नेकपाको सेती–महाकाली बन्दले जनजीवन पूर्ण रूपले प्रभावित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरो आह्वान गरेको बन्दका कारण आज त्यस क्षेत्रका सबै जिल्ला बन्द भएका छन् ।

नेकपाका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, महिला नेत्री पूर्णिमा धामीलगायत नेता–कार्यकर्तालाई सरकारले गिरफ्तार गरी झूट्टा मुद्दा लगाउन षड्यन्त्र गरेको विरोधमा नेकपा सेती–महाकाली ब्युरोले एकदिने बन्द र साउन ७ र ८ गते सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

नेकपाको बन्दका कारण कैलालीको धनगढीसहितका बजार बिहानैबाट बन्द छन् भने जिल्लाभित्र चल्न थालेका सवारी साधन पनि बन्द गरिएका छन् ।

यसैक्रममा बन्दको दिन बिहानैदेखि ब्युरोअन्तर्गतका जिल्लाका ठाउँठाउँमा बम फेलापरेका छन् । सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयनजिकै प्रेसर कुकर बम भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उक्त बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको समाचारमा जनाइएको छ ।

त्यसैगरी कैलालीको लम्कीचुहा नगरपालिका कार्यालय अगाडि फेलापरेको बम पनि अहिले सेनाको टोलीले निष्क्रिय पारेको जनाइएको छ ।

कोरोना महामारीका क्रममा भएको भ्रष्टाचार, लकडाउनमा पनि चर्को ब्याज असुलीका लागि धम्की दिने वित्तीय संस्थाविरुद्ध नेकपाले सङ्घर्ष गर्दै आएको छ । यसै क्रममा सेती–महाकाली ब्युरोले ब्युरो इन्चार्ज पुनलगायत नेता–कार्यकर्ताको गिरफ्तारविरुद्ध सरकारी गाडीमाथि प्रतिबन्धसहितका कार्यक्रम घोषणा गरेको छ । त्यस क्षेत्रमा ८ गतेसम्मका लागि सरकारी गाडीमाथि प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :