स्वास्थ्यकर्मी र उनीहरुका पीडाहरु : अम्बिका भट्टराई

ambika-bhattaraiअम्बिका भट्टराई

इतिहास हेर्दा तिब्बतमा क्रिश्चियन धर्म प्रचार गर्न आएका पादरीहरुले नेपालमा पनि आधुनिक चिकित्सा प्रणाली भित्र्याको देखिन्छ । तर वि.सं. १९४५ सालमा वीरशम्शेर जबराको नाममा वीर अस्पतालको स्थापना भएपछि आधुनिक चिकित्सा नेपालमा भित्रिएको हो । २००७ सालमा नेपाली जनताको औसत आयु २७ बर्ष थियो भने अहिले ६६ बर्ष पुगेको छ । संयुक्त राष्ट्रसंघको स्वास्थ्य क्षेत्र हेर्ने निकायको तथ्याङ्कमा नेपालको सरदर आयु २०७० सालसम्म ६८ बर्ष पुगेको छ । त्यसप्रकारको स्थिति बाल मृत्युदर र सुत्केरी आमाको मुत्युदरमा पनि सुधार भएको छ । त्यो हुनुमा चिकित्सा क्षेत्रका कर्मचारी, मजदुर र प्राविधिकहरुको पनि उत्तिकै भूमिका छ ।

अस्पतालमा चाडपर्व, थकाई, शनिबार, सरकारी बिदा, जाडोगर्मी, मनोरन्जन यात्रा केही नभनी बुढो गोरुझैँ नर्सदेखि एटेण्डसम्म निरन्तर काममा खटिएका हुन्छन् । बाहिरबाट हेर्दा उनीहरु सुकिला र खुशी पनि देखिएलान् । कतिपयलाई त्यसले सो पेशाप्रति आर्कषण पनि गराएको हुनसक्छ । तर वास्तविकता भने निकै फरक छ । नर्स तथा तल्लो तहमा काम गर्ने श्रमिक प्रशासन र प्राविधिकहरुको हृदयमा भने निकै पीडा गुम्सिएको हुन्छ ।

उनीहरुको पीडा छचल्किएर बाहिर बिष्फोट हुन खोज्दछ । तर पनि बिरामी निको पार्न र आफनो कर्तव्य पूरा गर्न मनको पीडा लुकाएर हाँस्दै उनीहरु विरामीको सेवामा खटिरहन्छन् । थोरै तलब सेवा सुविधाका कारण आउने पारिवारिक तनाव र क्षमताभन्दा बढी कामका कारण उनीहरुमा समयसमयमा चिडचिडाहट पैदा हुने गर्दछ ।

तर पनि उनीहरु मानसिक तनाव सहेर काम गरिरहेका हुन्छन् । त्यो पीडा कसले देख्ने ?
अस्पताल नामको नाफामूलक व्यावसाय चलाएर बसेका चिकित्सक र प्रशासनका व्यक्तिहरुको सोच र व्यवहार उदेकलाग्दो हुन्छ । अर्कोतिर फकेर हेर्छु– नर्स, भुई पुछ्ने सफाई मजदुर, पाले आदिको अवस्था अर्कै छ । कानुन छलेर देशको कमजोर कानुनबाट फाइदा उठाएर प्रशासनलाई प्रभावित गरेर उनीहरुले विरामीको सेवाको नाममा लुटपाट गरिरहेका हुन्छन् । अस्पताल नामका व्यापारी र फटाहाहरु देख्दा आक्रोश पैदा हुन्छ ।

आगोको मुस्लो मनमा बल्न थाल्छ । के गर्ने यो देशको कानुन राज्य र जनताको सेवा गर्ने भनेको पार्टी र जनप्रतिनिधि सबै निरीह छन्, बेसरोकार छन् । भ्रष्टाचार गर्ने, श्रमिकलाई ठग्नेहरुलाई कारबाही हुँदैन । उल्टै उनीहरुको कमीशन र भोजभतेरमा लट्ठिएर ती चुपचाप बसेका हुन्छन् ।nurse-2

नेपालका मार्वल विछ्याइएका चिल्ला र सफासुग्घर भुई भएका भव्य अस्पतालभित्र चिटिक्क परेर सेवा दिइरहेका नर्सको काम देखेर सबैलाई पारिश्रमिक आकर्षक लाग्नु स्वभाविक पनि हो तर आम मानिसलाई के थाहा ? त्यही अलिशान भवनभित्र अस्पतालको भवनभन्दा पनि ठूला पीडा र हेपाई बीच नर्सले सेवा दिइरहेकै छन् ।

यो लोभलाग्दो भवनभित्र नर्सका सुनेरै नसकिने असंख्य पीडा, दर्द, हेपाई डाक्टरहरुले नर्समाथि गर्ने दुव्र्यवहार धेरै लुकेका छन् । एउटै अस्पतालमा काम गर्ने डाक्टरहरुले आफ्नो योग्यता र क्षमता अनुसारको पारिश्रमिक पाउँछन तर बिडम्बना त्यही अस्पतालमा काम गर्ने नर्सले सित्तैमा काम गर्नुपर्छ ।

अस्पताल त डाक्टरले मात्रै चलाउने होइन नी ! त्यहाँ त नर्स एटेन्डर लगायत सबै विभागका कर्मचारी मिलेर नै अस्पताल चल्ने चलाउने हो तर कहाँ बुझ्छ प्रशासन जहाँ पनि नाफा र घाटाको मूल्य मात्र हुन्छ । बिरामीको मूल्यको उपचार हुन्छ, बिमारीको उपचार हँुदैन अस्पतालको लापरबाही, प्रशासनको लापरबाही अनि कमाउ धन्दामा मात्र लागेका डाक्टर अनि यो देश चलाउने सरकार उस्तैउस्तै छन् ।

भन्ने नै हो भने योग्यता छ, क्षमता छ, सीप छ, अनुशाशन छ, जाँगर छ, सेवामा अरुभन्दा बढि खटिएका पनि छन् तर पनि बाध्य छन् सित्तैमा काम गर्न । एउटा अस्पताल मात्र होइन हरेक अस्पतालमा यस्तै कहालीलाग्दा समस्या छन् । हरेक अस्पतालमा नर्सलाई स्वयंसेवकका नाममा श्रमको शोषण गरी अस्पतालले लुटिरहेका छन् । भन्ने नै हो भने यो सरकारकै कमजोरी हो ।

राज्यको कमजोरी ९० प्रतिशतभन्दा बढी छ । यो सरकारले किन कानुन विपरीत काम गर्न अस्पताललाई कारबाही गर्न सक्दैन ? योग्यता र सीप भएकी नर्सलाई किन स्वयंसेवकका रुपमा काममा लगाइन्छ ? जहाँ स्वयंसेवक गराउने प्रथालाई सरकारले किन रोक्न सक्दैन ? सरकार किन चुप लागेर बस्छ ? अझ भन्ने हो भने निजी अस्पतालमा आवश्यक नर्सिङ्ग जनशक्तिको दरबन्दी स्वयंसेवकका नाममा धानिरहेका छन् ।

राज्यले कारबाही गर्नैपर्छ । जबसम्म नर्सहरु एकजुट भई हातमा हात मिलाउँदैनन् तबसम्म यो शासक सरकार र अस्पताल प्रशासन यस्तै रहिरहने छ । देख्छु पनि सुन्छु पनि एउटै अस्पतालमा ७०÷८० जना नर्सहरुले सित्तैमा बर्षाैसम्म स्वयंसेवक गरिरहँदा आवाज नउठाउनु नर्सहरुको पनि कमजोरी हो ।nurse-photo

नर्सका हकहितका लागि खुलेको नेपाल नर्सिङ्ग संघ कहाँ हरायो ? यी पीडामा पिल्सिएका नर्सका आँसु पुछ्न छाडेर चुनावका बेलामा चर्का भाषण चर्का नारा लगाउने नर्सका भरौटे नेताहरु कता कुन कुनामा रोधी, तास र भट्टी चाहार्दै छन् ? किन बोल्दैनौ ? कतै निजी अस्पताल संचालन गरेर आफ्नै जुनियर नर्सहरुमाथि शोषण गरिरहेका त छैनौ ? नत्र भने यो विषयमा चुप लागेर बस्यो भने आजिवन आँसुले डुबिरहने छन्
र उनीहरुका अस्पताल हाम्रो काम र सेवाबाट लुटतन्त्र चलिरहन्छ र अस्पताल एउटा व्यापारको रुपमा शाषक वर्गलाई कमाई खानेबाटो मात्र हुन्छ । यो अन्त्य गर्न सम्पूर्ण अस्पताल कर्मचारी एकजुट हुन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :