लकडाउन हटेसँगै कोरोना सङ्क्रमणको जोखिम उच्च

काठमाडौँ : सरकारले १ सय २० दिन लामो लकडाउन हटाएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको देखिएको छ । कोरोना सङ्क्रमण रोकथामका लागि आवश्यक आधारहरू तयार नगरी सरकारले हचुवाका भरमा लकडाउन हटाएकाले जोखिम झनै बढेको हो । स्वास्थ्यविज्ञहरूले अब नेपालमा ठूलो स्तरमा समुदायमा कोरोना फैलिनसक्ने चेतावनी दिएका छन् ।

सरकारले लकडाउन हटाएपछि काठमाडौँमा भीडभाड बढेको छ । यसरी अनियन्त्रित भीडभाड बढिरहेको खण्डमा समुदायमा कोरोना फैलिनसक्ने र भोलि ठूलो सङ्ख्यामा समुदायमा कोरोना सङ्क्रमण हुनसक्ने खतरा बढेको विज्ञहरूले बताएका हुन् ।

विश्व स्वास्थ्य सङ्गठनले तय गरेको मापदण्ड अपनाएर मात्र लकडाउन खोल्न सकिने भए पनि नेपालमा भने कुनै आधारहरू तय नगरीकनै खोलिएका कारण समुदायमा कोरोना फैलिने खतरा बढेको हो । समुदायमा व्यापक पीसीआर परीक्षण नगरीकनै र वास्तविक तथ्याङ्क थाहा नपाउँदै लकडाउन हटाउनु सरकारको अपरिपक्व निर्णय भएको पनि जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।

लकडाउनले उत्पन्न जनताको दैनिकी निकै कष्टकर बन्दै गएपछि, जनताका सामान्य रोजीरोजीको समस्या समाधान गर्न नसकेपछि र अर्थ व्यवस्था सुधार गर्ने नाउँमा लकडाउन खोलिए पनि स्वास्थ्य मापदण्ड पालना नगरे नेपालको अवस्था वुहानको भन्दा खतरनाक हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन् । लकडाउन खुकुलो भएसँगै बुधबारबाट सहरहरूमा भीडभाड बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :