देशभर बाढीपहिरोको वितण्डा, बस्ती डुबानसँगै ठाउँठाउँमा सडक अवरुद्ध


काठमाडौँ : अविरल वर्षापछि आएको बाढी र पहिरोले देशभर वितण्डा मच्चाएको छ । कयौँ बस्ती डुबानमा परेका छन् भने ठाउँठाउँमा सडक अवरुद्ध हुँदा लकडाउनले थिलथिलो भएर अलिअलि तङ्ग्रिन लागेको जनजीवन झनै प्रभावित बनेको छ ।

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिकाको चार किलो भन्ने स्थानमा सोमबार बिहान ५ बजेतिर दुईवटा बिजुलीका खम्बासहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको हो । लगातर वर्षा भैरहेको र माथिबाट थप पहिरो खसिरहेका कारण पहिरो पन्छाएर बाटो खुलाउन समस्या भएको छ ।

यसैबीच बुटवल सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ । तानसेन नगरपालिका ८ मा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । यसअघि शुक्रबार खसेको पहिरोले राजमार्गको बेसलाइन बगाउनुका साथै एउटा ट्रकसमेत पुरेको थियो ।

यस्तै बाजुरा–साँफे–मार्तडीमा बाढीले पक्की पुल बगाएको छ । यस्तै वर्षापछि आएको बाढीले तराईका विभिन्न ठाउँ डुबानमा परेका छन् भने नदीहरूमा पनि पानीको सतह बढेको छ । यस वर्ष बाढी र पहिरोमा परी सवा सय मानिसको मृत्यु भइसकेको छ भने कयौँ अझै हराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :