प्युठानमा भएको दुर्घटनाप्रति नेकपा राप्ती ब्युरोद्वारा दुःख व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले साउन ३ गते राती ११ बजे प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका रुमालेमा भएको सवारी दुर्घटनामा परी ७ जना मजदुरहरूको मृत्यु भएको घटनाले स्तब्ध भएको बताएको छ ।

ब्युरो इन्चार्ज समरले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्युठान जिल्लाको भिङ्गृ–स्वर्गद्वारी सडकखण्डमा कार्यरत मृतक मजदुरहरू रुन्टीगढी गाउँपालिका ५ का बाइजा रोल्पाका १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन थापामगर, २१ वर्षीय सागर बस्नेत, २५ वर्षीय कविराम बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १४ वर्षीय गोबद्र्धन बुढामगर र त्रिवेणी गाउँपालिका २ रोल्पाका ट्र्याक्टर चालक २५ वर्षीय कलम कुँवरप्रति हाम्रो पार्टी राप्ती ब्युरोका तर्फबाट श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै उनले शोकाकुल परिवार, आफन्तजन तथा इष्टमित्रहरूमा पर्न गएको दुःखप्रति गहिरो समवेदना व्यक्त गर्दै घटनामा परी घाइते भएका रुन्टीगढी गाउँपालिका ५ रोल्पाकै २० वर्षीय विशाल थापाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

विज्ञप्तिमा इन्चार्ज समरले कोभिड १९ (कोरोना) को महामारी देशव्यापी बाढी, पहिरो तथा डुबानका कारण भइरहेका जनधनको अपूरणीय क्षति, देशव्यापी भइरहेका सवारी दुर्घटनाहरू र पछिल्लोपटक भएको उक्त दुर्घटनाले पार्टीलाई थप पीडाबोध बनाएको बताएका छन् । उनले घटनाको लगत्तै उद्धार गर्न सकिएको भए मानवीय क्षति कम गर्न सकिने भन्दै उत्कृष्ट वैज्ञानिक समाजवादी राज्यसत्ता निर्माणको अभियानमा यात्रारत पार्टीका नेता र कार्यकर्ताहरूको विरुद्ध जहाँ र जस्तोसुकै ठाउँमा पनि पुग्नसक्ने सरकारको स्थानीय प्रशासन घटना भएको स्थानमा भोलिपल्ट मात्रै पुग्नुले वर्तमान सरकार जनउत्तरदायी नभएको तथ्यलाई स्पष्ट गरेको बताएका छन् ।

उनले मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति दिनुपर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘मृतक मजदुरका परिवारहरूलाई तत्काल क्षतिपूर्ति तथा आवश्यक राहत उपलब्ध गराउनुका साथै आईएलओ १६९ अनुसार मजदुरहरूले पाउनुपर्ने सम्पूर्ण सेवासुविधाहरू प्रदान गर्न हाम्रो पार्टी सरोकारवाला निकायहरूमा हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :