भारतीय सेनामा गोर्खा भर्तीको इतिहास

भूमिका

१८ औँ शताब्दीमा इस्ट इन्डिया कम्पनीले छिमेकी देश भारतमा एउटा कम्पनीका रूपमा आफूलाई स्थापित गरेको थियो र बिस्तारै भारत देशलाई नै उपनिवेशको संज्ञामा अङ्ग्रेजले कब्जा गर्न पुग्यो । साम्राज्यवादको नीतिअनुरूप अङ्ग्रेजले भारतमा पाउ जमाएपछि नेपालसँग द्वन्द्व टकरावको स्थिति उत्पन्न गरेको थियो । नेपाल पनि आफ्नै सेना विस्तार र सुशासनका निम्ति लागेको थियो । सन् १७६७ मा अङ्ग्रेजले झन्डै २५०० सेनाद्वारा आधुनिक हतियारसहित नेपालमाथि आक्रमण गर्यो जसको प्रतिवाद गर्दै गोर्खाली सेनाले खुकुरी र लाठीको भरमा धेरै कम गोर्खाली सैनिकद्वारा असफल पारिदिए । यो लडाइँबाट अङ्ग्रेजले गोर्खाको वीरतालाई मानसिक विधिद्वारा हल गर्न चाहन्थ्यो । फलस्वरूप गोर्खालीलाई सेनाका रूपमा निकै चतुर्याइँपूर्वक अङ्ग्रेज सेनामा प्रवेशका लागि प्रस्ताव पेस गरेलगत्तै गोर्खाली सेनाको इतिहास सुरु भएको थियो ।

विषय प्रवेश

हिम्मतको पहाड, इमानदारीको मिसाल, बफादारीको आदर्श र बहादुरीको पराकाष्टा हुन् गोर्खाली सैनिक भन्ने मान्यतालाई स्वीकार्छन् भारतीय राष्ट्रवादी, देशभक्त र कर्मठ योद्धाहरू अनि सैनिक कमान्डरहरू र नेतृत्वहरूले नजरअन्दाज सुरु गर्छन्– दुस्मनलाई मार्नुभन्दा आगाडि आफ्नो डरलाई मार्नु र डराउनुभन्दा मर्नु राम्रो हुन्छ भन्ने मान्यतामा गोर्खाली सेनालाई पथप्रदर्शन गर्ने गर्दछन् । गोर्खाली सिपाहीहरू मर्ने र मार्नेमा मात्र प्रेरित हुँदैनन्, अनुशासन र सत्यमा जीवन आहुति दिन तयार हुन्छन् । एउटा सिपाहीले सारा संसारभर गोर्खालीको पहिचान राख्नका लागि आफू र आफ्नो राष्ट्रलाई प्रतीकका रूपमा प्रदर्शन गर्छ । नजाने वास्तविकता अर्काको हातमा छ । बिनास्वार्थ जमिनको १ इन्च भूभाग मिच्दा पनि ती सिपाही जीवन आहुति दिन तयार हुन्छन् । नजाने त्यो भूमिमा राज्यको के कूटनीति छ ? अनि प्रश्न गर्छन्– मातृभूमिलाई सम्झन्छन्– मेरो जिम्मा यहाँ हो कि नेपालमा ? बिस्तारै नेपालको प्राकृतिक स्रोत, साधन र उत्पादक शक्तिलाई पलायन गराउनमा तल्लीन रहन्छन् । नेपाली विद्वान्हरूले छुट्टै पथमा मोडिदिनछन् । प्रत्येक क्षण र मोर्चामा नेपालीले उल्लेखनीय रूपमा खट्नु परेको तर त्यसको प्रतिफल भने कदापि पाउन नसकेबाट विरोध र विद्रोहमा उठ्नुपरेको इतिहास ताजा छ ।

गोर्खाको इतिहासमा आफूलाई उभ्याउँदा सन् १८१४–१८१६ को अतीततिर फर्काउँछ जहाँ हाम्रा पुर्खाहरूले बहादुरी सिद्ध गरेका थिए तर त्यसपछि राजनीतिक, कूटनीतिक र अनेक समय सन्दर्भले हामी अर्काका लागि लड्ने र पेटका लागि मर्ने लाहुरे बनाइयौँ । गोर्खा सैनिकलाई भारतका पक्षबाट हरेक लडाइँमा सामेल गरियो । विश्वमा हाम्रै रगत बग्यो । भारतको स्वतन्त्रताको लडाइँमा फाँसीसम्मको बलिदान गोर्खा सैनिकको इतिहासमा दुर्गा मल्ल र दिलबहादुर थापामगरको नाममा लिपिबद्ध छ ।

भारतीय सेनामा गोर्खा

दोस्रो विश्वयुद्धपछि एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा राष्ट्रिय स्वतन्त्रता आन्दोलनको लहर उर्लियो । भारतमा अन्ततः धेरै आन्दोलनको दबाबबाट १४ अगस्ट १९४७ मा पाकिस्तान र १५ अगस्ट १९४७ मा भारत स्वतन्त्र भए । स्वतन्त्रतासँगसँगै अङ्ग्रेजहरूले आफूसँग भएका गोर्खा रेजिमेन्टका बारेमा पनि छलफल चलाउन थाले । छलफल कहाँसम्म पुग्यो भने भारतले गोर्खा रेजिमेन्ट नछोडे ब्रिटेनले अन्दामान निकोवार द्वीप नछोड्ने धम्की दिएपछि गोर्खाली सेनालाई अङ्ग्रेज र भारतबीच बाँडफाँट गर्ने सहमति भयो । सन् ७ नोभेम्बेर १९४७ का दिन नेपाल, भारत र संयुक्त अधिराज्यबीच वार्तापछि गोर्खा भर्तीका लागि त्रिपक्षीय सम्झौता भयो जसअन्तर्गत निम्नबमोजिम बाँडफाँट गरियो : 

भारत                                          ब्रिटिस सेना
१ गोर्खा रेजिमेन्ट ६ बटालियन         २ गोर्खा रेजिमेन्ट
३ गोर्खा रेजिमेन्ट ५ बटालियन         ६ गोर्खा रेजिमेन्ट
४ गोर्खा रेजिमेन्ट ५ बटालियन        ७ गोर्खा रेजिमेन्ट
५ गोर्खा रेजिमेन्ट ५ बटालियन        १० गोर्खा रेजिमेन्ट
८ गोर्खा रेजिमेन्ट ६ बटालियन        ९ गोर्खा रेजिमेन्ट ५ बटालियन
११ गोर्खा रेजिमेन्ट ६ बटालियन       प्रथम मेगानिज्म १ बटालियन

समुद्रपारि नजानेबीच जनमत गरी ११ गोर्खा रेजिमेन्ट भारतमा र ४ वटा रेजिमेन्ट ब्रिटिसमा गरी बाँडफाँट गरियो । स्वतन्त्रतापछिको भारतले आफ्नो सुरक्षा आवश्यकताअनुसार आफ्नो मातहतका गोर्खा रेजिमेन्टलाई आन्तरिक सुरक्षा, छिमेकीविरुद्धको लडाइँमा र शान्ति सेनामा पनि उपयोग गर्दै आएको छ । सुगौली सन्धिपछि भारतमा गाभिएको भूभागमा रहेका नेपालीहरू स्वतः भारतीय नागरिक भए । भारतका अन्य भूभागमा छरिएका नेपाली पनि गोर्खा रेजिमेन्टमा भर्ती भएका छन् । हाल समय, परिस्थिति र राजनीतिअनुसार गोर्खा सेनामा भारतीय गोर्खा र नेपाली गोर्खा गरी विभाजन गरिएको छ । मूलतः नेपाली ६०.५ र भारतीय ४०.५ गरी भर्ती गरिन्छ । त्यसैगरी आसाम राइफल, ज्याक राइफल र स्टेट पुलिसमा भर्ती लिने गरिन्थ्यो । हाल आएर सम्पूर्ण अन्य भर्तीहरू बन्द गरिएका छन् । वर्तमान अवस्थामा अन्य रेजिमेन्टको भर्तीमा फेरबदल भएकाले पुरानो तथ्याङ्क वर्तमान तथ्याङ्कसँग मेल खाँदैन । हाल भारतीय सेनामा झन्डै चालीस हजारको सङ्ख्याबाट घटेर चौबीस हजार (२४,०००) सङ्ख्या गोर्खा सेना रहेको अनुमान गर्न सकिन्छ र एक लाख पच्चीस हजार (१,२५,०००) ले पेन्सनलगायत सुविधा पाउँछन् । भारत सरकारले आफ्नो सुरक्षा आवश्यकताअनुसार आफ्नो मातहतका गोर्खा रेजिमेन्टलाई विश्वयुद्ध, भारत–पाकिस्तान युद्ध (१९४७, १९६५, १९७१, १९९९,) भारत–चीन युद्ध (१९६२), आन्तरिक सुरक्षा, छिमेकीविरुद्धको लडाइँ र शान्ति सेनामा पनि उपयोग गर्दै आएको छ । त्यस्तै कस्मिर, उत्तरपूर्वी भारत, ‘विखण्डनवाद’ र ‘अतिवाद’ विरुद्ध भन्दै प्रयोग गर्दै आएको छ । । साह्रोगाह्रो, जोखिमयुक्त क्षेत्रमा गोर्खालीहरूको प्रयोग अग्रपङ्क्तिमा गर्दै आइरहेको छ । कारगिल, सियाचिन क्षेत्रमा गोर्खाली प्रयोग गरिएका छन् । श्रीलङ्कामा लिट्टेविरुद्ध गोर्खा सैनिक प्रयोग भएको छ । बङ्गलादेशको मुक्ति सङ्ग्राममा र सान्तिसेनाअन्तर्गत लेबनान, सिरिया, कङ्गोलगायत ठाउँमा खटाएको पनि उल्लेखनीय छ । भारतीय सेनामा गोर्खाहरूले विभिन्न अपरेसन र युद्धहरूमा हालसम्म भिक्टोरिया क्रस, परमवीर चक्र, महावीर चक्र, वीर चक्र, सेना मेडल पदकहरू प्राप्त गरेका छन् ।

निष्कर्ष

नेपालको सन्दर्भमा भन्नुपर्दा जब भारतीय सेनामा गोर्खालीको भर्ती आरम्भ भयो तबदेखि नै पलायनका विभिन्न स्वरूपहरू देखा पर्न थाले । वर्तामान समयसम्म आइपुग्दा ३ करोड जनसङ्ख्यमा झन्डै ८० लाख युवाको सङ्ख्या बिदेसिएको छ । आज नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्र पराधीनताको अवस्थामा पुगिसकेको छ । भनिन्छ, नेपाली नपुगेको देश नै छैन । तथ्याङ्कको आधारमा भन्नु पर्दा दैनिक १,८०० युवाहरू बिदेसिन पुग्छन् भने दैनिक ४ वटा लास नेपालमा भित्रिन्छन् । यो परम्परा कायम रहनु भनेको नेपाली जनताहरू र नेतृत्वको ध्यान नपुग्नु हो । देशलाई उत्पादनमा जोड नदिनु र रेमिट्यान्सका भरमा बाँच्ने परम्पराले समृद्धि हुन सक्दैन । जब युवाशक्ति, स्रोतसाधन अर्काको हातमा पर्छ तब विकास कसरी हुन्छ ? आजको समयमा आइपुग्दा भारतले एकतर्फी निर्णय गरेको प्रस्ट छ । नेपाली गोर्खाली र भारतीय गोर्खाली गरी विभाजन गरेको छ । सेनाको मर्जी प्रयोगले अन्य मुलुकसँगको सम्बन्धमा तिक्तता बढेको छ । आज विश्वमा विज्ञान र प्राविधिक प्रतिस्पर्धा छ तर पनि मुलुकले गति लिन सकेको छैन । विगतदेखिका असमान सन्धिहरूलाई परिमार्जन गरी समान भाइचाराको सम्बन्धलाई अगाडि बढाउनुपर्ने स्थिति छ । आफ्नै मुलुकको सीमा, स्रोत, सुरक्षाजस्ता विषयमा बहसको आवश्यकतालाई यो सूचानाले अहम भूमिका निर्वाह गर्ने विश्वास गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :