार माडीका सुकुमबासीहरूले वसन्तपुर बजारमा दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दै विरोध जुलुस र सभा गरेका छन । मङ्गलबार ११ बजे पनि माडीमा सोही प्रकृतिको विरोध प्रदर्शन भएको छ । जुलुसमा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको छ ।

उता बाँदरझुल्लामा पनि सरकारविरुद्ध प्रदर्शन भएका छन् । यसैबीच अदालतमा सोमबार माडीको कुसुमखोला र पिप्ले, मिलनटोलमा राजकुमार चेपाङको हत्यारालाई फौजदारी कसुरअन्तर्गत मुद्दा चलाउन रिट दायर भएको छ । त्यसैगरी संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिले वैकल्पिक व्यवस्था नगरी कुसुमबासीलाई थातथलोबाट बलजफ्ती विस्थापित नगर्न निर्देशन गरेको छ । स्मरणीय छ, आजभन्दा १० वर्षअघि पनि निकुञ्जको सेनाले स्याउला काटेको आरोपमा हत्या स्थानीयको गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :