सेती–महाकालीमा बन्दलगायत सङ्घर्ष सफल : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको सेती–महाकाली ब्युरोले साउन ६ गते बन्दलगायत ३ गतेदेखि ८ गतेसम्म घोषित सङ्घर्षका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जनाएको छ ।

सरकारले नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र महिला नेत्री पूर्णिमा धामीलाई गिरफ्तार गरेपछि नेकपाको सेती–महाकाली ब्युरोले ५ दिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको थियो जसअन्तर्गत त्यस क्षेत्रमा साउन ६ गते १ दिने सेती–मकाकाली बन्दको आह्वानसमेत गरिएको थियो । यस्तै ३ दिनसम्म त्यस क्षेत्रमा सरकारी गाडी सञ्चालनमा प्रतिबन्ध लगाइएको थियो ।

नेकपाको सेती–महाकाली ब्युरो कार्यालय सचिव छविलालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले आयोजना गरेका सङ्घर्षका कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारीसहित जनदमनकारी राज्यका विरुद्धको प्रतिरोध सङ्घर्षमा नैतिक र भौतिक समर्थन गर्ने सेती–महाकालीका सम्पूर्ण न्यायप्रेमी जनतालाई हार्दिक धन्यवाद दिएका छन् ।

पार्टी कामको सिलसिलामा रहेको बेला सरकारले आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेको भन्दै नेकपाका महासचिव विप्लवले आफ्नो पार्टी पङ्क्तिलाई आवश्यक रक्षा र प्रतिरोध गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!