एक सय २० दिन लामो लकडाउनको कहर


काठमाडौँ : कोरोना भाइरस महामारीका कारण ४ महिना लामो लकडाउन हटाइएको छ । लकडाउन हटाएपछि जनजीवन सामान्य हुने आशा गरिए पनि कोरोना भाइरस महामारी बढिरहेको समयमा बिनाकुनै योजना र तयरी लकडाउन हटाइएको भन्दै आलोचना पनि सुरु भएको छ । विश्वभरि र नेपालमा पनि कोरोना सङ्क्रमण बढिरहेको र जोखिम पनि बढिरहेको अवस्थामा लकडाउन खुला गरिएसँगै दीर्घरोगी, बालबालिका र वृद्धवृद्धाहरूमा जोखिम उच्च रहेको जानकारहरूको प्रतिक्रिया रहेको छ ।

लकडाउन खुला गरिएसँगै निजी सवारी साधानमा लागू गरिएको जोरबिजोर प्रणाली पनि हटाइएको छ । सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय पनि खारेज भएको छ । अब सबै सरकारी कार्यालयहरू पूर्ववत् अवस्थामा बिहान १० बजेदेखि ५ बजेसम्म चल्ने भएका छन् ।

यस्तै साउन १५ गतेबाट होटेल तथा रेस्टुरेन्टहरू खुल्ने भएका छन् भने भदौ १ गतेबाट विद्यार्थी भर्ना गर्ने प्रक्रिया सुरु हुने भएको छ । विद्यालयमा भर्ना खुले पनि कोरोनाको जोखिम नघटेका कारण विद्यालयहरू बन्द नै रहनेछन् । शिक्षण संस्था, सिनेमा हल, डान्स बार, भेला–सम्मेलनहरू, हेल्थ क्लब, ब्युटीपार्लर, धार्मिक स्थलहरू, चिडियाखानाजस्ता जमघट हुने स्थल भने बन्द नै रहनेछन् ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो । पटकपटक थप गरेर लकडाउन १२० दिन अर्थात् चार महिना पुर्याएको थियो । सरकारले लकडाउन समय पटकपटक थप गरेर लामो समय बन्द गरिराखेपछि जनजीवन कष्टकर भएको भन्दै लकडाउनको अवज्ञा सुरु गरिएपछि सरकार बिस्तारै पछि हट्न बाध्य भएको थियो । कोरोना परीक्षण र क्वारेन्टाइनहरूको व्यवस्थापनमा सरकार असफल भएको थियो । क्वारेन्टाइनहरू रोग सार्ने स्थलमा परिणत भएका थिए ।

क्वारेन्टानइनमा सामान्य झाडापखालाको औषधी नपाएर छट्पटाएर मानिसले जीवन गुमाउनु परेको, बलात्कार हुने गरेका र आत्महत्याका घटनाले सरकारको असफलता बेस्सरी झल्कियो । सरकारले कछुवा गतिमा तयारी गर्दा कोरोना भाइरसको सङ्क्रमण भने खरायोको गतिमा बढ्यो । सरकारले वितरण गरेको भनिएको राहतमा पनि वास्तवीक समस्या भएका नागरिकले नपाएको र पहँचुवालाले मात्र पाएको भन्दै सर्वत्र आलोचना भएको थियो । यस्तै पहुँच नपुग्ने नागरिकहरू स्वास्थ्य समस्या र खाद्य समस्यामा निकै पिरोलिनु परेको र पहुँचवालाहरू भने भनसुनका आधारमा पास बनाएर जताततै हिँडेको भन्दै आलोचना पनि भएको थियो ।

यस्तै कोरोना रोकथाम र नियन्त्रणका लागि राज्यकोषमा जम्मा भएको रकममध्ये दस अर्ब भ्रष्टाचार भएको भनेर नागरिकहरू स्वतस्फूर्त रूपमा सडमा निस्कने अवस्था आयो । यस्तै स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारमा स्वास्थ्यमन्त्री र स्वास्थ्य मन्त्रालयका अधिकारीहरू विवादको घेरामा तानिए ।

लकडाउन अन्त गरिएको दिनसम्म कोरोनाबाट नेपालमा जम्मा १७ हजार ९ सय ९४ सङ्क्रमित भए भने ४० जनाको ज्यान गयो । कुल सङ्क्रमितमध्ये १२ हजार ४ सय ७७ जना कोरोना जितेर घर फर्किएका छन् । कुल जनसङ्ख्याको ३ लाख २३ हजार ८ सय ३५ को कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :