मौद्रिक नीति गरिबलाई चुस्ने र दलाल पुँजीपतिलाई पोस्ने : किरण

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले नेपाल राष्ट्र बैङ्कले बाहिर ल्याएको ०७७/०७८ को मौद्रिक नीति मजदुर, किसानलगायत आम श्रमजीवी वर्गलाई चुस्ने, राष्ट्रिय पुँजीपतिवर्गलाई टाउको उठाउन नदिने तर दलाल पुँजीपति वर्गलाई पोस्ने प्रकारको रहेको बताएका छन् ।

विज्ञप्ति जारी गर्दै नेता किरणले नवउदारवादको सिरानी हालेर तयार पारिएको यो मौद्रिक नीतिले देशलाई अरू पराधीन र कङ्गाल बनाउने निश्चित भएको भन्दै किरणले यसले सरकारको ‘सुखी नेपाली र समृद्ध नेपाल’ को नारा जनतालाई लोभ्याउने र देश लुट्ने हतियारबाहेक अरू केही होइन भन्ने कुरालाई थप प्रमाणित गरेको बताएका छन् ।

उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको वास्तविक नक्सालाई सार्वजनिक गरेर नेपालको निशाना छापमा समावेश गरिसकेपछि त्यसको कार्यान्वयनलाई सरकारले जोड नदिएको पनि बताएका छन् ।

किरणले आइतबार पे्रस विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई ओझेलमा पार्न प्रम केपी वलीले असान्दर्भिक र उट्पट्याङ कुराहरू गरेर त्यो निर्णयलाई ओझेलमा पार्ने र पर सार्ने काम गर्दै आएको पनि बताए ।

यस्तै किरणले प्याब्सन र एनप्याब्सनद्वारा गरिएको निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई अनिश्चितकालीन बेतलबी बिदा दिने निर्णय अत्यन्त अन्यायपूर्ण रहेको भन्दै नाफा कमाउन प्रयोग गर्ने र घाटा हुने स्थितिमा मिल्काउने निजी क्षेत्रको यो निर्णयको विरोध गरे । नेता किरणले विज्ञप्तिमा हस्तक्षेप गरी ती शिक्षक तथा कर्मचारीलाई तलब सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे ।

नेता किरणले लकडाउन तथा आर्थिक समस्याका कारण विदेशमा अलपत्र परेका नेपाली मजदुरलाई सरकारी खर्चमा अविलम्ब देशमा ल्याउन र ती मजदुरलगायत सबै बेरोजगारलाई रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :