बरबर रावलगायत लेखक संस्कृतिकर्मीलाई रिहा गर : अखिल नेपाल लेखक सङ्घ


बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले झुठा मुद्दामा फसाइएर भारतको महाराष्ट्रस्थित तलोजा जेलमा राखिएका क्रान्तिकारी कवि एवं माक्र्सवादी संस्कृतिकर्मी बरबर राव र नेपालमा साहित्यकार एवं लेखक एचपी हिमाली, अनिल विरही, जनप्रिय कलाकार माइला लामा लगायत राजबन्दीहरुलाई अबिलम्ब रिहाइ गर्न माग गरेको छ ।

सङ्घका महासचिव खोमा तरामु मगरले शनिबार एक प्रेस वक्तव्य जारी गर्दै भारतीय क्रान्तिकारी आन्दोलनमा ६० वर्षदेखि समर्पित ८१ वर्षीय रावको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको बेला कोरोना भाइरस (कोभिड १९) बाट समेत सङ्क्रमित हुनुभएको तर भारतको मोदी सरकारले उहाँको उपचार र जीवनरक्षाप्रति कुनै चासो नदेखाएको बताएका छन् । त्यसैगरी उनले नेपालमा लेखक एवम् साहित्यकार एचपी हिमाली, अनिल विरही, जनप्रिय कलाकार माइला लामालगायत राजबन्दीहरूले जेल, हिरासत र सरकारी निगरानीको कठोर जीवन बिताइरहनु परेको भन्दै उहाँहरुलाई रिहाइ नगरेर मोदी र केपी वली सरकार लेखक, बुद्धिजीवीहरूप्रति असाध्यै संवेदनहीन, क्रूर र फासिस्ट रहेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘हामी नरेन्द्र मोदी, केपी वलीलगायत सरकारका फासिवादी दमन र नीतिको घोर निन्दा एवम् भत्र्सना गर्दै नेपाल, भारतलगायत संसारभरका जेल तथा हिरासतमा रहेका माक्र्सवादी लेखक एवम् संस्कृतिकर्मीहरूको रिहाइका लागि रावका परिवारजन, बुद्धिजीवी, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सम्पूर्ण न्यायप्रेमी जनताले विश्वभर चलाएको अभियानप्रति ऐक्यबद्धता प्रकट गर्दछौँ र सम्पूर्ण आस्थाका बन्दीहरूको यथाशीघ्र रिहाइ तथा जीवनरक्षाको माग गर्दै कवि रावको उपचारको आवश्यक व्यवस्था तत्काल मिलाउन जोडदार माग गर्दछौँ ।’

त्यसैगरी टर्कीको फासिवादी सत्ताका विरुद्ध सङ्घर्षका क्रममा जेलमा मारिएका विद्रोही योरुम सांस्कृतिक समूहका योद्धा हेलिन बोलेक, इब्राहिम गोसेक, मुस्ताफा कोकाकहरूको त्याग, शौर्य र बलिदानको उच्च सम्मान गर्दै संसारभरकै फासिवादी शासकहरूको क्रान्तिकारीमाथिको दमनको घोर निन्दा एवम् भत्र्सना समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :