प्रहरीको युनिफर्ममा पनि भ्रष्टाचार

काठमाडौँ : प्रहरी जवानले पाउनुपर्ने पोसाक र जुत्तामा समेत व्यापक भ्रष्टाचार भएको पाइएको छ । सर्लाही घर भै चितवन जिप्रकामा कार्यरत एक असई भन्छन्, ‘३ वर्ष भयो प्रहरी सेवामा काम गर्न थालेको तर एकपटक पनि पोसाक र जुत्ता पाएको छैन । दरबन्दी भएको ठाउँमा उतैबाट लैजानु भन्छ । चितवनमा दरबन्दी भएको स्थानमा माग् भन्छ ।’

उनी थप्छन्, ‘४ सय प्रहरी दरबन्दी भएको स्थानमा ५० वटा पठाउँछन् । त्यो पनि अफिसर र उनका आसेपासेलाई ठिक्क हुन्छ ।’ उनले हाँस्दै भने, ‘हामी त मधेसिया भइहाल्यौँ । धेरै भेदभाव छ नि सर । भन्न पनि नहुने, के गर्ने !’

‘मासिक २० हजार तलबले युनिफर्म, जुत्तासमेत आफैँले किनेर लगाउनुपर्छ । अनि कसरी पुग्छ ? सरकारले नै भ्रष्टाचार गर्न लगाउँदो रहेछ’, उनी भन्छन् । ३ वर्षमा १ जोर जुत्ता र हरेक वर्ष पोसाक पाउनुपर्ने कानुनी प्रावधान छ ।

रौतहट घर भई जिप्रका चितवनमा कार्यरत एक जवान भन्छन्, ‘३ वर्षमा एक जोर जुत्ता पाउनुपर्ने हो मैले, ५ वर्ष भइसक्यो, पाएकै छैन । आफ्नै तलबबाट किनेर लगाएको छु । १४ वर्ष भयो जागिर खाएको, पोसाक ३ पटक मात्र पाएको छु ।

घरबिदा वर्षमा ८० दिन पाउनुपर्नेमा आफूले १० दिन मात्र पाएको र घरबिदामा पनि भेदभाव हुने गरेको यादव थरका ती जवानको गुनासो छ । त्यसकारण प्रहरीमा तालिम लिने र त्यसपछि जागिर छोडेर अरब जानेको सङ्ख्या बढिरहेको प्रहरी जवानको बुझाइ छ । एकातिर गुप्तचरी कार्यका लागि भन्दै करोडाँै राजस्व स्वाहा पारिएको छ । भाबी चुनावका लागि रकम थुपार्न थालिएको छ भने प्रहरी जवानको लुगा र जुत्तासमेत गृह मन्त्रालय, गृहसचिव र आईजीपीको मिलोमतोमा झ्वाम पार्ने गरिएको छ । काठमाडौँका ३ जिल्लामा भने वितरण गर्ने र देशभरिका हजारौँ जवानको गाँस खोसेर खाने गरेको अवस्था छ । प्रहरी जवानहरू सबैको एउटै स्वर छ– हाम्रो पोसाक र जुत्ता कसले खान्छ ? तर उनीहरू गुनासो गर्नसमेत पाउँदैनन् । ‘चेन अफ कमान्ड’ भनेको लुटपाट पक्कै होइन । जिम्मेवार निकायले छानबिन गर्न र सत्यतथ्य सार्वजनिक गर्न आवश्यक छ ।

प्रहरी जवान, हबल्दार र असईहरूको सुरक्षालाई ध्यानमा राखेर उनीहरूको नाम र ठेगाना गोप्य राखिएको छ । कञ्चनपुर, सुर्खेत, दाङ, रूपन्देही, नवलपुर, चितवन, धादिङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र इलामका प्रहरीसँगको छलफलका आधारमा यो तथ्य सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :