तिम्रा हात र उनीहरूको झूठ – हिकमत

220px-NazimHikmetRan - Copy
नाजिम हिकमत (१५ जनवरी १९०२–३ जुन १९६३)

कविता

मौरीजस्तै
तिम्रा हातहरू
दक्ष र उद्यमशिल छन्
भोकले पीडित
बच्चाको अनुहारजस्तै
रिसाहा छन् ।

तिम्रा हातहरू दूधालु छन्
प्रकृतिजस्तै जुझारु छन्
तिम्रो खस्रो हातभित्र
मित्रताको मुलायमता छ ।

यो दुनियाँ
साँढेको सिङमा होइन
तिम्रो हातमा अडेको छ
तिम्रो हातमा नाचेको छ ।

ती सबै मान्छेहरू
जो तिम्रो हातको
श्रम शोषण गर्छन्
ती सबै झूठ बोल्छन्
ती तिम्रा हातले बनाएको
माटोको गारो जस्ता हुन्
ईंटामा टाँसे ईंटामै टाँसिने
ढुङ्गामा टाँसे ढुङ्गामै टाँसिने
यी माटाका गाराहरू
भेडी गोठालाका
पाल्तु कुकूरजस्ता मात्र हुन् ।

यी यसकारण
तिम्रो हातको बारेमा
झूठ बोल्छन्
ता कि
तिमीहरू विद्रोहबाट
चार कोस टाढा बस

यी हड्पिरहुन् मुद्राहरू–राजपाटहरू
यी यसकारण
तिम्रो हातको बारेमा झूठ बोल्छन्
ता कि
तिम्रो हातले
तिनको शोषणको साम्राज्य
धुलोपिठो नहोस्
यसर्थ
तिम्रा उद्यमशिल हातहरूका विरुद्ध
यी झूठ बोलिरहन्छन्

अनुवाद– निभा शाह

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :