बेपत्ता बनाइएका नेताहरूको अवस्था सार्वजनिक गर्न क्रान्तिकारीको माग

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सेती–महाकाली ब्युरोले सरकारले गिरफ्तार गरेका क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिंह, कैलाली जिल्ला अध्यक्ष सुवास जोशी र नेकपा कैलालीका नेता प्रकाश रावलको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।

क्रान्तिकारीका सेती–महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीलाई पत्र पठाउँदै राज्यले नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेर बेपत्ता बनाएको भन्दै मानवअधिकार आयोगको ध्यानाकर्षण गरएका हुन् ।

क्रान्तिकारीका सेती–महाकाली संयोजक शाहले आस्था र विचारका आधारमा केपी–बादल गृहप्रशासनले सत्ता र शक्तिको आडमा प्रहरी र प्रशासनको चरम दुरुपयोग गरेको भन्दै असार १३ गते साँझ ५ बजेतिर धनगढीको जुगेडाबाट गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजङ्ग सिंह, कैलाली जिल्ला अध्यक्ष सुवास जोशी र जिल्ला पार्टीका नेता प्रकाश रावललाई अदालतले रिहा गरे पनि प्रहरीले बेपत्ता पारेको बताएका छन् ।

शाहको विज्ञप्तिमा भनिएको छ, ‘अपहरण शैलीमा गिरफ्तार गरी झूट्टा मुद्दामा फसाइएको थियो । झूट्टा मुद्दामा फसाइएका साथीहरू हिजो ०७७ साउन ०५ गते अदालत र प्रशासनबाट साधारण तारेखमा रिहा गरिएका थिए। रिहा भैसकेपछि कैलाली प्रहरीले पुनः गिरफ्तार गरी कता पु¥याएको छ र कता राखिएको छ भन्ने अहिलेसम्म सार्वजनिक गरिएको वा सूचना दिइएको छैन । मौलिक हक र मानवअधिकारका सम्पूर्ण मूल्य–मान्यताहरू, अदालतले गरेको निर्णय सबैलाई लत्याउँदै कलम बोक्ने विद्यार्थी नेताहरूलाई जबर्जस्ती बन्दुक बोक्न बाध्य बनाउने राज्य र त्यसका सुरक्षा निकायको रबैया घिनलाग्दो छ जसप्रति खेद प्रकट गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘बेपत्ता पारिएका साथीहरूको यथेष्ट सूचना, नागरिकहरूको मौलिक हक र मानवअधिकारको रक्षाका लागि सम्बन्धित निकायलाई सचेत गराइदिनुहुन अनुरोध गर्दछौँ । साथै झूट्टा मुद्दामा हिरासतमा भए उहाँहरूसँग पारिवारिक भेटघाट र अन्य सहजताका लागि आवश्यक पहलकदमी गरिदिनुहुन अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :