पहिरोले भत्केको सडक नेकपाले गर्यो मर्मत, जनताले पाए राहत

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले वर्षाले गर्दा पहिरो गएपछि बाटो अवरुद्ध भएर बजार जान–आउनबाट वञ्चित भएकाले जिल्ला पार्टीको नेतृत्वमा मर्मत गरी सञ्चालनमा ल्याएको छ । यसबाट स्थानीय जनताले राहत पाएका छन् ।

जिल्ला जनसरकार प्रमुख विशाल, युवा सङ्गठन नेपाल नवलपुरका अध्यक्ष अविनाश, अखिल (क्रान्तिकारी) नवलपुर जिल्लाका उपाध्यक्ष स्वरूपसहित पाँचजनाको नेतृत्वमा एक दर्जनभन्दा बढी स्थानीय जनताको सहभागितामा पहिरोका कारण अवरुद्ध मोटरबाटो कुटो, कोदालो, बेल्चा र गैंँची प्रयोग गरेर सञ्चालनमा ल्याइएको हो । नेकपाले जिल्लाको हुप्सिकोट गाउँपालिकाको सय मिटर अवरुद्ध मोटरबाटो सञ्चालनमा ल्याएको छ ।

स्थानीय जनप्रतिनिधि कर बढाउने र भ्रष्टाचारमा व्याप्त भएको तथा आमजनताको जीवनस्तरमा ध्यान दिन नसकेको भन्दै युवाका अध्यक्ष अविनाशले त्यस्ता जनप्रतिनिधिलाई लखेट्नुको विकल्प नरहेको बताए । स्थानीय जनताले जिल्ला पार्टीलाई धन्यवाद व्यक्त गर्नुका साथै पार्टीप्रति आफ्नो साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :