अविरल वर्षाले देशभरको जनजीवन प्रभावित


काठमाडौँ : देशैभर भएको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले धेरै ठूलो क्षति पुर्याएको छ ।

केही दिनदेखि लगातार भएको वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ भने चितवनको नारायणी नदीमा खतराको स्तर नाघेको छ । त्यस्तै राप्ती, बबई, महाकालीलगायत नदीहरूमा पानीको मात्रा बढिरहेको छ । वर्षासँगै आएको पहिरोले देशका विभिन्न ठाउँका ग्रामीण सडकहरू अवरुद्ध भएका छन् भने नदी तटका बस्तीहरू जोखिममा परेका छन् ।

सप्तकोसीमा आएको बाढीले खतराको स्तर पार गरेपछि पानीको बहाव थेग्न नसकेर नहर भत्किन सक्ने चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले सप्तकोसीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेको जनाएको छ । स्थानीय प्रशासनले सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान सूचना गरेको छ । यस्तै कोसी नदीमा पानीको बहाव उच्च भएपछि सप्तकोसी ब्यारेजका ५६ मध्ये ४५ ढोका खोलिएको छ । गण्डक ब्यारेजका सबै ढोका खोलिएको जनाइएको छ ।

इता, काठमाडौँ उपत्यकामा पनि बागमती र विष्णुमतीमा पनि बाढीका कारण नदीकिनारमा बसोबास गर्ने सुकुमबासीहरू समस्यामा परेका छन् । बागमतीकिनारका सुकुमबासी बस्तीभित्र पानी छिरेको छ । केही दिनदेखिको अविरल वर्षा आज पनि भैरहेको र यो प्रक्रिया अझै केही दिनसम्म नरोकिन भएकाले नदीले कटान गर्ने, पहिरो जाने, सडक र जमिन भासिने खतरा कायमै रहेको विज्ञहरूले बताएका छन् । केही दिनअघिदेखिको बाढीपहिरोमा परी १ सयजनाभन्दा बढीको ज्यान गइसकेको छ भने कयौँ अझै हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :