क्रान्तिकारी कवि बरबर रावको परिवारद्वारा जीवनरक्षाको माग

मोदी सरकारले रावलाई जेलमै मार्न लागेको भन्दै व्यापक विरोध

काठमाडौँ : लोकतन्त्रको आवरणमा फासिवाद लागू गरिरहेका संसारकै तानाशाहहरु उस्तै हुन् चाहे अमेरिकाका डोनाल्ड ट्रम्प, चाहे भारतका नरेन्द्र मोदी होऊन् वा नेपालका केपी वलीहरु । क्रान्तिकारीहरुविरुद्ध तिनले गर्ने व्यवहार भनेको एउटै र उस्तै हो । भारतका ८१ वर्षीय क्रान्तिकारी कवि तथा विचारक बरबर रावमाथि मोदी सरकारले लगाएको झूट्टा मुद्दा र पाशविक दमनले अमेरिकाका जर्ज फ्लोइडको हत्या र रुकुमका नवराज विकहरुको नरसंहारलाई सम्झाइरहेको छ । चेतनाका वाहक लेखक/संस्कृतिकर्मीहरुलाई जबर्जस्ती ‘आतङ्ककारी’ घोषणा गर्दै जेलमा यातना दिएर सडाउने काम चन्द्रशमशेरले मकैको खेतीका लेखक कृष्णलाल अधिकारीलाई मात्र होइन, केपी वलीले सुदर्शन र माइला लामाहरुलाई जेलमा सडाएर पनि गरिरहेका छन् भने वलीका मार्गदर्शक नरेन्द्र मोदीले बरबर रावहरुलाई जेलमा राखेर त्यही दोहो¥याइरहेका छन् ।

मोदीले बरबर रावलाई अहिले मुम्बईस्थित तलोजा जेलमा राखेका छन् । रावको पविारले जीवनरक्षाको माग गरेको छ । संसारभरका क्रान्तिकारी संस्कृतिकर्मीहरुले रावको तत्काल रिहाइको माग गरे पनि मोदीले सुनेका छैनन् । भीम कोरेगाउँ घटनासित जोडेर माओवादीको अभियोग लगाएर २० महिनादेखि रावलाई जेलमा राखिएको छ । विभिन्न रोगले ग्रस्त राव जेलमै अचेत अवस्थामा पुगेपछि केही समयपहिले अस्पतालमा लगिए पनि राम्रोसित उपचार नै नगरी पुनः जेलमा पठाइएको थियो । उनको रिहाइका लागि विश्वभरबाट विद्वान्, प्राध्यापक र लेखकहरूले अभियान चलाए पनि भारतीय फासिवादी मोदी सरकारले पटक्कै सुनेको छैन ।

११ जुलाईका दिन रावको स्वास्थ्य एकदमै खराब भएको भन्ने समाचार बाहिर आएको थियो । अनेक किसिमका आशङ्का पनि गरिएको थियो । बेसुरका कुरा गर्ने र बोल्न पनि नसक्ने उनको अवस्थाले विश्वका न्यायप्रेमी समुदाय र बौद्धिक क्षेत्रलाई चिन्तित तुल्यायो । माक्र्सवादी संस्कृतिकर्मीहरुले बरबर रावलगायत जेलभित्रै सडाइएका नेपाल, भारत, टर्कीलगायत मुलुकका संस्कृतिकर्मीहरुको रिहाइका लागि अभियान पनि चलाइयो ।

यसै क्रममा बरबर रावको परिवारका सदस्यहरुले वक्तव्य जारी गर्दै जीवनरक्षाको माग गरेका छन् ।

“We make only one demand- Dont kill him in jail”  नारा सर्वत्र गुन्जिएको छ । नेपालका माक्र्सवादी स्रष्टा र संस्कृतिकर्मीका तर्फबाट हामी क्रान्तिकारी कवि रावको सुविधासम्पन्न अस्पतालमा स्वास्थ्योपचारको व्यवस्था मिलाउन र शीघ्रातिशीघ्र रिहा गर्न माग गर्दछौँ ।

बरबर रावको परिवारका तर्फबाट जारी गरिएको वक्तव्य : बरबर रावलाई जेलमै नमार

हामीहरू नवी मुम्बई तलोजा जेलमा कैद विश्वचर्चित तेलगु क्रान्तिकारी कवि तथा जनताका बुद्धिजीवी बरबर रावको परिवारका सदस्यहरू, उहाँको बिग्रँदो स्वास्थ्यलाई लिएर एकदमै चिन्तित छौँ । छ साताअघि जतिबेर २८ मे २०२० मा अचेत अवस्थामा उहाँलाई तलोजा जेलबाट जेजे अस्पतालमा लगिएको थियो त्यतिबेरदेखि नै उहाँको स्वास्थ्य एकदमै नराम्रो गरी बिग्रेको छ । उहाँको स्वास्थ्यमा कुनै सुधार नै नभई अस्पतालबाट डिस्चार्ज गरेर पुनः जेलमा पठाइएको थियो । उहाँलाई निरन्तर स्वास्थ्य सुविधा र इमर्जेन्सी चिकित्सीय औषधीउपचारको अहिले पनि आवश्यकता छ ।

हाम्रो चिन्ताको थप कारण निरन्तर रूपमा आइरहेको उहाँको फोन हो । शनिबार साँझ उहाँको लगातार फोन आएको थियो । यसले हामीलाई थप चिन्तित तुल्याएको छ । २४ जुन र २ जुलाईमा आएको फोनको आवाज पनि एकदमै मधुरो र चिन्ता जगाउने खालको थियो । उहाँको बोली लर्बरिएको थियो र बेलाबेलामा केके भन्दै हिन्दीमा बोल्नुहुन्थ्यो । तेलगु मात्र नभएर हिन्दीसमेत फरर्र बोल्ने प्रखर वक्ताको त्यस किसिमको लर्बरिएको र बर्बराएको बोली चिन्ता जगाउने र डर लाग्ने खालको नै थियो ।

११ जुलाईमा आएको फोन अझ बढी अत्याउने किसिमको र एकदमै चिन्ताजनक थियो । उहाँले आफ्नो स्वास्थ्यका बारेमा प्रस्ट कुरा नगरेर आमाबाको अन्तिम संस्कारका सम्बन्धमा बेसुरका कुरा गर्नुभयो जुन सात दशक र चार दशकअघिको कुरा थियो । एउटै आरोपमा जेलमा रहेका अर्का आरोपी कैदी साथीले फोनबाट हामीलाई उहाँ आफैँ हिँडेर शौचालय जान नसक्ने र दाँत ब्रस गर्ने पनि नसक्ने स्थितिमा रहेको भन्ने कुराको जानकारी दिनुभयो । आफू रिहा हुँदैछु र जेलको ढोकामा आफ्नो परिवार पर्खेर बसेका छन् भन्ने कुराको भ्रम उहाँमा परेको कुरा पनि उहाँले जानकारी दिनुभयो ।

जेलमा रहेका साथीले शारीरिक दृष्टिले मात्र नभई न्युरोलोजिकल समस्याका दृष्टिले पनि उहाँमा समस्या रहेकाले तुरुन्तै चिकित्सीय उपचार आवश्यक रहेको कुरा सुनाउनुभयो । बेसुर हुने, बिर्सने शरीरमा सोडियम र पोटासियमको अभावका कारणले हो र यसले मस्तिष्कलाई नोक्सान पुर्याउने गर्दछ । इलेक्ट्रोलाइट असन्तुलन ले ज्यानै पनि लिन सक्छ । तलोजा जेलमा यस किसिमको गम्भीर बिमारीका लागि न चिकित्सा विशेषज्ञहरू छन्, न त आवश्यक उपकरणहरू नै । त्यसैले उहाँको जीवनरक्षाका लागि र इलेक्ट्रोलाइट असन्तुलनका कारण सम्भावित मस्तिष्क क्षति र जीवन जोखिमबाट बचाउनका लागि तत्काल कुनै विशेष अस्पतालमा स्थानान्तरित गर्नु जरुरी छ ।

उहाँलाई जुन किसिमको मुद्दा लगाइएको छ, त्यसैका नाममा सबै कुरा पर सारेर बेवास्ता गरिएको छ । उहाँलाई विचाराधीन कैदीका रूपमा २२ महिना जेलमा राखियो र बिनाजाँचपडताल र अनुसन्धान त्यसैलाई सजायमा बदलेर जेलमा राखिएको छ । उहाँको जमानत याचिकालाई पाँचपल्ट खारेज गरिसकिएको छ । कहाँसम्म भने उहाँको उमेर, खराब स्वास्थ्य र कोभिड १९ को जोखिमलाई लिएर गरिएको विशेष याचिकाको पनि बेवास्ता गरियो ।

हाम्रा लागि उहाँको जीवनरक्षा सबैभन्दा चिन्ताको विषय बनेको छ । यतिबेला हाम्रो माग भनेको उहाँको जीवनको सुरक्षा हो । उहाँलाई औषधीउपचारका लागि सुविधासम्पन्न अस्पतालमा लगियोस् र आवश्यक औषधीउपचार गरियोस् भन्ने माग यतिबेर हामी सरकारसित गर्दछौँ । कुनै पनि व्यक्तिलाई उसको बाँच्ने अधिकारबाट वञ्चित गर्ने अधिकार छैन, एउटा विचाराधीन बन्दीका सम्बन्धमा त झनै छैन भनेर हामी सरकालाई सम्झना दिलाउन चाहन्छौँ ।

पी. हेमलता : पत्नी
पी. सहजता, पी. अनला, पी पावना : छोरीहरू

१२ जुलाई, २०२०

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :