गिरफ्तारीको विरोधमा नेपाल बन्द

bondh
मंगलबार पोखरामा बन्दको असर, फोटो : भीम चापागाईं

अम्बिका चन्द / काठमाडौं, असार २८  :  बिनाकारण आफ्ना नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरी हिरासतमा राखेको भन्दै आह्वान गरिएको एक दिने नेपालबन्द सफल भएको नेकपाले जनाएको छ । केन्द्रीय सदस्य एवं मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’सहितका नेता कार्यकर्ताहरूलाई पक्राउ गरी लामो समयसम्म बन्दी बनाएको विरोधमा नेकपाले एक दिने नेपाल बन्दको आह्वान गरेको हो । बन्दको दिन दिनभरी देशका मुख्य–मुख्य शहरहरू बन्द रहेका छन् भने उद्योग धन्दा कलकारखाना र शिक्षण संस्थाहरू पनि बन्द रहेका छन् । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधनहरू चलेका छैनन् । विराटनगर, धरान, धनकुटा, इटहरी, विर्तामोड, दमक, जनकपुर, हेटाैंडा, विरगंज, नारायणगढलगायतका शहरहरूमा बन्दको प्रभाव परेको छ । यस्तै पोखरा, बुटवल, दाङ, नेपालगन्ज, धनगढी र महेन्द्रनगरलगायतका ठूला शहरहरूमा बन्दको अत्यधिक प्रभाव परेको छ । यता उपत्यकामा बन्दको प्रभाव कम परे पनि देशव्यापी रुपमा बन्दको प्रभाव अत्यधिक परेको खबरहरू प्राप्त भएका छन् । बन्द अवज्ञा गरेको भन्दै बन्दकर्ताहरूले चितवनको पोखरा बसपार्क, टाँडी, पर्सालगायत विभिन्न ठाउँमा गरी ६ वटा सवारी साधनमाथि तोडफोड गरिदिएका छन् ।

बन्दको दिन ठाउँ–ठाउँमा बम विष्फोट

बन्दको दिन देशका विभिन्न ठाउँहरूमा बम विष्फोट भएको समाचार छ । रुपन्देहीको बुटवल मिलनचोकमा बिहानै बम विष्फोट भएको छ । यस्तै पाल्पाको रामपुर र तानसेनमा पनि बिहानै शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको बताइएको छ । यस्तै नवलपरासीको दुई स्थानमा पनि बम विष्फोट भएको खबर छ । बम विष्फोट भएका स्थानहरूमा व्यापक रुपमा प्रहरी पहिचान गरिएको थियो । उता पोखराको पृथ्वीचोकमा बम भेटिएपछि त्यस क्षेत्रलाई प्रहरीले घेरा हालेको थियो । यसैबीच बन्दको अवज्ञा गरेकोले सिराहाको बगाहामा एउटा मालवाहक ट्रकलाई बन्दकर्ताहरुले जलाएर ध्वस्त बनाइदिएका छन् ।

केन्द्रीय सदस्यसहित देशभरिबाट दर्जनौं गिरफ्तार

यसैबीच बन्दको दिन नेकपाका केन्द्रीय सदस्य मकर गुरुङलाई काठमाडौंबाट गिरफ्तार गरेको छ । गुरुङसगै रहेका गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगरलाई पनि पक्राउ गरेको छ । यस्तै सम्पर्क मञ्चकै उपाध्यक्षहरू सुरेश अधिकारी, उद्धव पौडेल, महासचिव हिरा शाही, सचिवहरू पूर्ण श्रेष्ठ, दुर्गा अधिकारी, काेषाध्याक्ष अर्जुन कटुवाल केन्द्रीय सदस्यहरू करणसिंह वडाल, पदम मगर, हरि श्रेष्ठ, सुशील बलम्पाकी, राजु कार्की, परमेश्वर जोशी, प्रदिप फुयाल, ज्ञानबहादुर खड्का, विक्रम पौडेललाई पनि काठमाडौंको भृकुटीमण्डपबाट प्रहरीले गिरफ्तार गरेको छ । यस्तै सम्पर्क मञ्चकै सदस्यहरू टीकाराम चौधरी, दानबहादुर कुमाल,  र निरज सुवेदीलाई पनि काठमाडौंको बागबजारदेखि गिरफ्तार गरिएको छ । यसैबीच गणतान्त्रिक सम्पर्क मञ्चका रामेछाप जिल्ला संयोजक जीवन बडुवाललाई पक्राउ गरेको छ ।
काठमाडौंको कलंकीबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पूर्णबहादुर सिंहलगायत विद्यार्थी नेता कार्यकर्ताहरूलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । अध्यक्ष सिंहसँगै क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लोकेश विश्वकर्मा, भीष्मकुमार शाही र टंक जोशीलाई पनि गिरफ्तार गरिएको छ । यस्तै, केन्द्रीय सदस्यहरू गोरखबहादुर शाही, नवीन उपाध्याय, गणतान्त्रिक खेलकूद महासंघका पुरुषोत्तम बुढाथोकी, अखिल क्रान्तिकारीकै प्रज्वल शाही, प्रकाश कठायतलाई पनि पक्राउ गरिएको छ । काठमाडौंको नैकापबाट दीपक बानियाँ र विकास लामालाई पनि प्रहरीले पक्राउ गरेको छ । यस्तै, नेकपा निकट सुकुमबासी संगठनका केन्द्रीय उपाध्यक्ष मिनराज गिरीलाई कैलालीबाट गिरफ्तार गरेको छ । यसैबीच पाँचथरको राँकेबाट किरण राईलाई पनि पक्राउ गरेको छ । यस्तै दार्चुलाबाट अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बादशाह, उपाध्यक्ष ध्वनि धामी र महेश नेपालीलाई पक्राउ गरेको छ । यसैबीच रुकुम घर भएका अखिल क्रान्तिकारीका जिल्ला सदस्य प्रेम बोहोरालाई दाङबाट गिरफ्तार गरेको छ ।

गिरफ्तार कमरेडहरूलाई तत्काल रिहा गर : प्रवक्ता प्रकाण्ड

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले नेपाल बन्दको दिन आफ्ना नेता–कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेकोमा विरोध गर्दै विनाशर्त रिहाइको माग गर्नुभएको छ । साथै, उहाँले जनयुद्धकालमा माओवादीलाई दमन गर्न तयार गरेको कानुन लगाएर आफना नेता कार्यकर्ताहरूमाथि गिरफ्तार र दमन गरिएको बताउनुभएको छ । प्रस्तुत छ – विज्ञप्तिको पूर्णपाठ : 
कथित स्थानीय चुनाबको वहानामा हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी जनयुद्धकालमा माओवादी जनयुद्ध दमन गर्न तयार गरेको कानुन लगाएर झुट्टा मुद्दामा फसाउने र दमन गर्न गरिएको राज्यको षड्यन्त्रका विरुद्ध आज असार २७ गते पार्टीले संघर्षको नेपाल बन्द कार्यक्रम आयोजना ग¥यो । देउवा सरकारको जनार्दन गृह प्रशासनले रातो खबर साप्ताहिक र रातो खबर अनलाईनका निर्देशक अनिल शर्मालाई आज बिहान ७ः३० बजे बागबजार पत्रिकाको कार्यालयबाट गिरफ्तार ग¥यो । जनगणतान्त्रिक मञ्चका इञ्चार्ज मकर गुरुङ, मञ्चका अध्यक्ष रत्न मगरलगायत ४ जनालाई बागबजार कार्यालयबाट गिरफ्तार ग¥यो । विद्यार्थी नेता पूर्णबहादुर सिंहलगायत दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
देउवा–प्रचण्ड मण्डलीको जनार्दन गृह प्रशासनले इतिहासलाई माथ गर्ने गरी आज बिहानै संचार जगतमाथि हमला ग¥यो । यो निरंकुशतावादी दमनको पार्टी कडा निन्दा एवं भत्र्सना गर्दछ । प्रेशमाथिको हमला तुरुन्तै रोकी गिरफ्तार अनिल शर्मालगायत सम्पूर्ण नेता कार्यकर्ताको रिहाको जोडदार माग गर्दछ ।

नेकपाद्वारा बधाई

नेकपाका प्रवक्ता खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आफ्ना नेता कार्यकर्ताहरुलाई पक्राउको बिरोधमा गरिएको बन्द सफल बनाउन सहयोग गर्ने आम जनसमुदायलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले बन्दको बेला कार्यक्षेत्रमा खटेर गिरफ्तारीसमेत दिने आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुलाई पनि धन्यवाद दिनुभएको छ । विनाकारण आफ्ना कार्यकर्ताहरुलाई पक्राउ गर्ने बन्दी बनाउने र झुट्टा मुद्दा लगाउने सरकारी रवैयाप्रति घोर भत्र्सना गर्दै यस्ता हर्कत बन्द गर्न चेतावनी पनि दिनुभएको छ । प्रवक्ता प्रकाण्डले पक्राउ गरिएका नेता कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे कडा संघर्षका कार्यक्रम सावर्जनिक गर्ने पनि घोषणा गर्नुभएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –
पार्टीले आज आयोजना गरेको नेपाल बन्द मुद्दाको राष्ट्रियकरण र कार्यक्रमको कार्यान्वयनको दृष्टिले सफल रहेको छ । उक्त सफलताको निम्ति संघर्ष र योगदान गर्ने सिङ्गो पार्टी पंक्ति एवं आम नेपाली जनतामा पार्टी आभारसहित हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
देउवा सरकारले पूर्व गिरफ्तार केन्द्रीय सदस्य क.सुमन, झापाका सेक्रेटरी क.तारा थापालगायत एक दर्जन नेता–कार्यकर्तालाई रिहा गर्नुको सट्टा आज बन्दको क्रममा पार्टी पिबिएम क.अनिल विरही, केन्द्रीय सदस्य क.मकर गुरुङ, विद्यार्थी नेता पूर्ण बहादुर सिंह, रत्न मगरलगायत देशैभरिबाट दर्जनौं कार्यकर्ताहरु गिरफ्तार गरिएको छ । उक्त गिरफ्तारी देउवा सरकारको जनाद्र्धन गृह प्रशासनको निरंकुशताको पराकाष्ठा भएको कुरा नेपाली जनतासामु उदाङ्गिएको छ । सरकारको गैरकानुनी एवं अप्रजातान्त्रिक गिरफ्तारीको पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरफ्तार गरिएका पार्टी नेता र कार्यकर्ताहरुको विना सर्त तुरुन्त रिहाको जोडदार माग गर्दछ । रिहा गरिएन र थप षड्यन्त्र गर्न सरकार उद्धत भयो भने संघर्षको कडा कार्यक्रम घोषणा गर्न पार्टी बाध्य हुने छ । त्यसको सम्पूर्ण जिम्मेवारी देउवा सरकारको जनाद्र्धन गृह प्रशासनले लिनु पर्नेछ ।

राताे खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :