सुकुमबासीका छाप्रामा आगो

काठमाडौँ : केपी वली सरकारले साउन ४ गते आइतबार चितवनस्थित बाँदरझुल्लाको सुकुमबासी बस्तीका २ वटा घरमा आगो लगाएर खरानी बनाएको छ भने ८ वटा छाप्रा हात्ती लगाएर भत्काएको छ । माडी नगरपालिका वडा नं. ९ (साबिक आयोध्यापुरी १) मा राष्ट्रिय निकुञ्जका बीचमा रहेको उक्त जग्गामा ३१ वर्षदेखि अर्थात् २०४६ सालदेखि सुकुमबासीहरू बस्दै आएका छन् जहाँ अधिकांश चेपाङ जाति र दुराडाँडाका दुरा जातिका सकुमबासीहरूको बसोबास रहेको छ । यसअघि पनि उक्त बस्तीमा सरकारले आगजनी र तोडफोड गरेको थियो ।

चितवनमा आइतबार बिहानैदेखि भीषण वर्षा भइरहेको थियो । ‘खोलानाला बढेका कारण अन्य वडाबाट आउजाउ बन्द थियो । फोन सेवा पनि बन्द थियो । त्यही बेला केही थाहा नदिई हात्ती र मोटरमा आएका मान्छेले आगो लगाए’, स्थानीय कृष्ण प्रजाले दुखेसो पोखे । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले आफूलाई कुनै जानकारी नदिईकन सुकुमबासी बस्तीमा आगजनी भएको विज्ञप्ति आइतबार साँझ जारी गरेका छन् ।

उक्त बस्ती निकुञ्जको बीचमा रहेको हुनाले विधिसम्मत तरिकाले स्थानान्तरण गर्ने बहस चलिरहेको भए पनि सार्थक काम भइरहेको छैन । सुकुमबासीहरूलाई बसोबास र रोजागारको व्यवस्था गरेर स्थानान्तरण गर्नुपर्नेमा मुसलधारे पानी परिरहेको बेला एकाएक आगजनी गरेर सुकुमबासीका झुप्रा डढाउनुले सरकार कसको नियन्त्रणमा छ र कसको प्रतिनिधित्व गरिरहेको छ भन्ने प्रश्न उठेको छ ।

उक्त बस्तीमा बसेकै वर्ष जन्मेको बच्चा आज ३१ बर्से लक्का जवान भइसकेको छ जसलाई आफ्नो थातथलो बाँदरझुल्लाबाहेक अन्यत्र कहाँ हो थाहा छैन । उक्त पीडित गाउँ सत्तारूढ पार्टीका कनिष्ट अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र पनि हो । उक्त घटनासम्बन्धमा दाहालको अझसम्म कुनै प्रतिक्रिया आएको छैन । विप्लव नेतृत्वको नेकपा चितवनले उक्त अक्षम्य घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । चितवनका प्रचण्ड पक्षधर नेताहरूले भने प्रचण्डको बदनाम गर्न रक्षा मन्त्रालयले नियोजित रूपमा यस्तो घटना गराएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :