भोलिको सेती–महाकाली बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस

साउन ६ गते सेती–महाकाली बन्दको पूर्वसन्ध्यामा सोमबार नेपाल कम्युनिस्ट पार्टी बैतडीले मशाल जुलुस निकालेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार जिल्लाका पुर्चौंडी, डिलाशैनी, दोगडा केदार, पाटनलगायत विभिन्न स्थानमा मशाल जुलुस निकालिएका छन् ।

नेकपाले कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण, बाढी र पहिरोका कारण आक्रान्त भएका जनताको उद्धार, राहत वितरण, मनोवैज्ञानिक परामर्श र सचेतना कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा आफ्नो पार्टीका नेता–कार्यकर्ताहरुमाथिको गिरफ्तारी, धरपकड, झूट्टा मुद्दा लगाउने काम राज्य पक्षबाट नरोकिएकाले त्यसको विरोधमा कोणसभा, मशाल जुलुससहित साउन ६ गते सुदूरपश्चिम बन्द, ७ र ८ गते सरकारी सवारी साधनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

केही दिनअघि कैलालीबाट गिरफ्तार गरिएका पार्टीका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, ब्युरो सदस्य पूर्णिमा धामीका साथै बैतडीका हिरासतमा रहेका जिल्ला सदस्य लोकेन्द्र धामी र करण ऐरको बिनासर्त ससम्मान रिहाइको माग गर्दै भोलि ६ गते सेती–महाकाली बन्द घोषणा गरिएको नेकपाले जनाएको छ ।

नेकपाले बन्दसहितका सङ्घर्षका कार्यक्रमहरु सफल पार्न किसान, मजदुर, व्यापारी, व्यवसायी, युवा, विद्यार्थी, बुद्धिजीवी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, देशभक्त, राष्ट्रवादी, प्रगतिशील सम्पूर्ण जनसमुदायमा सहयोगका लागि आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :