माईखोलाको किनार

कविता

बुधबारे बजारमा
लिलाम बढाबढ भइरहेको छ
रोहित कोइरालाको कविता
‘हजार माइलको लामो बाटो’
लिलाम बढाबढमा देखेर
ऐँठन भएका छन् चतुर्मानहरू
र डी. कौडिन्यका कविता
मौनधारण गरिरहेका छन् ।

सिनो रुँघेर
उग्राइरहेको छ भारदारी सभा
सुखानीतिर शोकधुन बजिरहेको छ
तिमिरग्रस्त बानेश्वर
रङदारी गरिरहेको छ
र भक्कावालीहरू
उठीबास भएका छन्
माईखोलाको किनारतिर ।

तारुकाको साँढे–जुधाइ खेल
कसले सा¥यो बालुवाटारतिर ?
बालुवाटारको रमिता हेरेर
केचनाका चेपागाँडाहरू
रेस्लिङ गरिरहेका छन्
र धुम्बाराहीका चिप्लेकीराहरू
क्याब्रे डान्स गरिरहेका छन् ।

माईखोलाको फाँटमा
बाउसे गरिरहेका छन् हुँडारका बथान
बानेश्वर चोकतिर
देउडा खेलिरहेका छन् मत्ता हात्ती
र मेची बगरतिर
पुराणवाचन गरिरहेका छन् छेपाराहरू
समयको मजाक देखेर
टुँडिखेलको कुनामा
बुढो जुद्धशमशेर
खित्का छोडेर हाँसिरहेको छ ।

चक्रघट्टीतिर
अपहृत हुन्छन् गार्गीहरू
सयपत्रीका पाइलाहरू
कुल्चिन्छन् साँझ–बिहान
ईश्वरको रचना कसले ग¥यो ?
प्रश्न गर्दै नगर गार्गी
नेति–नेति जगत्पति !
भजन गाउनुपर्छ
‘रातो’ काठमाडौँसँग
शास्त्रार्थ गर्दै नगर
शिरोच्छेदन हुनुपर्ला गार्गी
ड्रोन उडिरहेको छ आकाशभरि
प्रश्न गर्दै नगर
समयको मजाक यस्तै हुन्छ
माईखोलाको किनारतिर ।

समयको मजाकविरुद्ध
फेरि एकपटक
अनशन बसेका छन् योगमायाहरू
लखन्देहीको बगरमा
लोकतन्त्रको साङ्गे गरिएको छ
र सुरु भएको छ
इतिहासको दुःखान्त यात्रा
सतीदेवीको लास बोकेर
कति गाउनु मुर्दाहरूको गीत !
माईखोलाको किनारतिर ।

माईढापको याक्सामा
निभेको छैन मुढोको आगो
पूर्वेली दिदी–बैनी
अर्थात् कन्काई र सानी माई
थाकेका छैनन्
अविरल गाइरहेका छन्
‘हजार माइलको लामो बाटो
एक पाइलाबाट सुरु हुन्छ’
यात्रा जारी नै छ
माईखोलाको किनारतिर ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :