देशको अवस्था झनै सङ्कटग्रस्त

रातो खबर साप्ताहिकको प्रकाशन कोरोना भाइरसको महामारी र महासङ्कटका कारण गत चैतको दोस्रो साताबाट अवरुद्ध भएको थियो तर पनि हामीले हाम्रा विचार र समाचारहरूलाई ईरातोखबरडटकम (www.eratokhabar.com) अनलाइन संस्करण, रातो खबरको सहप्रकाशन दृष्टिकोण निर्माण मासिकलगायत माध्यमबाट निरन्तर प्रवाह गरिरह्यौँ । केपी वली सरकारले कोरोना महामारी बढिरहेकै अवस्थामा बिनातयारी अप्रत्याशित रूपमा लकडाउन खोल्ने निर्णय गरेपछि जोखिमका बीचमै पनि हामीले रातो खबर साप्ताहिकको प्रकाशनलाई पुनः निरन्तरता दिएका छौँ । पत्रिका पढेर मात्र धित मर्ने बानी परिसकेका पाठकहरूलाई अब यसले ठूलो राहत दिनेमा हामी विश्वस्त छौँ ।

कोरोना महामारीले विश्वलाई नै गाँजेको छ र देशभित्रै ४५ जना र देशबाहिर एक सयभन्दा बढी नेपालीलाई पनि यसले निलिसकेको छ । नेकपाले राज्यको क्रूर दमनका बीचमा पनि आफ्ना आक्रामक कारबाहीहरू रोकेर जनतालाई कोरोना महामारीको सङ्कटबाट बचाउन आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई निर्देशन दिएको थियो तर सरकारको फासिवादी हर्कत यो महासङ्कटको समयमा पनि रोकिएन । सरकारले जनताको सेवा–सुरक्षा गरिरहेका नेता–कार्यकर्तालाई मात्र होइन, बिरामी छोरालाई औषधी लिन गएको बाबुदेखि बिरामी भेट्न गएका नेता– कार्यकर्तासम्मलाई संवेदनाविहीन ढङ्गले लखेटी–लखेटी गिरफ्तार गर्यो र झूट्टा मुद्दा लगाउने षड्यन्त्र गर्यो । देशमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या अझ विकराल बन्दै गएको छ । तर सरकारका मन्त्रीहरू कोरोना त्रासमा तड्पिरहेका जनताको स्वास्थ्य परीक्षणका लागि खरिद गरिने स्वास्थ्य सामग्रीमा समेत घोटाला र भ्रष्टाचार गर्न तल्लीन रहे । सरकारमा आबद्ध मान्छेहरू जनस्वास्थ्यका सामग्रीमा अर्बौंको भ्रष्टाचारमा तल्लीन मात्रै रहेनन्, मुलुक कोरोना त्रास, महामारी, बाढीपहिरो र डुबानबाट दैनिक सङ्कटग्रस्त बनिरहेको अवस्थामा जनताको सेवा, उद्धार र जनचेतना अभिवृद्धिमा तल्लीन नेकपाका नेता–कार्यकर्तालाई गिरफ्तार गर्ने, झूट्टा मुद्दामा फसाउने, हिरासत र जेलमा सडाउने षड्यन्त्र र प्रपञ्चमा लागिरहे । कम्युनिस्टको खोल ओढेर वास्तविक कम्युनिस्ट र क्रान्तिकारीहरूलाई दबाउन सरकार न्वारानदेखिको बल लगाएर लागिरह्यो । राष्ट्रघात, भ्रष्टाचार र अपराधका पोलहरू खुल्ने डरले वली सरकारले सत्य बोल्ने र जनताको न्यायका लागि अहोरात्र खट्ने क्रान्तिकारीहरूमाथि दमनचक्र चलाइरह्यो ।

यसबीचमा मुलुकलाई साम्राज्यवादी सैनिक परेड खेल्ने अखडा बनाउने उद्देश्यसहित ल्याइएको राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीका विरुद्ध देश जुरुक्क उठ्यो तर पनि वली सरकार यसलाई पारित गराएरै छोड्ने कुटिल चालमा लागिरहेकै छ । भारतीय साम्राज्यवादले छ दशकभन्दा लामो समयदेखि अतिक्रमण गरेका नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरासमेत समेटेर नक्सा जारी गरेपछि र लिपुलेकमा सडक नै निर्माण गरेपछि नेपाली जनता फेरिए एकपल्ट राष्ट्रियता रक्षाका लागि एक भएर जुर्मुराए । वली सरकार जनदबाबका कारण सदनबाट कालापानी क्षेत्र समेटिएको नक्सा पारित गर्न त बाध्य भयो तर नेपाली भूमि फिर्ता ल्याउने प्रक्रिया सुरु नगरेर फेरि साम्राज्यवादकै मुख ताकेर बसिरहेको छ । पछिल्लो समयमा भारत सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरामा नेपालीहरूको आवतजावत हुन लागेको भन्दै त्यस क्षेत्रमा प्रवेशमै प्रतिबन्ध लगाएको छ तर वली सरकार मुखमा बुजो कोचेर बसेको छ । साम्राज्यवादद्वारा कब्जा गरिएको नेपालको भूमि फिर्ता गराउने सन्दर्भमा भारतसँग सीधै कुरा गर्न र विषयलाई अन्तर्राष्ट्रियकरण गर्न मानिरहेको छैन । राष्ट्रियताको रक्षा केवल देशभक्त नेपाली जनता, क्रान्तिकारी शक्ति र विशेषगरी विद्रोही नेपाल कम्युनिस्ट पार्टीको आन्दोलनको बलमा अडिएको अवस्था छ । यस्तो अवस्थामा पनि वली सरकार देश र जनतालाई निकास दिनुभन्दा क्रान्तिकारीहरूमाथि दमन, भ्रष्टाचार र षड्यन्त्रमै तल्लीन छ । यो खेद र निन्दाको मात्र होइन, प्रतिकार र प्रतिरोधको विषय बनेको छ । हुँदाहुँदा चेपाङलगायत सुकुमबासी बस्ती आगो, सैनिक र हात्ती लगाएर उजाड पार्नमा तल्लीन रहेको वली सरकार दैनन्दिन समाप्तिको घडीको प्रतीक्षा गरिरहेको छ ।

सरकार नाउँको झुण्ड आफ्ना अनैतिक हर्कतहरूका कारण भित्रभित्रै त फतक्कै कुहिसकेकै थियो, सरकारी पार्टीले पार्टीभित्रको शक्तिसङ्घर्षको किचलो, गुटबन्दी र हिलो छ्यापाछ्याप बाहिर छ्याङ्गै देखिने र लाजै लाग्ने गरी उदाङ्गो पारेर आफ्नो असली प्रतिक्रियावादी चरित्र पनि छ्याङ्गै पारिदियो । वलीका हर्कतहरू उनकै पार्टीका अन्य सहकर्मीहरूलाईसमेत चित्त बुझिरहेको देखिँदैन । वली आजीवनका लागि जनमत पाएझैँ विद्रोही शक्ति र जनतामाथि मात्र होइन, पार्टीभित्रकै असन्तुष्ट र विरोधीहरूलाई समेत तह लगाउने ध्याउन्नमा मग्न छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याले देश जलिरहेको छ, प्रधानमन्त्री वली भने निरोझैँ बाँसुरी बजाउन र महाभारतका खलपात्र शकुनीझैँ षड्यन्त्र गर्नमै तल्लीन छन् । यसको अस्थायी समाधान केपी वलीको सरकारको पतन र दीर्घकालीन र अचुक औषधी दलाल संसदीय व्यवस्थाको अन्त्य तथावैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हो । यसका लागि जनविद्रोह र जनक्रान्तिमा लामबद्ध हुनुको विकल्प छैन ।सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :