मालेमावादी साम्यवाद : आजका समस्याहरूको अन्तिम समाधान

‘साम्यवाद भनेको इतिहासको रहस्य समाधान हो र यसले यो समाधान हुन आफैँ जान्दछ ।’
कार्ल माक्र्स, ‘१९४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू’ प्रगति प्रकाशन मास्कोको सातौँ अङ्ग्रेजी मुद्रण १९८२, पृ. ९० ।

१) कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको नेतृत्वमा सन् १८४८ मा साम्यवादी दलको घोषणापत्र जारी गरिएको थियो । पुँजीवादको विकल्पमा वैज्ञानिक समाजवादको सङ्क्रमणकालीन व्यवस्थाबाट विश्व–साम्यवाद प्राप्त गर्ने बलियो आधार भएको रूपरेखा उहाँहरूले खिच्नुभयो । माक्र्सकै शब्दमा ‘यो साम्यवाद पूर्ण रूपले प्रकृतिवादमा विकसित भएर मानवतावादबराबर हुनेछ र पूर्ण रूपमा मानवतावाद विकसित भएर प्रकृतिवादबराबर हुनेछ ।’ (उही) ।

आदिम साम्यवाद मानवतावादबराबर प्रकृतिवाद थियो तर यो पूर्ण रूपले विकसित थिएन । आदिम साम्यवादलाई दास मालिकको समाज व्यवस्थाले नकार्यो र यो सकारमा स्थापित भयो । यसलाई पनि सामन्ती व्यवस्थाले नकार्यो र सकारमा स्थापित भयो । सामन्ती समाज व्यवस्थालाई पनि पुँजीवादले नकार्यो र यो सकारमा स्थापित भयो । यसलाई वैज्ञानिक समाजवादले नकार्नेछ र हरेक देशमा वैज्ञानिक समाजवाद विकास भइसकेपछि सुन्दर र पूर्ण रूपले मानवतावाद विकसित भएको साम्यवाद स्थापित हुनेछ । माओले भनेझैँ साम्यवादभन्दा राम्रो समाज व्यवस्था विकास भयो भने साम्यवाद पनि निषेध हुनेछ ।

दास मालिकको राज्यसत्ता ढाल्न दासहरूले, सामन्ती राजारजौटा र सम्राट्हरूको राज्यसत्ता ढाल्न किसानहरूले, पुँजीवादी राज्यसत्ता ढाल्न मजदुर, किसान र सिपाहीहरूले वर्गसङ्घर्ष र सशस्त्र सङ्घर्ष गर्नैपर्ने कुरा इतिहासको आवश्यकता बन्यो । ती सबै युगका क्रान्तिहरूमा लाखौँ–करोडौँ शोषित–उत्पीडितहरूले जीवनको आहुती दिएका थिए । पुरानो सत्ता ढालेर नयाँ सत्ता प्राप्त गर्ने हरेक वर्गले आफ्नो सत्ता टिकाउन आफ्नै अधिनायकत्व लागू गरेका थिए । त्यसकारण माक्र्स–एङ्गेल्सले पुँजीवादी राज्यसत्ता पल्टाएर वैज्ञानिक समाजवादको स्थापना गर्न वर्गसङ्घर्ष र यसको उच्चतम् स्वरूप सशस्त्र सङ्घर्ष आवश्यक हुने बताउनुभएको छ । यसका साथै किसान, मजदुर र सिपाहीहरूले वैज्ञानिक समाजवाद टिकाउन, त्यसलाई साम्यवादमा पुर्याउन वर्गविभेदको अन्त्य गर्नुपर्दछ, त्यो वर्गविभेद उत्पन्न गर्ने स्रोतका रूपमा रहेको निजी स्वामित्वको उत्पादन सम्बन्ध अन्त्य गर्नुपर्दछ, त्यो उत्पादन सम्बन्धबाट बनेको सामाजिक सम्बन्धको अन्त्य गर्नुपर्दछ र त्यो सामाजिक सम्बन्धबाट उत्पन्न विचारहरूलाई क्रान्तिकारीकरण गर्नुपर्दछ । यी चार कुरालाई बदल्ने सङ्क्रमणकालीन व्यवस्था वैज्ञानिक समाजवादमा सर्वहारावर्गको अधिनायकत्व अपरिहार्य बन्न जान्छ । यो प्रक्रियामा निजी सम्पत्तिबाट जन्मेर यहाँसम्म आइपुगेको राज्यसत्ता विलोप भएर जान्छ । यही राज्यसत्ता विलोप भएको अवस्था नै साम्यवाद हो । त्यो साम्यवाद कस्तो हुनेछ त ? एङ्गेल्स भन्नुहुन्छ, ‘जब समाजले उत्पादनका साधनमाथि अधिकार प्राप्त गर्नेछ तब माल उत्पादन समाप्त हुनेछ र त्यसका साथै उत्पादन गर्नेमाथि उत्पादनको प्रभुत्व समाप्त हुनेछ । सामाजिक उत्पादनमा अराजकताको स्थान योजनाबद्ध र सचेत सङ्गठनले ग्रहण गर्नेछ । त्यसपछि व्यक्तिहरूलाई आआफ्नो अस्तित्वका लागि सङ्घर्ष गर्नुपर्ने छैन । एउटा खास अर्थमा मानिसले पहिलोपटक बाँकी पशुजगत्बाट आफूलाई अन्तिम रूपमा अलग ग्रहण गर्नेछ र पाशविक अस्तित्वको परिस्थितिलाई छोडेर समग्र मानव अस्तित्वको परिस्थितिमा प्रवेश गर्नेछ । जीवनका ती समस्त परिस्थिति जसबाट मानिसको पर्यावरण तयार हुन्छ, जसले अहिलेसम्म मानिसमाथि शासन गर्दै आएका थिए, तिनीहरू अब मानिसको प्रभुत्व एवम् नियन्त्रण मातहत आउनेछन् र मानिस आफ्नो सामाजिक सङ्गठनको मालिक आफैँ बन्ने हुनाले पहिलोपटक प्रकृतिको वास्तविक तथा सचेतन स्वामी बन्न जान्छ । अहिलेसम्म उसको आफ्नो सामाजिक कार्यको नियम बाह्य प्राकृतिक नियमका रूपमा उसमाथि शासन गर्ने गर्थे । अब उसले स्वयम् तिनको पूर्ण समझदारीका साथ सहयोग गर्नेछ र त्यसलाई आफ्नो काबुमा ल्याउनेछ । अहिलेसम्म मासिसको आफ्नो सामाजिक सङ्गठन, प्रकृति र इतिहासद्वारा थोपरिएको एउटा अनिवार्य आवश्यकताका रूपमा मानिसको मुकाबिला गर्दथे । अब त्यो स्वयम् मानिसको स्वतन्त्र कार्यको परिणाम बन्न जानेछ । अहिलेसम्म जुन बाह्य वस्तुगत शक्तिले इतिहासमाथि शासन गर्दै आएको थियो अब त्यो स्वयम् नियन्त्रणमा आउनेछ । यही त्यो बिन्दु हो जसको अगाडि मानिस पूर्ण चेतनाका साथ आफ्नो इतिहासको आफैँ निर्माण गर्नेछ । यही त्यो बिन्दु हो जसका अगाडि मानिसले जब कुनै सामाजिक कारणलाई गतिवान् बनाउनेछ तब तिनको मुख्यतः अझ निरन्तर बढ्दै गरेको मात्रामा अभिप्रेरित परिणाम हुनेछ । यो मानिसको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ हुनेछ ।’

ड्युरिङ मतखण्डन ।

एङ्गेल्स अझ अगाडि भन्नुहुन्छ, ‘सार्विक मुक्तिको यस कार्यलाई सम्पन्न गर्नु आधुनिक सर्वहारावर्गको ऐतिहासिक कार्यभार हो । ऐतिहासिक परिस्थिति र यसप्रकार यस कार्यको स्वरूपलाई राम्रोसँग बुझ्नु तथा वर्तमान कालको उत्पीडित सर्वहारावर्गलाई इतिहासले जुन कार्य सुम्पेको छ, त्यो परिस्थिति र त्यसको अर्थको पूर्ण ज्ञान यस वर्गलाई गराउनु यही नै सर्वहारा आन्दोलनको सैद्धान्तिक अभिव्यञ्जन वैज्ञानिक समाजवादको कार्य हो ।’ उही ।

यहाँ उद्धृत पहिलो अनुच्छेदमा पुग्न वैज्ञानिक समाजवादअन्तर्गत दोस्रो उद्धरणको कार्य पूरा गर्नुपर्दछ । साम्यवाद नै मानिसको आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा छलाङ हो ।

वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने यो विश्व–दृष्टिकोण पनि माक्र्सले आविष्कार गर्नुभएको हो जसलाई हामी द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भन्दछौँ । माक्र्स र उहाँका घनिष्ठ सहयोद्धा एङ्गेल्सले यो महान् आविष्कार नगरेको भए साम्यवादसम्म पुग्ने बाटो यति सुस्पष्ट हुने थिएन । यो महान् विश्व–दृष्टिकोणको विकास गर्ने उहाँहरू त्यो आफ्नो समयसम्म विकास भएको आर्थिक आधारमा दह्रोसँग उभिनुभयो । पुँजीवादी उत्पादन प्रणालीमा शोषणको मूल रहस्य श्रमको सञ्चय गरेर अतिरिक्त मूल्य उत्पादन गर्नु हो र यसको विकल्प भनेको निजी सम्पत्तिको रक्षाका लागि विकास भएको राज्यसत्तालाई विस्थापन गरेर सामूहिक उत्पादनको सामूहिक स्वामित्व स्थापना गर्नु हो ।

अतः माक्र्स र एङ्गेल्सले दर्शनशास्त्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्रमा पुँजीवादी उत्पादन प्रणालीको निजी स्वामित्वको उत्पादन सम्बन्धलाई उल्ट्याएर सामूहिक उत्पादनको सामूहिक स्वामित्व भएको वैज्ञानिक साम्यवादको अपरिहार्यता, वैज्ञानिक साम्यवादमा वर्गसङ्घर्ष हुँदै सशस्त्र सङ्घर्षद्वारा वैज्ञानिक समाजवाद हुँदै साम्यवाद प्राप्त गर्ने सामाजिक क्रान्तिको बाटो पत्ता लगाउनुभयो । यही नै पुँजीवादी समाज, पुँजीवादी राजनीतिक अर्थशास्त्र र अधिभूतवादी आदर्शवादी दर्शनले ल्याएका समस्याहरूको सही समाधान हो ।

२) कार्ल माक्र्सको मृत्यु हुनुभन्दा १३ वर्षपहिले र एङ्गेल्सको मृत्यु हुनुभन्दा २५ वर्षपहिले रुसमा भ्यादिमिर इल्यिच उल्यानोभ ‘लेनिन’ को जन्म भएको हो । १५ वर्षकै उमेरदेखि कार्ल माक्र्सको सुप्रसिद्ध कृति ‘पुँजी’ पढ्न थालेका र १७ वर्षमै कारागारमा थुनिएका लेनिनले स्टालिन, बाबुस्किन, कालिनिनलगायत सहयोद्धाहरूसँगै आफ्नो देश र विश्वको विशिष्ट परिस्थितिमा माक्र्सवादलाई कसरी लागू गर्ने भन्ने विषयमा अनुसन्धान गर्न थाल्नुभयो । माक्र्सले भन्नुभएको थियो, ‘हाम्रो सिद्धान्त कुनै जडसूत्र होइन, बरु कार्यमा पथप्रदर्शक हो ।’ त्यसरी नै एङ्गेल्सले भन्नुभएको थियो, ‘हाम्रो सिद्धान्त विकासको सिद्धान्त हो, न कि यस्तो जडसूत्र जसलाई कण्ठस्थ गरियोस् र यान्त्रिक रूपले दोहोर्याइयोस् ।’ समग्र माक्र्सवाद र आफ्नो समयको जगत्लाई अध्ययन गरी उहाँ स्वयम् पनि यो निष्कर्षमा पुग्नुभयो– ‘साँच्चै भन्ने हो भने माक्र्सवाद कुनै जीवनहीन जडसूत्र होइन, न त परिपूर्ण, बनिबनाउ, अनुल्लङ्घनीय सिद्धान्त, बरु यो कार्यमा जीवन्त पथप्रदर्शक हो जसमा सामाजिक जीवनका अवस्थाहरूको आश्चर्यजनक रूपले अनपेक्षित परिवर्तन प्रतिबिम्बन हन्छ ।’ यसअनुसार उहाँले ठोस वस्तुको ठोस विश्लेषण गर्न थाल्नुभयो । दोस्रो साम्यवादी अन्तर्राष्ट्रियका नेताहरू बर्नस्टिन, काउत्स्की र प्लेखानोभको परम्परावादी र भँडुवा विकासवादी चिन्तनबाट मुक्त भएर अघि बढ्नुभयो । १८७५ देखि १९१४ सम्म पुँजीवादी अर्थव्यवस्थामा आएको सङ्कटले उहाँलाई केही नयाँ सोच्न प्रेरित गरेको थियो । उहाँले सन् १९०० पछि पुँजीवाद आफ्नो उच्चतम् चरण साम्राज्यवादमा पुगेको निष्कर्षमा पुग्दै जहाँ साम्राज्यवादको सिक्री कमजोर रहेको छ त्यहाँबाट क्रान्ति सुरु गर्ने र त्यो सफल हुने निष्कर्ष निकाल्नुभयो । अब पुँजीपतिहरूका बीचमा प्रतिस्पर्धा होइन, बरु एकाधिकारवादी पुँजीपतिहरूका सिन्डिकेट, कार्टेल र ट्रस्टहरूले जसको शक्ति उसको भक्ति भनेझैँ शक्ति हुनेले कच्चा पदार्थ र बजार कब्जा गर्ने स्थिति उत्पन्न भयो । अर्को शब्दमा युरोपेली र अमेरिकी साम्राज्यवादले विश्वका कच्चा पदार्थ र बजार कब्जा गर्न थाल्यो । लेनिन के निष्कर्षमा पुग्नुभयो भने जब एकाधिकारवादी राष्ट्रहरू विश्वयुद्धमा जान बाध्य हुन्छन् तब त्यसलाई रोक्न क्रान्तिकारीहरूले क्रान्तिकारी पार्टीको नेतृत्वमा गृहयुद्धमा जुट्नु इतिहासको आवश्यकता बन्दछ । साँच्चै नै सन् १९१४ देखि अस्ट्रिया र सर्बियाको झगडालाई लिएर एकातिर अस्ट्रिया–हँगेरीका पक्षमा जर्मनी, टर्की र बुल्गेरिया र अर्कोतिर सर्बियाका पक्षमा बेलायत, फ्रान्स, जापान, बेल्जियम, मोन्टेनिग्रो–इटाली, सेन मोरिनो, पोर्चुगल, रुमानिया, पनामा, ग्रिस, क्युबा, लाइबेरिया, थाइल्यान्ड, ब्राजिल, चीन, ग्वाटेमाला, निकारागुआ, हैटी, कोस्टारिका, होन्डुरस र अन्ततः १९१७ मा आइपुग्दा अमेरिकाबीचमा प्रथम विश्वयुद्ध सुरु भयो ।

यो विश्वयुद्धका निमित्त कारण जेसुकै भए पनि मुख्य कारण भनेको साम्राज्यवादीहरूको उद्योगका लागि चाहिने कच्चा पदार्थ र विश्व–बजारमा कसले एकाधिकार कायम गर्ने भन्ने होड नै हो भन्ने कुरा सबैभन्दा पहिले लेनिनले थाहा पाउनुभयो । उहाँका अग्रजहरू बर्नस्टिन, काउत्स्की र प्लेखानोभले ‘पितृभूमिको रक्षा गर’ भन्ने अन्धराष्ट्रवादी नारा दिइरहेको बेला उहाँले ‘पितृभूमिको रक्षा होइन, गृहयुद्धको तयारी गरौँ’ भन्ने नारा दिनुभयो । जनताको मनको आवाज दिनुभयो ‘शान्ति, रोटी र जमिन ।’ यो वास्तवमा ठोस वस्तुको ठोस विश्लेषणबाट निकालिएको ठोस संश्लेषण थियो । आखिर त्यो जनताको विद्रोहलाई नेतृत्व गर्ने शोषित–उत्पीडित जनताको अग्रदस्ता लेनिनकै नेतृत्वमा तयार थियो रुसी साम्यवादी दल (बोल्सेबिक) । सन् १८९८ मा स्थापना भएको रसियाली सामाजिक जनवादी मजदुर पार्टी हड्डीतोड फलामे अनुशासन भएको बोल्सेबिकमा विकास भएको थियो । ट्राट्स्की, बुखारिनजस्ता नेताहरू त्यो अग्रदस्तामा भए पनि गृहयुद्धको भरपर्दो सैन्य कमिस्नर स्टालिन नै हुनुहुन्थ्यो । आखिर रसियाली जनता तयार भएर अन्तर्राष्ट्रिय परिस्थिति त पाकिसकेकै थियो । १९१७ को मार्च (अर्को पात्रोअनुसार फेबु्रअरी महिना पर्दछ) मा राजतन्त्र पल्टाएर पुँजीवादी क्रान्ति सम्पन्न भयो भने १९१७ कै नोभेम्बर ७ (अक्टोबर २५) मा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भयो । सर्वहारावर्ग र यस वर्गका महान् नेताहरू कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले १८४८ मा प्रस्तुत गरेको साम्यवादी दलको घोषणापत्र रुसी भूमिमा लागू भयो । यद्यपि उहाँहरू दुवैजनाले सन् १८७१ को पेरिस कम्युन पनि आफ्नै आँखाले देख्नुभएको थियो र प्रत्यक्ष अनुभवका साथ ‘फ्रान्समा गृहयुद्ध’ लेख्नुभएको थियो ।

लेनिनले रसियन क्रान्तिमा माक्र्सको वर्गसङ्घर्ष र यसको उच्चतम् रूप सशस्त्र सङ्घर्षको प्रयोग मात्र गर्नुभएन, बरु पेरिस कम्युनको असफलताबाट शिक्षा लिँदै सर्वहारावर्गको अधिनायकत्व तुरुन्तै लागू गर्नुपर्ने माक्र्सको मार्गनिर्देशनलाई कदापि भुल्न सक्नुभएन । सत्ताच्यूत भएका जार र उसका मतियारहरू फेरि अर्को भेर्साइलमा जम्मा भएर शक्ति सञ्चय गर्दै बेलभिल पाखोमा कम्युनार्डहरूलाई घेरा हाली हत्या नगरून् भनेर सर्वहारावर्गको अधिनायकत्व बलियो गरी लागू गरियो । त्यति मात्र होइन, अब वर्गसङ्घर्ष मात्र मानेर कोही पनि साम्यवादी हुन सक्दैन, बरु जसले वर्गसङ्घर्षलाई सर्वहारा अधिनायकत्वसम्म विस्तार गर्दछ त्यही नै साम्यवादी हो भन्ने प्रस्तावना लेनिनले अघि सार्नुभयो । ‘राज्यसत्ता र क्रान्ति’ नामक सुप्रसिद्ध पुस्तकमा सर्वहारा अधिनायकत्वको उहाँले विस्तृत व्याख्या र विकास गर्नुभएको छ । सर्वहारा अधिनायकत्व वर्गविभेदलाई निर्मूल गर्ने एक मात्र विधि हो । यसलाई जसरी साम्राज्यवादीहरूले तानाशाहीका रूपमा बदनाम गर्न खोजेका थिए, छन् र गरिरहनेछन्, वास्तविक अर्थमा त्यस्तो होइन । यो त सत्ताच्यूत भएका तर पुरानै प्रतिक्रियावादी आदत पालेर प्रतिक्रान्तिका लागि उद्यत हुने मानिसहरूलाई पुनर्संस्कार गर्ने महत्वपूर्ण विधि हो । यसका साथै साम्यवादी दल सञ्चालनको पद्धतिका रूपमा विकास गरिएको जनवादी केन्द्रीयता पनि लेनिनको महत्वपूर्ण योगदान हो । यो पद्धतिद्वारा कार्यकर्ता, नेता र जनताका विचारहरू, प्रतिक्रियाहरू, सुझावहरू, योजनाहरू र आक्रोशहरू अभिव्यक्त गर्न पाउनु जनवाद हो भने यो जनवादलाई प्रशोधन र केन्द्रीकृत गरेर वैज्ञानिक सिद्धान्त, विचार, योजना र निर्देशन निर्माण गरी व्यवहारमा लैजानु केन्द्रीयता हो । यो वास्तवमा भौतिकवादी द्वन्द्ववादकै विकास हो ।

लेनिन र स्टालिनको आफ्नो समयको प्रकृति विज्ञानमा भएको विकास, समाजको अवस्था र त्यो समाजका मानिसहरूको चिन्तनलाई लिएर दर्शनशास्त्रमा पनि महत्वपूर्ण योगदान गर्नुभएको छ । उहाँहरूका पूर्वगामीहरू बर्नस्टिन, काउत्स्की र प्लेखानोभले भुत्ते बनाउन, भँडुवा विकासवादमा पतन गराउन थालेको अवस्थामा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई बोल्सेबिक क्रान्तिको सान लगाउँदै यसलाई उहाँहरूले जुझारु भौतिकवादमा विकास गर्नुभयो । सन् १९०८ मा नै लेनिनले ‘भौतिकवाद र आनुभविक आलोचनावाद’ नामक सुप्रसिद्ध दार्शनिक कृति लेख्नुभएको थियो । यसैगरी स्टालिनले ‘लेनिनवादका आधारहरू’, ‘द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद’ जस्ता रचनाहरू लेख्नुभएको छ । लेनिनले द्वन्द्ववादको विकास गर्न १९१४–१६ सम्म बृहत् टिप्पणीहरू तयार पार्नुभएको छ । द्वन्द्ववादका नियमहरूमा विपरीतहरूको एकता र सङ्घर्ष नै प्रमुख हो । यसमा एकता सापेक्ष, सर्तबद्ध र अस्थायी हुन्छ भने सङ्घर्ष निरपेक्ष, निःसर्त र स्थायी हुछ । विकास भनेको दुई किसिमको हुन्छ ः एउटा क्रमशः विकास र अर्को क्रमभङ्ग, गुणात्मक छलाङ, महाविपत्ति र रूपान्तरणका रूपमा विकास । पहिलो विकास आलटाल, विलम्ब र सुधारको बाटो हो भने दोस्रो चिरफार गरी पिलोको खिल निकाल्ने क्रान्तिको बाटो हो । त्यसकारण लेनिनले आलटाल, सुधार र विलम्बको होइन, बरु आफैँलाई समेत बदल्ने क्रमभङ्ग, छलाङ, महाविपत्ति र रूपान्तरणको बाटो लिनुभयो ।

अतः लेनिन र स्टालिनले माक्र्सवादको पथप्रदर्शनमा भिन्न देश, काल र परिस्थितिमा माक्र्सवाद लागू गर्नुभयो, माक्र्सवादको रक्षा र विकास गर्नुभयो । ठोसमा भन्ने हो भने राजनीतिक अर्थशास्त्रमा पुँजीवाद आफ्नो उच्चतम चरण साम्राज्यवादमा पुगेको निष्कर्ष निकाल्नुभयो । अब पुँजीवादमा कच्चा पदार्थ र बजारका लागि व्यापारी, पुँजीपति र दस्तकारहरू प्रतिस्पर्धा गर्दैनन्, बरु ठूलो पुँजीले एकाधिकार कायम गर्दछ । यसको समाधान भनेको जहाँ साम्राज्यवादको सिक्री कमजोर छ त्यहीँबाट वैज्ञानिक समाजवादी क्रान्ति सुरु गर्नु र हरेक देशका शोषित, उत्पीडित तथा सर्वहारावर्गले क्रान्ति फैलाउँदै, साम्राज्यवादी सिक्री चुडाउँदै जानु हो । दर्शनशास्त्रमा उहाँले जुझारु भौतिकवादको सिद्धान्त विकास गर्दै दार्शनिक संशोधनवादका विरुद्ध लड्न क्रमभङ्ग, छलाङ, महाविपत्ति र रूपान्तरणको विधि विकास गर्नुभयो । वैज्ञानिक समाजवादका क्षेत्रमा क्रान्तिलाई आफ्नो पेसा बनाएका अनुशासित, समर्पित र लडाकु नेता तथा कार्यकर्ताको नयाँ ढङ्गको साम्यवादी दल, सशस्त्र जनविद्रोहको क्रान्ति गर्ने कार्यदिशा र वैज्ञानिक समाजवादी कार्यक्रम, पार्टी सञ्चालनको विधिका रूपमा जनवादी केन्द्रीयता, राज्यसत्ता सञ्चालन विधिका रूपमा सर्वहारावर्गको अधिनायकत्वजस्ता महत्वपूर्ण योगदानहरू लेनिनको नेतृत्वमा थपिएका छन् । यी मूलभूत कुरालाई हामी लेनिनवाद भन्छौँ । यो माक्र्सवादको विकासमा दोस्रो उचाइ हो । यसपछि नै संसारका साम्यवादीहरूले यसलाई माक्र्सवाद लेनिनवाद भन्न थालेका हुन् ।

३) लेनिन जन्मेको २३ वर्षपछि र स्टालिन जन्मेको १४ वर्षपछि युरोपको ठीक उल्टो गोलाद्र्ध एसियाको चीनमा माओ त्सेतुङको जन्म भएको हो । त्यतिबेलासम्म एसियाका धेरै देशहरू युरोपेली साम्राज्यवादको जुवामुनि नारिइरहेका थिए । यो सौभाग्यकै कुरा थियो– रुसी क्रान्तिको प्रभाव सबभन्दा पहिले मङ्गोलिया र चीनमा परेको थियो । परिणामस्वरूप सन् १९२१ मा चीन साम्यवादी दलको स्थापना भयो जसका संस्थापकमध्ये एकजना महत्वपूर्ण संस्थापक माओ हुनुहुन्थ्यो । लेनिनले पूर्वका साम्यवादीहरूलाई के पथप्रदर्शन गर्नुभएको थियो भने उनीहरूका लागि रसियाली क्रान्ति एउटा महत्वपूर्ण सन्दर्भसामग्री र अनुभव हुनसक्छ । तर पूर्वीय देशहरू जहाँ किसानहरूको बाहुल्य छ, सामन्तवाद र साम्राज्यवादको शासन छ, त्यहाँको क्रान्तिबारे कुनै पनि साम्यवादी पुस्तकमा लेखिएको छैन । त्यहाँको क्रान्ति त्यहीँकै साम्यवादीहरूले आफ्नै अनुभव र अध्ययनका आधारमा सम्पन्न गर्नुपर्नेछ । यो कठिन र विलक्षण कार्यभार भए पनि आभारयोग्य हुनेछ । लेनिनले के पनि भन्नुभएको थियो भने पूर्वीय देशहरूमा पुँजीका विरुद्ध मात्र होइन, बरु मध्ययुगीन अवशेषका विरुद्ध पनि लड्नुपर्नेछ । यो पथप्रदर्शनलाई माओले दह्रोसँग पकड्नुभयो । लेनिनको निर्देशनअनुसार स्वतन्त्र अनुभव हासिल गर्न सन् १८४० देखि अर्धऔपनिवेशिक तथा अर्धसामन्ती रहेको निष्कर्ष निकाल्नुभयो । यही नै लेनिनले भनेको मध्ययुगीन अवशेष थियो । त्यसैले उहाँले यो अवस्थालाई विश्लेषण गर्दै साम्राज्यवाद र सामन्तवादका दुई पहाड ढाल्ने योजना बनाउनुभयो । आफ्नो वर्गसङ्घर्षबाट प्राप्त ज्ञानलाई उहाँले संश्लेषण गर्न थाल्नुभयो । १९२६ मा उहाँले ‘चिनियाँ समाजमा वर्गविश्लेषण’, १९२८ मा ‘हुनान किसान आन्दोलनको रिपोर्ट’ आदि लेखेर क्रान्तिका शत्रु र मित्रहरूको विश्लेषण गर्नुभएको थियो । उहाँले मूलतः रसियाली क्रान्तिको मोडेल (खाका) भन्दा भिन्न चिनियाँ क्रान्तिको मोडेल (खाका) विकास गर्नुभयो । रुसमा लेनिन र स्टालिनले मजदुर वर्गलाई क्रान्तिको मूल प्रेरक बनाएर पहिले ठूला सहर कब्जा गरी पछि गाउँ कब्जा गर्दै जाने क्रान्तिको खाका ‘सशस्त्र जनविद्रोह’ बनाउनुभयो भने चीनमा गाउँले इलाकाबाट स्थानीय सत्ता कब्जा गर्दै गएर अन्ततः केन्द्रीय सत्ता कब्जा गर्ने दीर्घकालीन जनयुद्धको खाका तय गर्नुभयो । यो वास्तवमा एउटा मौलिक कार्यदिशा थियो । माओ यो मौलिक कार्यदिशाअनुसार अघि बढ्दै जाने कुरा गर्दा पार्टीका संस्थापक महासचिव छन तुस्यूपछिका नेताहरू लि लिसान र वाङमिङ रसियाली खाकाअनुसार जानुपर्ने जिद्दी गर्दै जान्छन् । १९३३ मा पुगेपछि वाङ मिङको यान्त्रिक चिन्तनले चिनियाँ क्रान्तिले ठूलो धक्का खान्छ । ३ लाख पुगेको जनमुक्ति सेना घटेर जम्मा ९० हजार बाँकी रहन्छ । यही ९० हजारलाई जम्मा गरेर माओ १९३४ को पूरै वर्ष लम्बे अभियानमा जुट्नुहुन्छ । २० करोड जनताका बीचमा पुग्दा फेरि सेना पहिलेको भन्दा बढेको हुन्छ । त्यही लम्बे अभियानबाट भागेको चाङ क्व थाओ च्याङ काइसेकको क्वोमिन्ताङ सत्तासँग आत्मसमर्पण गर्न पुग्छ । १९३५ को चुनई बैठकबाट माओको कार्यदिशाले विजय प्राप्त गर्दछ । १९३७ को वर्षमा माओले तीनवटा महत्वपूर्ण कृतिहरू तयार पार्नुभयो । उहाँले दुई दार्शनिक रचनाहरू ‘व्यवहारबारे’ र ‘अन्तरविरोधबारे’ लेख्नुभयो भने अर्को मूल कार्यदिशा ‘दीर्घकालीन युद्ध’ र त्यसैगरी ‘युद्ध र रणनीतिका समस्याहरू’ पनि त्यही आसपासमा लेख्नुभएको हो । १९३८ मा अर्को दार्शनिक रचना द्वन्द्वात्मक भौतिकवाद रचना गर्नुभयो । १९४० मा पुग्दा ‘नयाँ जनवादबारे’ नामक रचना लेख्नुभयो जसले अर्धऔपनिवेशिक तथा अर्धसामन्ती देशहरूमा पुँजीवादबाट समाजवादमा पुग्ने पुलको काम गर्दछ ।

यहाँ नयाँ जनवादबारे थोरै स्पष्ट हुन जरुरी छ । पहिलो कुरा, वैज्ञानिक समाजवादमा पुग्न पुँजीवादी क्रान्ति सम्पन्न भएको हुनुपर्छ । पुँजीवाद साम्राज्यवादको चरणमा प्रवेश गरेपछि चीनजस्ता अर्धऔपनिवेशिक र अर्धसामन्ती देशहरूमा राष्ट्रिय पुँजीपतिको होइन, दलाल पुँजीवादी र सामन्तवर्गको मिलिभगत राज्यसत्ता हुन्छ । त्यसकारण अब पुँजीपति वर्ग सामन्तवादका विरुद्ध लड्दैन जसरी युरोपमा लडेको थियो । सामन्त र साम्राज्यवादका विरुद्ध लडेर पुँजीवाद ल्याउन साम्यवादी दलको नेतृत्वमा हुने क्रान्तिलाई माओले नयाँ जनवादी क्रान्ति भनेर संश्लेषण गर्नुभएको हो । युरोपमा पुँजीपति वर्गको नेतृत्वमा हुने क्रान्तिलाई जनवादी क्रान्ति भनिन्थ्यो । त्यो पुरानो जनवादी क्रान्ति हो भने सर्वहारावर्गकै नेतृत्वमा वैज्ञानिक समाजवादमा पुग्ने उद्देश्यसहित राष्ट्रिय पुँजीको विकास गरेर अघि बढ्ने क्रान्तिलाई नयाँ जनवादी क्रान्ति भन्नु वैज्ञानिक नै थियो ।

१९४५ को सातौँ महाधिवेशनमा माओले ‘संयुक्त सरकारबारे’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । अब जापानी साम्राज्यवादमाथि चीन साम्यवादी दलको नेतृत्वमा जनमुक्ति सेना रणनीतिक आक्रमणमा प्रवेश गरेको थियो । माओ र च्याङ काइसेकबीच १९४५ मै जापानी साम्राज्यवादका विरुद्ध अन्तिम लडाइँ लड्न वार्ता पनि भयो । १९४९ को १ अक्टोबरमा जापान र अमेरिका समर्थक प्रतिक्रियावादी शासक वर्गलाई सत्ताच्यूत गर्दै माओले नयाँ जनवादी क्रान्ति सम्पन्न भएको र वैज्ञानिक समाजवादी गणतन्त्र चीन अघि बढेको घोषणा गर्नुभयो । तर पार्टीभित्र घुसेका पुँजीवादी प्रतिनिधि ल्यु साओ ची र तेङ स्याओपिङले अहिल्यै यसलाई समाजवाद भन्ने बेला भएको छैन, बरु अझै पुँजीवादी उत्पादनको विकास गर्न नयाँ जनवाद नै भन्नुपर्छ भनेर करिब ७ वर्षसम्म जनतासामु चित्र स्पष्ट हुन दिएनन् । १९५६–५८ सम्म भएको आठौँ महाधिवेशनमा गएर माओले वैज्ञानिक समाजवादलाई ‘महा छलाङ अभियान’ मा अघि बढाउनुभयो । १९५३ मा तत्कालीन सोभियत सङ्घका राष्ट्रप्रमुख र सोभियत सङ्घ साम्यवादी दल (बोल्सेबिक) का महासचिव स्टालिनको मृत्यु भयो । उहाँको मृत्युपछि बोल्सेबिकको बीसौँ महाधिवेशन भयो जसमा माओलाई निमन्त्रणा गरिएको थियो । ख्रुस्चेभले त्यस महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘शान्तिपूर्ण सङ्क्रमण’, ‘शान्तिपूर्ण सहअस्तित्व’, ‘शान्तिपूर्ण प्रतिस्पर्धा’ र ‘सबै जनताको पार्टी’ जस्ता वर्गसमन्वयवादी प्रस्तावनाहरू प्रस्तुत गरेपछि माओ आश्चर्यमा पर्नुभयो । अब सोभियत सङ्घ साम्यवादी दल (बोल्सेबिक) नवसंशोधनवादमा पतन भयो भन्ने निष्कर्षका साथ पहिले आन्तरिक रूपमा र पछि सार्वजनिक रूपमा चीन र सोभियत सङ्घबीच महान् बहस चल्न थाल्यो । सोभियत सङ्घबाट चीन साम्यवादी दलका ल्यु, तेङलगायत केही नेताहरू पनि प्रभावित हुँदै गएका थिए । ल्यु र तेङ त खुलै रूपमा देखापरेका संशोधनवादीहरू थिए । पार्टीभित्र सकारात्मक कुरा राखेर नकारात्मक उद्देश्य पूरा गर्ने गिरोह पनि सक्रिय थियो । पेङ तेहुई र पछि आएर लिन प्याओ यस कोटीमा पर्दछन् । माओ तीन खराबी र पाँच खराबीविरुद्ध सङ्घर्ष गर्दै साम्यवादी आन्दोलनभित्र घुसेका अथवा साम्यवादी आचरणअनुरूप अघि बढ्न नसकेका मानिसहरूको मूल्याङ्कन गर्दै के निष्कर्षमा पुग्नुभयो भने हजारौँ वर्ष पुरानो विषालु विचारधारा, विरासत, रीतिरिवाज, धर्म र संस्कृति केही वर्षभित्र नै बदल्न सकिँदैन । यसका लागि निरन्तर क्रान्तिको आवश्यकता पर्दछ । त्यसकारण उहाँले सन् १९६६ देखि एउटा नयाँ क्रान्ति सुरु गर्नुभयो जसलाई महान् सर्वहारा सांस्कृतिक क्रान्ति भनेर नामकरण गरियो । यसले सर्वहारा अधिनायकत्वअन्तर्गत महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विश्वव्यापी प्रभाव पार्यो । यो वास्तवमा माक्र्सवाद लेनिनवादको उच्चतम अभिव्यक्ति हो ।

लेनिनले अधुरै छोडेर जानुभएको दार्शनिक कार्यभार पूरा गर्ने दायित्व पनि माओको काँधमा थियो । ‘भौतिकवाद र आनुभविक आलोचनावाद’ नामक कृतिमा लेनिनले भौतिकवादको विकास गर्नुभएको थियो र द्वन्द्ववादको विकास गर्ने तयारी पनि थियो तर भ्याउनुभएन । उहाँले द्वन्द्ववादका १६ तत्वको उल्लेख गर्नुभएको थियो । त्यसको सारसङ्क्षेपमा संश्लेषण यसरी गर्नुभएको थियो, ‘सङ्क्षिप्तमा द्वन्द्ववादलाई विपरीतहरूको एकताको सिद्धान्तका रूपमा परिभाषित गर्न सकिन्छ । यसैमा द्वन्द्ववादको सार समावेश छ तर यसले व्याख्या र विकासको माग गर्दछ ।’

(लेनिन, दार्शनिक रचनाहरू : माक्र्सदेखि माओसम्म, अनुवादक : सुदर्शन, पृ. ६८–६९) ।

माओले खासगरी ‘अन्तरविरोधबारे’ शीर्षकको कृतिमा भौतिकवादी द्वन्द्ववादको विकास गर्नुभएको छ । यसलाई ‘जनताहरूबीचका अन्तरविरोधहरूको सही सञ्चालनबारे’ कृतिमा अझै विस्तार गर्नुभएको छ । माक्र्स–एङ्गेल्सले हेगेलको द्वन्द्ववादमा स्वीकार गरिएका तीन नियमहरूलाई उहाँले हुबहु स्वीकार गर्नुभएन । लेनिनको सङ्केतअनुसार नै उहाँले विपरीतहरूको एकता र सङ्घर्षलाई प्रमुख नियम बताउनुभयो भने मात्राको गुणमा र गुणको मात्रामा परिवर्तन, निषेधको निषेधजस्ता नियमलाई विपरीतहरूको एकता र सङ्घर्षअन्तर्गत नै पर्दछन् र अलग नियम होइनन् भन्ने निष्कर्ष निकाल्नुभएको छैन । निषेधको निषेध त नियम नै हुँदैन, बरु पुरानोको नकार र नयाँको सकार हुने प्रक्रियामा इतिहास अघि बढ्छ भन्ने उहाँको स्पष्ट दृष्टिकोण छ । जस्तो : ‘दर्शनशास्त्रका समस्याबारे कुराकानी’ मा उहाँले भन्नुभएको छ, ‘एङ्गेल्सले तीन नियमको कुरा गर्नुभएको छ तर म तीमध्ये दुईवटा नियम मान्दिनँ । विपरीतहरूको एकता नै सबभन्दा आधारभूत नियम हो । गुण र मात्राको एक–अर्कामा रूपान्तरण त मात्रा र गुणजस्ता विपरीतहरूको एकता नै हो, निषेधको निषेध त कतै पनि अस्तित्वमा छैन । मात्रा र गुणको एकअर्कामा रूपान्तरण, निषेधको निषेध र विपरीतहरूको एकताको नियमलाई आमनेसामने समान तहमा राखियो भने अद्वैतवाद होइन, ‘त्रैतवाद’ हुन्छ… निषेधको निषेध भन्ने कुरा त हुनै सक्दैन । सकार नकार सकार… वस्तुको विकास प्रक्रियामा, हरेक घटना यही शृङ्खलाबाट अघि बढ्छन्…।’

माओ, दर्शनशास्त्रका समस्याबारे कुराकानी, अङ्ग्रेजी, ग्रन्थ ९, पृ. १३७, लेखन समय १९६४, श्रमिक वर्ग प्रकाशन हैदराबाद, भारत ।

माओले यसरी भौतिकवादी द्वन्द्ववादका तीन नियमलाई एउटै नियम अन्तरविरोधमा विकास गर्नुभएको छ । ल्यु र तेङले वर्गसमन्वयको मनसायका साथ ल्याउन खोजेको संशोधनवादी सिद्धान्त दुई एकमा समायोजनका विरुद्ध ‘एक दुईमा विभाजन हुन्छ’ भन्ने सिद्धान्तको विकास गर्नुभयो । ‘व्यवहारबारे’ शीर्षकको कृतिमा उहाँले ज्ञानका तीन स्रोत ः उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोग भएको, ज्ञानप्रक्रिया व्यवहार–ज्ञान–व्यवहारबाट अघि बढ्ने, ज्ञानको विकासप्रक्रिया इन्द्रियग्राह्यबाट बुद्धिसङ्गत हुने सिद्धान्त प्रतिपादन गर्नुभएको छ । अझै महत्वपूर्ण कुरा त उहाँले दर्शनशास्त्रलाई मुठीभर विद्वान् दार्शनिक र कुनै विश्वविद्यालयको कक्षाकोठाबाट जनताबीचमा लैजानुभयो । महान् सर्वहारा सांस्कृतिक क्रान्तिको अवधिमा यो कुरा व्यापक रूपमा कार्यान्वयन भएको थियो ।

संश्लेषणमा जाँदा दर्शनशास्त्रमा भौतिकवादी द्वन्द्ववादको विकास अन्तरविरोधको नियममा गर्नु, एक दुईमा विभाजन हुने सिद्धान्त, ज्ञान सिद्धान्तमा व्यवहार–ज्ञान–व्यवहार, राजनीतिक अर्थशास्त्रमा जनताका शत्रु र मित्रको विश्लेषण, अर्धऔपनिवेशिक तथा अर्धसामन्ती अवस्थाको पहिचान, कृषि र उद्योग दुवैलाई सँगै अघि बढाउने दुईखम्बे अर्थनीतिको निर्माण, सहकारी तथा सामूहिक उत्पादनप्रणालीबाट कम्युन उत्पादनप्रणालीको विकास, वैज्ञानिक समाजवादमा कृषिप्रधान तथा अर्धऔपनिवेशिक र अर्धसामन्ती देशहरूमा दीर्घकालीन जनयुद्धको कार्यदिशा र न्यूनतम् नयाँ जनवादको कार्यक्रमको विकास, अन्तरपार्टी सङ्घर्षमा दुई लाइन सङ्घर्षको विकास, वैज्ञानिक समाजवादी क्रान्तिका साथै वैज्ञानिक समाजवादलाई निरन्तर क्रान्तिद्वारा साम्यवादमा पुर्याउने विधिका रूपमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको विकास माओवादका सङ्घटकहरू हुन् । यसरी माक्र्सवाद–लेनिनवाद माओवादमा विकास भएको हो । अब भने विश्वका विभिन्न देशहरूमा रहेका साम्यवादी दलहरूको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद बन्यो । यसलाई छोटकरीमा मालेमावाद भन्न थालियो ।

४) आज फेरि पुरानै सारमा र नयाँ रूपमा मालेमावाद र यस विचारधाराको मार्गदर्शनमा मानवजातिको अपरिहार्य गणतन्त्र साम्यवादप्रति गम्भीर प्रश्नहरू उठेका छन् । हामीले ती प्रश्नहरूले हाम्रो जमानामा उठेका र जनतामाझ भ्रम उत्पन्न गरिरहेकाले तिनको सही जबाफ दिन आवश्यक छ ।

भ्रम सङ्ख्या एक, मालेमावाद र त्यसको पथप्रदर्शनमा प्राप्त हुने साम्यवाद असफल, पुरानो र जीवनहीन जडसूत्र भएकाले हामीलाई नयाँ विचारधारा र नयाँ समाज व्यवस्था चाहिएको छ । हाम्रा ‘साम्यवादी’ प्रधानमन्त्री र राष्ट्रपतिहरू मालेमावादको मार्गमा हिँडिरहेका क्रान्तिकारीहरूलाई धम्क्याउँदै भन्दछन्, ‘आजको जमानामा माक्र्सका थोत्रा किताबहरू घोकेर हुन्छ ? जमाना कहाँ पुगिसक्यो । बयलगाडामा चढेर चन्द्रमामा कहिल्यै पनि पुग्न सकिँदैन ।’ यस्ता महान्वाणी ओकल्नेहरू सन् १९७१ मा झापा विद्रोह सुरु गरेका र त्यही विद्रोहका सहिदहरूको रगतबाट आएको ब्याज डकारिरहेका महोदयहरू हुन् । यसै स्वरमा स्वर मिलाउँदै अझ बढी खरानी घस्नेहरू सन् १९९६ देखि २००६ सम्म नेपाली जनताका सर्वोत्तम छोराछोरीहरूले बगाएको रगतमा रजाइँ गर्ने राजासाहेबहरू हुन् । यी वास्तवमा भेडाको छाला ओढेका ब्वाँसाहरू हुन् । मालेमावाद र यसको लक्ष्य साम्यवादबाट विचलित भएका यी जन्तुहरूलाई हामीले जैविक मल बनाएर वैज्ञानिक समाजवाद र साम्यवादको वृक्षलाई हराभरा बनाउन सक्नु पर्दछ ।

यी मानवरूपी जन्तुहरूलाई प्रश्न गरौँ : समाज विकासको नियमअनुसार पुँजीवादको अन्त्यपछि आउने समाज व्यवस्था भनेको वैज्ञानिक समाजवाद हुँदै साम्यवाद हो अनि उदारवादी संसदीय प्रणालीका विरुद्ध जनताका छोराछोरीलाई होमेर त्यसकै शरणमा पुनरागमन नयाँ हो कि पुरानो ? पूर्वसोभियत सङ्घ र पूर्वीयुरोपमा असफल भएको मालेमावादी वैज्ञानिक समाजवाद हो कि पुँजीवाद ? जीवनहीन जडसूत्र कुनचाहिँ हो : अध्यात्मवादी आदर्शवाद कि मालेमावाद ? प्रश्नहरूको जबाफ दिने हिम्मत छ महाशयहरूको ? हामी तिम्रा प्रश्नहरूको एकएक जबाफ दिन तयार छौँ ।

पहिलो कुरा, मालेमावाद भनेको प्रकृति विज्ञान र समाज विज्ञानको समुच्चय हो । विज्ञान पुरानो हुँदैन, बरु यसको परिमार्जन र विकास हुन्छ । माक्र्सवाद पुरानो भयो भन्ने पहिलो व्यक्ति पुँजीवादी होइन, बरु साम्यवादी खोलभित्र रहेको साम्यवादी दलबाट नै निस्केका कचडाहरू हुन् । माक्र्स–एङ्गेल्सको साम्यवादी दलबाट प्रुँधो, बाकुनिन, लासालजस्ता मानिसहरू यस्ता कचडा थिए भने लेनिन र स्टालिनका पालामा बर्नस्टिन, काउत्स्की, प्लेखानोभ, ट्राट्स्की र बुखारिन । माओको समयमा ख्रुस्चोभ, ल्यु साओची र तेङ स्यायो पिङ मुख्य थिए । उनीहरू नै हुन् जसले आआफ्नो समयमा माक्र्सवादको दोसल्ला धारण गरेर माक्र्सवादकै तोडमोड गर्ने दुस्साहस गरेका थिए । उनीहरू अराजकतावाद, संशोधनवाद र छद्म अवसरवादमा प्रकट भएका थिए । वास्तवमा उनीहरू साम्यवादी आन्दोलनलाई भ्रमित गर्न र असफल पार्न साम्यवादी दलभित्र घुसेका पुँजीवादीहरू थिए । उनीहरूले आआफ्नो समयमा मालेमावादलाई पुरानो, असफल र जीवनहीन जडसूत्र भनेका थिए भने पुँजीवादलाई विभिन्न रूप र रङमा नयाँ, सफल र जीवनदायी समाज व्यवस्था भनेका थिए । हाम्रो जमानाका साम्यवादको दोसल्लाधारी कचडाहरूले फेरि पनि नयाँ रूप र रङमा उही कुरा दोहोर्याइरहेका छन् । हाम्रो देशमा साम्यवादको दोसल्ला ओढेर केशरजङ्ग रायमाझी ‘राष्ट्रिय प्रजातन्त्र’ का नाममा, मदन भण्डारी ‘बहुदलीय जनवाद’ का नाममा, पुष्पकमल दाहाल ‘एक्काईसौँ शताब्दीको जनवाद’ का नाममा र बाबुराम भट्टराई ‘सहभागितामूलक समाजवाद’ का नाममा प्रकट भएका थिए र अझै भ्रममा पार्ने धुनमा साम्राज्यवादका चाकर बनिरहेका छन् । उनीहरू दार्शनिक हिसाबले अधिभूतवादी अध्यात्मवादका पक्षधर र बहुलवादी भँडुवा विकासवादका गायक भएका छन् । राजनीतिक दृष्टिकोणबाट हेर्दा संसद्वादी तथा सामाजिक फासिवादी भएका छन् । राजनीतिक अर्थशास्त्रका दृष्टिकोणले दलाल पुँजीवादी भएका छन् भने सांस्कृतिक हिसाबले अराजकतावादको पराकाष्ठामा पुगेका छन् ।

मालेमावाद कुनै जीवनहीन जडसूत्र होइन, बरु गतिशील जीवनप्रक्रिया प्रतिबिम्बित भएर विकास भइरहने साम्यवादको बाटोमा पथप्रदर्शक हो । यो जीवनहीन जडसूत्र होइन भन्ने कुरा माक्र्सवादको लेनिनवाद र माक्र्सवाद–लेनिनवादको माक्र्सवाद–लेनिनवाद–माओवादमा भएको विकासले प्रस्ट पार्दछ । सोभियत सङ्घमा साम्यवाद असफल भएको होइन, बरु स्टालिनको मृत्युपछि साम्यवादी खोलमा रहेका पुँजीवादीहरूको खोल च्यातिएको हो । त्यसैगरी पूर्वीयुरोपमा पनि त्यही भएको हो । ‘सत्य डग्दैन, असत्य टिक्दैन’ भन्ने जनसूक्ति लागू भएको हो ।

मालेमावादी दर्शन भनेको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो । यो दर्शन सर्वशक्तिमान् छ किनभने यो वैज्ञानिक सत्यमा आधारित छ । आफूलाई निकै आधुनिक र मालेमावादलाई थोत्रो ठान्ने नेपाली साम्यवादी आन्दोलनका कचडा मनमोहन अधिकारी प्रधानमन्त्री भए र दक्षिणकाली मन्दिरमा पुगेर कालो बोको चढाए । पुष्पकमल दाहाल प्रधानमन्त्री भए र शनिग्रह शान्तिका लागि भैँसी पूजा गरे । गड्गप्रसाद वली प्रधानमन्त्री भए र नेपालमा एसिया प्रशान्त शिखर सम्मेलन गरी कथित जिसस क्राइस्टकी छोरी हकजा हानमुनको बाहुलीबाट पवित्र जाँड र १ लाख अमेरिकी डलर पुरस्कार ग्रहण गरे । पवित्र जाँड खाएर उनी पवित्र भए भने क्रिस्चियन सम्मेलन गरेबापत नगद पुरस्कारसमेत पाए । अधिभूतवादी आदर्शवाद र अध्यात्मवादका विरुद्ध लडेर नै आधुनिक द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विकास भएको हो । कतिसम्म भने पुँजीवाद पनि धार्मिक रूढिवादका विरुद्ध लडेर नै स्थापित भएको हो । युरोपमा चलेको पुनर्जागरण अभियान पनि धार्मिक रूढिवादका विरुद्ध थियो किनभने युरोपको विकासलाई अवरुद्ध गर्ने तत्व नै धार्मिक रूढिवाद थियो । अतः धार्मिक रूढिवादमा पश्चगमन भएकाहरू कुनै पनि हालतमा साम्यवादी हुन सक्दैनन् ।

प्रधानमन्त्री खड्गप्रसाद वली मालेमावादी पाठ्यपुस्तकहरूलाई ‘थोत्रा किताब’ भन्दछन् र क्रान्तिकारी साम्यवादीहरूलाई ‘धतङ्गाहरू’ भन्दछन् । ‘प्रतिक्रियावादी’ शब्दावलीको प्रयोग धेरै गम्भीर रूपले सोचेर गरिएको रहेछ । प्रकृति, मानव समाज र मानव चिन्तनलाई अग्रगामी प्राकृतिक प्रक्रियाबाट नै उल्टो दिशामा फर्काउन दुस्साहस गर्ने र उल्ट्याउन सकिन्छ भनेर भ्रम पार्ने प्रवृत्तिको नाम नै प्रतिक्रियावाद रहेछ । करिब ४ हजार वर्षपहिले लेखिएको वेद, महाभारत, गीता, कुरान, बाइबललाई पुष्पकमल दाहाल र खड्गप्रसाद वली नयाँ मान्दछन् भने मालेमावादी कृतिहरूलाई थोत्रा भन्दछन् । आदिम युगतिर फर्केका आफूहरूलाई गम्भीर चिन्तक ठान्दछन् भने इतिहासको अग्रगामी मोर्चामा डटेका क्रान्तिहरूलाई यी नवप्रतिक्रियावादीहरू ‘धतङ्गा’ भन्द्छन् । वास्तवमा यी नवप्रतिक्रियावादीहरूले बढी खरानी घसिरहेका छन् ।

भ्रमसङ्ख्या दुई : रूपमा स्वतस्फूर्ततावाद र सारमा मालेमावादको पूर्ण परित्याग । यसप्रकारका भ्रान्तिकारी दल र ती दललाई राजनीतिक, सामाजिक र आर्थिक सल्लाह र विचार दिने बौद्धिक ‘चतुर्वेदी’ हरू एकैपटक साम्यवादी ध्येय र मालेमावाद त्यागेको घोषणा गर्दैनन् । ती जनता र इमानदार क्रान्तिकारीहरूले थाहा नपाउने गरी पछिल्तिर फर्किरहेका हुन्छन् । यहाँ के कुरामा विशेष ध्यान जरुरी छ भने ‘जताजता बाहुन बाजे त्यतैत्यतै स्वाहा’ भनेझैँ जताजता बौद्धिक चतुर्वेदी त्यतैत्यतै संशोधनवादी हुन्छ । उदाहरणका लागि एकजना बौद्धिक चतुर्वेदी चैतन्य मिश्रले सर्वप्रथम माओवाद र सर्वहारा सांस्कृतिक क्रान्तिमाथि भ्रम छर्दै त्यसलाई परित्याग गर्ने सुझाव दिए । त्यसपछि सन् १९७१ मा ‘चीन साम्यवादी दलको अध्यक्ष हाम्रो पनि अध्यक्ष’ भन्दै झापामा ‘वर्गशत्रु खतम अभियान’ जन्मेको नेपाल साम्यवादी दल (माले) ले माओवाद परित्याग गर्यो र ‘जनताको बहुदलीय जनवाद’ मा संशोधनवादी कार्यक्रम प्रस्तुत गर्यो । आज चैतन्य मिश्र लेख्दैछन्, ‘लोककल्याणकारी व्यवस्था, सामाजिक लोकतन्त्र, सामाजिक न्यायसहितको अर्थतन्त्र आदि सबैले यही किसिमको राज्यव्यवस्था र अर्थतन्त्रलाई इङ्गित गर्दछन् । पुँजीवादले जहाँसम्म जनहित अघि बढाउन सक्छ, त्यसको अन्तिम सीमासम्म त्यसलाई सम्भव तुल्याउने बाटो यही हो । अन्य सबै मार्ग हालको विश्व ऐतिहासिक बिन्दु र परिधिका लागि लेनिनमय, माओमय किताबी कल्पना मात्र हुन् ।’ श्री मिश्रजी अमेरिकी फ्रान्सिस फुकुयामा साहेबका असली शिष्य हुन् । प्राध्यापक श्री चैतन्यको यही पथप्रदर्शनअनुसार नै नेकपा (एमाले) मा नेकपा (माके) को विलय भएपछि बनेको नेकपा (दोहोरो) अघि बढिरहेको छ । साम्यवादी जनमत प्राप्त गरी संसदीय व्यवस्थामा पुग्न दलको नाम साम्यवादी राखे पनि त्यो वास्तवमा नवप्रतिक्रियावादमा पतन भइसकेको छ । मार्गदर्शक सिद्धान्तबाट माओवाद हटाएपछि स्वतः माक्र्सवाद लेनिनवाद पनि परित्याग गरी उनीहरूले बहुलवादलाई मार्गदर्शक बनाइसकेका छन् । मिश्र भने लेनिनवादको परित्याग गरेर माक्र्सवाद त ठीक हो भन्दैछन् । उनी तर्क गर्दैछन्– माक्र्सले त पुँजीवादलाई अझै केही समयका लागि क्रान्तिकारी हुन्छ भनेका छन् । लेनिनवाद परित्याग गरेको घोषणा गर्दै भर्खरै प्रकाशित आफ्नो पुस्तक ‘लोकतन्त्र र आजको माक्र्सवाद’ मा उनी लेख्छन्, ‘आफ्नै नाकअगाडि पुँजीवादी प्रगति र विस्तार देख्दादेख्दै पुँजीवाद अस्ताइरहेको देख्ने दृष्टिकोणलाई आलोचनात्मक चेतको न्यूनताबाहेक अरू के भन्ने ? यो न्यूनताको जरो कारण लेनिनवाद–स्टालिनवादको धर्मजस्तै अन्ध अनुसरण र माक्र्सवादको उपेक्षा हो जस्तो लाग्छ । माक्र्सले त केही कालका लागि पुँजीवादलाई क्रान्तिकारी पद्धति हो भनेर स्वीकारेका थिए । उनले भनेका थिए ‘पुँजीवाद पुरातनपन्थको संहारक हो ।’ उनका लागि पुँजीवादी प्रक्रिया धेरै हदसम्म आफैँलाई खाँदै, जित्दै जाने प्रक्रिया हो ।’
पृ. ३४५, प्रथम संस्करण, २०७६ ।

प्रथमतः यहाँ श्री मिश्र पुँजीवादको प्रगति र विस्तार भइरहेको देख्दैछन् भने पुँजीवाद अस्ताइरहेको देख्नेहरूलाई मालेमावाद र साम्यवादप्रति आलोचनात्मक चेतको न्यूनता भएकाहरू भन्छन् । लेनिन र स्टालिनको सिद्धान्त र तदनुरूपको वैज्ञानिक समाजवादी क्रान्तिप्रतिको दृढतालाई उनी धार्मिक अन्धानुसरण भन्दछन् । यसको अर्थ साम्यवादीहरू वैज्ञानिक समाजवादबाट पुँजीवादतिर फर्कनुपर्यो किनभने लेनिन र स्टालिनले वैज्ञानिक समाजवादी क्रान्ति गरेर पुँजीवादको व्यावहारिक विकल्प दिए । उनी कतिसम्म दिनदहाडै झूट बोल्दछन् भने माक्र्सले त पुँजीवादलाई क्रान्तिकारी पद्धति भनेर स्वीकार गरेका थिए । दोस्रो कुरा, श्री मिश्र माक्र्सवादबाट यसको विकसित दुई चरण लेनिनवाद र माओवादबाट अलग गरेर पुँजीवादको साम्राज्यवादी चरणको चरम मानव शोषण, अपराध र भ्रष्ट चरित्रको ढाकछोप गर्न चाहन्छन् जसलाई लेनिन, स्टालिन र माओले नङ्ग्याएर नै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नुभएको थियो । लेनिनले साम्राज्यवाद भनेको मरणासन्न पुँजीवाद, एकाधिकार पुँजीवाद, वैज्ञानिक समाजवादी क्रान्तिको पूर्वबेला भन्नुभएको थियो भने माओले कार्यनीतिक रूपमा साँच्चैको बाघ भए पनि रणनीतिक रूपमा कागजी बाघ भन्नुभएको थियो । तेस्रो कुरा, अमेरिकामा पढेलेखेका विद्वान् श्री मिश्र पुँजीवादी साम्राज्यवादलाई बचाउन ज्यान फालेर लागेका छन् । त्यसकारण उनी मालेमावादको रूखमा चढेर त्यसका मूल हाँगा काट्दै गएपछि जरा उधिन्न सकिन्छ भन्ने योजनामा व्यस्त छन् ।

मिश्र रूपमा स्वतस्फूर्ततावादी र सारमा मालेमावादको परित्याग गराउन खटाइएका योजनाकार हुन् भन्ने कुरा उनका विभिन्न समयमा प्रकाशित पुस्तकहरूले पुष्टि गर्दछन् । यो कुरा उनकै कथनबाट पुष्टि हुन्छ । उल्लिखित पुस्तकमा सङ्गृहीत ‘भ्रान्तिका सय वर्ष’ शीर्षकको आलेखमा उनी भन्दछन् :

‘कालान्तरमा पुँजीवादको विघटन हुन्छ । यसको वैधतामा ठूलो ह्रास आउँछ । यो अवश्यम्भावी छ तर हाल केही पुस्ताका लागि त्यस्तो विघटन वा ह्रास हुने कुनै सम्भावना देखिँदैन । आफ्नै अगाडिको बाघसँग डटेर अडौँ, अनाहकमा मनको बाघ पालेर स्वास्थ्य नबिगारौँ । सय वर्ष लामो भ्रान्ति तोडौँ ।’
उही, पृ. ३५१ ।

यो आलेख उनले सन् २०१७ मा लेखेका हुन् । अक्टोबर क्रान्ति भयो र लेनिन तथा स्टालिनको नेतृत्वमा वैज्ञानिक समाजवादी गणतन्त्र सोभियत सङ्घमा ३६ वर्ष समाजवादी व्यवस्था सञ्चालन भयो । त्यसले हिटलरी फासिवादको अन्त्य ग¥यो । अमेरिकाको तीन सय वर्षको विकासलाई यसले तीस वर्षमै उछिन्यो । दोस्रो विश्वयुद्धमा फासिवादको पराजयसँगै युगोस्लाभिया, चेकोस्लोभाकिया, हङ्गेरी, रोमानिया, अल्बानिया, बुल्गेरिया, पूर्वी जर्मनी, पोल्यान्डमा वैज्ञानिक समाजवादको विस्तार भयो । दोस्रो विश्ययुद्धपछि नै चीनमा क्रान्ति सम्पन्न भएपछि उत्तरकोरिया, क्यूबा, भियतनाम, कम्बोडिया र लाओसमा आआफ्नै ढङ्गले वैज्ञानिक समाजवाद स्थापना भएको थियो । सोभियत सङ्घर्षपछि मङ्गोलियामा समाजवादी क्रान्ति भएको थियो । यति मात्र होइन, टर्की, फिलिपिन्स, इन्डोनेसिया, चिली, पेरू, निकारागुवा, भारत र नेपालमा सशक्त रूपमा क्रान्तिकारी आन्दोलन भए । इन्डोनेसिया, चिली र निकारागुवामा त सफल पनि भए क्रान्तिकारी साम्यवादी दल । त्यसकारण पुँजीवाद र पुँजीवादी साम्राज्यवादमाथि यो विजयलाई नदेख्ने र पराजयबाट त्रसित हुँदै पुँजीवादी साम्राज्यवादको शरणमा पुग्नु चैतन्य मिश्रका निम्नि पुँजीवादी अवसरवाद हो । चैतन्य प्रवृत्तिबाट निर्देशित भएर नै नेकपा (दोहोरो) दलाल पुँजीवादी भएर साम्राज्यवादको दलदलमा फसेको हो ।

कालान्तरमा पुँजीवादको विघटन भइहाल्छ । अहिले त्यसका विरुद्ध आन्दोलन उठाएर ‘स्वास्थ्य नबिगारौँ ।’ सय वर्षको भ्रान्ति तोडेर ‘पुँजीवाद भन्न त्रास नमानीकन यसको रमाइलो भोग गरौँ’ यही नै मिश्रजीको मूल नारा हो । साम्यवादी आन्दोलनलाई स्वतस्फूर्ततावाद हुँदै प्रतिक्रियावादमा पुर्याउने योजनामा उनी पूरै टुप्पी कसेर लागेका छन् । घोषित रूपमा नै पुँजीवादी साम्राज्यवादको चाकडी चैतन्य प्रवृत्तिले गरिरहेको छ । दोहोरो नेकपाको बाटो यही हो । रूखका हाँगाहरू बन्चरोले गिँड्दै लगेरर जरामा डोजर चलाउने योजनाअनुसार मालेमावादका वैरीहरू पूरै लागिरहेका छन् । हामीले साम्राज्यवादका जराहरू काट्दै साम्यवादको अधिकतम् उद्देश्यका साथ वैज्ञानिक समाजवादको कार्यक्रम अघि बढाउनु पर्दछ । यसका साथै मालेमावादी विचारधाराको रक्षा, प्रयोग र विकास गर्नुपर्दछ ।

भ्रमसङ्ख्या तीन : साम्यवादी दल परित्याग गर्दै साम्यवाद र पुँजीवादबीच समन्वय गर्ने प्रवृत्ति । यो प्रवृत्ति पनि साम्यवादी आन्दोलनमा भ्रम पार्ने उद्देश्यका साथ कम्मर कसेर लागेको छ । समाजवादबाट सामूहिकता र पुँजीवादबाट निजत्व लिएर यस प्रवृत्तिले आफूलाई लोकतान्त्रिक समाजवादी भन्छ । यो वास्तवमा विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवाद नै हो । उनले पनि साम्यवादबाट अधिनायकत्व घटाउने र प्रजातन्त्र जोड्ने हो भने प्रजातान्त्रिक समाजवाद हुन्छ भन्ने सिद्धान्त बनाएका थिए । बीपी कोइरालापछि यस सिद्धान्तको मूल पाठ विकृत भएपछि त्यस ठाउँमा बाबुराम भट्टराई उपस्थित भएका छन् । घुमाइफिराई यो प्रवृत्तिले सामूहिक उत्पादनको स्वामित्व जनसमुदायकै हुनुपर्छ भन्ने माक्र्सवादी सिद्धान्तलाई आफ्नो पुँजीवादी विश्व–दृष्टिकोणअनुसार गलत साबित गर्ने प्रयत्न नै गरिरहेको छ । नेपालमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन मान्ने जनसमुदाय धेरै ठूलो भएकाले संसद्वादी चुनावमा मतका लागि पनि बाबुरामहरू यो दर्शन मानेको स्वाङ गर्दछन् । तर वर्गसमन्वयवादी र दुईजिब्रे राजनीति अँगालेर उत्पीडित वर्गको दर्शन मान्छु भन्नु फगत ढकोसल्ला (स्वाङ) मात्र हो । उनीहरूको दर्शन फेरि पनि अधिभूतवादी आदर्शवाद नै हो ।

भ्रम सङ्ख्या चार : अब उत्पादक शक्ति मानवश्रमलाई विज्ञान तथा प्रविधिले प्रतिस्थापन गर्दैछ र उत्पादक शक्ति स्वयम् विज्ञान तथा प्रविधि बन्दैछ । आज निश्चित रूपमा उत्पादक शक्तिसँग विज्ञान र प्रविधि जोडिएको छ । विज्ञान तथा प्रविधि स्वयम् मानव श्रम र पदार्थको उच्चतम् विकास बुद्धिको उपज भएकाले यो प्रमुख उत्पादक शक्ति हुनै सक्दैन, बरु यो सहयोगी साधन हो । आज कतिपय आफूलाई साम्यवादी भन्नेहरू नै जान वा अन्जान रोबट मानव र ड्रोनबाट तर्सिरहेका छन् । मानिसको स्थान यी स्वचालित यन्त्रहरूले लिएको हुँदा मानिस बेरोजगार रहने खतरा छ भनी चिन्ता व्यक्त गरिरहेका छन् । यो कुरा नेपालमा एक लोकप्रिय कथा ‘भाँड कुकाई’ सँग तुलनायोग्य छ । ९ जना भाँड (कर्णालीमा बादी गायकलाई भाँड भन्दछन्) हरू मधेसतिर आउँदै गर्दा कर्णाली तर्दछन् । सबैले कर्णाली तरे–नतरेको पत्ता लगाउन हरेकले गणना गर्दै जान्छन् । सबैलाई गणना गर्दा आफूलाई बिर्सन्छन् र ८ जना मात्र बाँचेर आएको र एकजनालाई कर्णालीले बगाएको भ्रममा परेर कुकाउन थाल्छन् । आज कम्प्युटर युगमा आएपछि कतिपय आफूलाई साम्यवादी भन्ने साथीहरूले पनि आफैँलाई बिर्सिरहेका छन् । उनीहरू भन्दैछन्– मानवश्रमलाई विज्ञान तथा प्रविधिले प्रतिस्थापन गर्दैछ । विज्ञान र प्रविधि स्वयम् मानव श्रमको परिणाम हो भन्ने कुरा जान वा अन्जान रूपमा नकार्दछन् ।

निश्चित रूपमा मानवश्रममा विज्ञान र प्रविधि जोडिएपछि उत्पादनप्रक्रिया सयौँ गुणा तीव्र भएको छ । यसले मानिसको श्रमलाई सरल बनाइदिएको छ । तर मानवश्रमको काम सकिएको छ भन्नुको अर्थ मानव जातिको अन्त्य भएर विज्ञान र प्रविधिको राज सुरु भएको छ भन्नु हो । सरल बुद्धिले पनि के कुरा सहजै बुझ्न सकिन्छ भने रोबट कम्युटरको सहयोगबाट काम गर्दछ भने कम्प्युटर चलाउने मानिस हो । ड्रोनका सम्बन्धमा पनि त्यही कुरा सत्य हो । जुन दिन मानवश्रम र बुद्धि अनावश्यक बन्न जान्छ त्यस दिनदेखि विज्ञान र प्रविधिको पनि काम हुँदैन । हाम्रा कतिपय साम्यवादी साथीहरू पनि पुँजीपतिहरूको भ्रममा परिरहेका छन् । आज पुँजीपतिहरू मानवश्रमलाई जति सक्यो त्यति घटाएर नाफा सोहोर्न चाहन्छन् । त्यस्तअनुरूप विज्ञान र प्रविधिलाई आफ्नो अति एकाधिकारवादी पुँजीको नियन्त्रणमा लिएर रोबट मानव र ड्रोन जस्ता यन्त्रहरूको निर्माण गर्दैछन् । वैज्ञानिक समाजवाद र यसको विकसित चरण साम्यवादमा वैज्ञानिक प्राविधिक उत्पादन पनि मानवीय आवश्यकतानुसार गरिन्छ । वितरण पनि तदनुरूप नै हुन्छ । साम्यवादीहरूले वस्तुहरूसम्बन्धी चिन्तन पुँजीवादी होइन, साम्यवादी नै गर्नुपर्दछ तब मात्र विश्वदृष्टिकोण द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी हुन्छ । भन्ने आफूलाई भौतिकवादी द्वन्द्ववादको खाँटी प्रयोगकर्ता र सर्जक, हुने आदर्शवादी अधिभूतवादको पक्षधर भनेको पनि यही हो ।

यसकारण विज्ञान र प्रविधिको विकासले श्रमिकलाई प्रतिस्थापन गर्दैन, बरु यसले त अन्ततः श्रमिकको उत्पादनमा तीब्रता ल्याउँछ र मानवजातिलाई वैज्ञानिक श्रमिक बनाइदिन्छ । पुँजीवादमा यसले बेरोजगारी ल्याउँछ भने वैज्ञानिक समाजवाद र यसको उच्चतम चरण साम्यवादमा विराट् रोजगारी सिर्जना गर्दछ ।

भ्रम सङ्ख्या पाँच : ‘माक्र्सवादको विकास गर्नुपर्दछ ।’ यो नारा दिने दुईथरी छन् । एकथरी साम्यवादी लालझन्डा बोकेर साम्यवादकै खोइरो खन्ने नवप्रतिक्रियावादीहरू छन् जसले आजका कालीदास बनेर आफैँ चढेको रूखको हाँगा गिँडिरहेका छन् । उनीहरू ‘आजको माक्र्सवाद’ र ‘एक्काईसौँ शताब्दीमा जनवादको विकास’ भन्दै अन्ततः बहुदलीय जनवादको आहालमा डुबेका छन् । अथवा सामाजिक प्रजातन्त्रको आहालमा डुबेर नराम्रोसँग फोहोरी भएका छन् । अर्कोतिर माक्र्सवादको विकास गर्नुपर्दछ भन्ने सिद्धान्तलाई ठोस वस्तुस्थितिको ठोस विश्लेषणका साथ यसको विकासका लागि योजना बनाएर प्रक्रिया थालनी गरिसकेका क्रान्तिकारीहरू छन् । हामीले देखेका छौँ– क्रान्तिकारीहरूले मालेमावादको रक्षा, प्रयोग र विकास गर्ने क्रममा नेपालमा एकीकृत जनक्रान्तिद्वारा वैज्ञानिक समाजवाद ल्याउने कार्यदिशा ठोस गरेका छन् । यहाँ भन्न खोजिएको कुरा के हो भने माक्र्सवादको विकास गर्नुपर्दछ भनेर हुँदैन, बरु योजनाबद्ध विकासको प्रक्रियाको थालनी भएको छ कि छैन, त्यसमा विशेष ध्यान दिनुपर्दछ । अर्को कुरा माक्र्सवादको विकास गर्ने भन्दै विकासकर्ता पश्चगमनतिर फर्केको छ कि अग्रगमनतिर ? यसमा पनि विशेष गम्भीर भएर हेर्नुपर्दछ ।

मालेमावादको विकास गर्ने भनेको माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओले अधुरै राखेका कार्यभार पूरा गर्ने र हाम्रो जमानामा सामना गर्नुपरेका अन्तरविरोधहरूको समाधान गर्ने हो । उदाहरणका लागि लेनिन र स्टालिनले माक्र्स र एङ्गेल्सद्वारा प्रस्तावित सर्वहारा अधिनायकत्व र पार्टी सञ्चालन पद्धति जनवादी केन्द्रीयताको व्याख्या र विकास गर्नुभयो भने आफ्नो समयमा पुँजीवाद साम्राज्यवादमा पुगेको पत्ता लगाउनुभयो । त्यही कुरा उहाँका गुरु प्लेखानोभले गर्न सकेनन्, बरु अग्रगमनकारी इतिहासको पाङ्ग्रा पछिल्तिर धकेल्न दुस्साहस गरे । त्यति मात्र होइन, लेनिन र स्टालिनले विज्ञान तथा प्रविधिको विकासलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादविरुद्ध उभ्याउने अस्ट्रियन माख र रुसी माखवादीहरूको भण्डाफोर गर्दै सुप्रसिद्ध ‘भौतिकवाद र आनुभविक आलोचनावाद’ लेख्नुभयो । माखवादीहरू ‘पदार्थ लोप भयो’ भन्दै थिए । लेनिनले जबाफ दिनुभयो, ‘पदार्थ लोप भएको होइन, बरु हाम्रो ज्ञानका सीमाहरू लोप भएका हुन् ।’ आज पदार्थ लोप भयो भन्नेहरूलाई पनि यो जबाफ काफी छ । त्यसैगरी माओले पनि लेनिन र स्टालिनको गम्भीरतापूर्वक अध्ययन गर्नुभयो । लेनिनले किसान जनसाधारण प्रमुख क्रान्तिका चालक शक्ति भएको पूर्वीय देशमा त्यहीँका साम्यवादीहरूले क्रान्तिको बाटो पत्ता लगाउनुपर्छ भनेर निर्देशन दिनुभएको थियो । यो निर्देशनलाई माओले गम्भीरतापूर्वक ग्रहण गर्दै चीनमा दीर्घकालीन जनयुद्धको कार्यदिशा र नयाँ जनवादको कार्यक्रम आविष्कार गर्नुभएको थियो । त्यति मात्र होइन, माओले लेनिनको द्वन्द्ववादको व्याख्या र विकास गर्नुपर्ने अधुरो कार्यलाई पनि ‘अन्तरविरोधबारे’ र ‘जनताहरूबीच अन्तरविरोधको सही सञ्चालनबारे’ मा पूरा गर्नुभएको छ । उहाँले मालेमावादमा थप विकास गर्नुभएको छ । त्यो विकास भनेको वैज्ञानिक समाजवादलाई साम्यवादको शिखरमा पुर्याउने विधि सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति अथवा महान् सर्वहारा सांस्कृतिक क्रान्ति हो । उहाँले यसको पहलकदमी गर्नुभएको थियो । हामीले चीनमा दस वर्ष यसको प्रयोगको समीक्षा गर्दै विकास गर्नुपर्ने आवश्यकता छ ।

हामीले महासचिव कमरेड विप्लवको नेतृत्वमा रहेको नेपाल साम्यवादी दलमार्फत महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सही समीक्षा र विकासको ऐतिहासिक आवश्यकतालाई गम्भीरतापूर्वक लिएका छौँ । सन् २०१६ को फेब्रुअरी १३ देखि २२ सम्म सम्पन्न थबाङ महाधिवेशनले आधिकारिक रूपमा स्वीकृत गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा र वैज्ञानिक समाजवादको कार्यक्रम हामीले सांस्कृतिक क्रान्तिको उचाइमा उभिएर बनाएका छौँ । एकीकृत जनक्रान्तिको कार्यदिशा राजनीतिक, आर्थिक र सांस्कृतिक क्रान्तिको योग हो । आखिर अर्थतन्त्र र राजनीतिको जगमा संस्कृति बनेको हुन्छ । संस्कृति भनेको विचारधारा, संस्कृति, विरासत, रीतिरिवाज र चालचलनको हजारौँ वर्षको योगफल हो । आखिर सांस्कृतिक क्रान्ति भनेको पुराना र विषालु विचारधारा, संस्कृति, विरासत, रीतिरिवाज र चालचलनको योगफलबाट बनेको आदतीय सत्ता ढालेर क्रान्तिकारी विचारधारा, संस्कृति, विरासत, रीतिरिवाज र चालचलन स्थापना गर्ने लामो अभियान हो । आज हामी माओले सन् १९४९ मा वैज्ञानिक समाजवादी क्रान्ति गर्नुभएको र १९६६ मा मात्र सांस्कृतिक क्रान्ति सुरु भएकाले त्यही नै गर्नुपर्छ भन्ने यान्त्रिकतामा फस्नु हुँदैन । १९६६ मा त माओ र चीन साम्यवादी दलद्वारा प्रतिक्रान्ति रोक्ने सांस्कृतिक क्रान्तिको विधि पत्ता लगाइयो । यो विधि पत्ता लागिसकेको हुनाले आज हामीले राजनीतिक क्रान्तिसँगै एकीकृत गरेर लैजानुपर्दछ । त्यसकारण वैज्ञानिक समाजवादी क्रान्तिमा पुनः प्रतिक्रान्ति हुन नदिन राजनीतिक, आर्थिक र सांस्कृतिक क्रान्ति एकीकृत रूपमा सञ्चालन गर्नुपर्दछ । नयाँ र सिर्जनात्मक रूपले क्रान्तिमा अघि बढ्ने भनेको विज्ञानका नियमहरूको उल्लङ्घन होइन, बरु नयाँ नियमहरूको आविष्कार र विकास हो । त्यसकारण मालेमावादको विकास गर्नुपर्दछ । अथवा नकारात्मक र सकारात्मक दुवै दृष्टिकोणले हेर्नुपर्दछ ।

५) अब हामी निष्कर्षतिर जाँदैछौँ । माक्र्स, लेनिन र माओले आआफ्नो देश, काल र परिस्थितिमा सिद्धान्तमा मात्र होइन, पूरै दुनियाँले देख्ने गरी व्यवहारमा समस्याको समाधान साम्यवादी क्रान्तिद्वारा गर्नुभएको थियो । आज विश्वको प्रधान अन्तरविरोध अति एकाधिकारवादी साम्राज्यवाद र उत्पीडित राष्ट्रहरूबीच रहेको छ । यतिबेला साम्राज्यवाद र नवसाम्राज्यवादका बीचको अन्तरविरोध पनि आमनेसामने भएको छ । श्रम र पुँजीका बीच, साम्राज्यवाद र समाजवाद, क्रिस्चियन र मुस्लिमबीच, हिन्दु र मुस्लिमबीचका अन्तरविरोधहरू गौण रूपमा दृश्यवान् छन् । हाम्रो देश नेपालमा रहेको प्रधान अन्तरविरोध भनेको दलाल पुँजीवाद र नेपाली शोषित–उत्पीडित जनताबीचको हो । पुँजी र श्रमबीच, दलाल पुँजीपति र राष्ट्रिय पुँजीपति तथा मध्यम वर्गबीचका गौण अन्तरविरोधहरू रहेका छन् । यी बाह्य तथा घरेलु अन्तरविरोधहरूको समाधान भनेको मालेमावादी साम्यवाद नै हो ।

चीन र अमेरिकाबीच व्यापारयुद्धको कारण के हो ? अमेरिकाले मध्यपूर्व एसियाका राष्ट्रपति, प्रधानमन्त्री, सैन्य कमान्डरहरूको हत्या किन गरिरहेको छ ? नेपालमा यति ठूला आर्थिक भ्रष्टाचार किन भइरहेका छन् ? किन बलात्कारी र हत्याराहरूको जबाफ निजी सम्पत्तिमाथि आधारित उदारवादी प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, प्रजातान्त्रिक समाजवाद, लोककल्याणकारी व्यवस्थाले दिन सक्दैन । निजी सम्पत्तिको होडले नै प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध भएको हो । ती दुवै विश्वयुद्धलाई साम्यवादी क्रान्तिले रोकेको थियो । प्रथम विश्वयुद्ध रुसबाट सुरु भएको सोभियत सङ्घको क्रान्तिले रोकेको थियो भने दोस्रो विश्वयुद्ध चीन, पूर्वी युरोप र पूर्वी एसियाको विश्वक्रान्तिले रोकेको थियो । आजका उल्लिखित अन्तरविरोधहरू विश्वको विभाजन र पुनर्विभाजनका लागि गरिने विश्वयुद्ध होइन, बरु यो विश्वयुद्ध रोक्न र अन्तरविरोधहरूको सही समाधान गर्ने साम्यवादी विश्वक्रान्तिको आवश्यकता छ । हरेक देशमा हुने साम्यवादको प्रारम्भिक चरण वैज्ञानिक समाजवादी क्रान्ति नै विश्वक्रान्ति हो । यो क्रान्तिले नै हिंसा, युद्ध, भ्रष्टाचार र पारिवारिक कलहको जरो कारण निजी सम्पत्तिको अन्त्य गर्न सामूहिक उत्पादनको सामूहिक स्वामित्व स्थापना भएको सुन्दर समाज व्यवस्था स्थापना गर्नेछ ।

त्यसकारण मालेमावादी साम्यवादको रक्षा, प्रयोग र विकास गर्दै अघि बढ्न आवश्यक छ । साम्यवादलाई दूर भविष्यको विषय बनाउनु हुँदैन । साम्यवादी दलका सदस्यहरूले आफू, आफ्नै दल, समिति र आफ्नै परिवारलाई साम्यवादको एकाइ बनाएर अंशअंशमा नमुना बनाएर साम्यवादको प्रयोग गर्नुपर्दछ । मालेमावादका मूल ग्रन्थहरू र मूल पाठहरू अध्ययन गर्दै त्यसका आधारमा यसको विकास पनि गर्नुपर्दछ ।

२१ फागुन, २०७६

स्रोत : दृष्टिकोण निर्माण मासिक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :