राष्ट्रिय उद्यमीहरूलाई धराशयी बनाउने काम नगर : प्रकाण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरस र बन्दाबन्दीले थलापरेका राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरूको घाउमा नुनचुक छर्ने सरकार र वित्तीय बैङ्कहरूको रबैया पार्टीले टुलुटुलु हेरेर बस्न नसक्ने जनाएको छ ।

विगत ४ महिनादेखि कोरोना भाइरसको महामारी र त्यसको रोकथामका निम्ति अवलम्बन गरिएको बन्दाबन्दीबाट सङ्कटग्रस्त बन्न पुगेको नेपाली अर्थतन्त्रको डरलाग्दो मार देशको उद्योग, व्यापार र व्यवसाय क्षेत्रमा परेको भन्दै नेकपाले यस्तो बताएको हो ।

पार्टी प्रवक्ता प्रकाण्डले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विगत ४ महिनादेखि कोरोना भाइरसको महामारी र त्यसको रोकथामका निम्ति अवलम्बन गरिएको बन्दाबन्दी (Lockdown) बाट सङ्कटग्रस्त बन्न पुगेको नेपाली अर्थतन्त्रको डरलाग्दो मार देशको उद्योग, व्यापार र व्यवसाय क्षेत्रमा पर्न गएको र उत्तरसाम्राज्यवादी एवं साम्राज्यवादी एकाधिकार पुँजीको चपेटा, दलाल पुँजीपति वर्गको शोषण र षड्यन्त्रको निरन्तर सिकार बन्दै आएका राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरू मृत्युको मुखमा पुग्न विवश त छँदै थिए भन्दै यो बेलामा सरकारले जारी गरेको ‘कर असुली फरमान’ र बैङ्कहरूले ब्याज असुल गर्न थोपरेको थप ‘ऋण प्रपञ्च’ राष्ट्रिय उद्यमी, व्यवसायी र व्यापारीहरूका निम्ति थप सङ्कटावस्थाको कारण बन्न गएको बताएका छन् । उनले यो आपत्तिजनक र खेदजनक कार्यलाई सरकार र वित्तीय बैङ्कहरूले तत्काल स्थगित गरी बन्दाबन्दीको अवस्थामा सहुलियत ब्याजदर, व्यापार, व्यवसाय सुचारु भएर पुँजी परिचालित हुन थालेपछि कर र ब्याज बुझाउने व्यवस्था गर्न सरकार र वित्तीय बैङ्कहरूलाई गम्भीर अपिलसमेत गरेका छन् ।

पार्टी प्रवक्ता प्रकाण्डले बाढीपहिरोपीडित जनताको उद्धार, राहत र सेवामा जुट्न पनि पार्टीका नेता–कार्यकर्ताहरूलाई विशेष निर्देशन दिएका थिए । साथै उनले प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाएकाहरूप्रति पार्टीका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रकाण्डले विज्ञप्तिमार्फत मृतकका आफन्तजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । उनले बाढीपहिरोमा परी बेपत्ता भएका जनताको शीघ्र उद्धार तथा वास्तविक अवस्था सार्वजनिक गर्न, घाइतेहरूको निःशुल्क, उचित उपचारको व्यवस्था गर्न, मृतकका आफन्त एवम् पीडित जनतालाई पर्याप्त राहतको व्यवस्था गर्न र घरवारविहीन जनताको पुनर्बासको व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गरेका छन् ।

प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘देश र नेपाली जनता कोरोना भाइरसको आक्रमण, आतङ्क र बेथितिका विरुद्ध जीवन–मरणको सङ्घर्ष गरिरहेको बेला गतसाताबाट सुरु भएको अभूतपूर्व वर्षाका कारण बाढी र डुबानले म्याग्दी, तनहुँ, गुल्मी, कास्की, जाजरकोट, कालीकोट, सङ्खुवासभा, चितवन र तराईका जिल्लाहरूलगायत देशभरि धनजन र भौतिक संरचनाको ठूलो सङ्ख्यामा क्षति हुन पुगेको छ । सर्वप्रथम प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाउन पुगेका दर्जनौँ मृतकप्रति हाम्रो पार्टी गहिरो दुःख व्यक्तगर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँहरूका आफन्तजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’

प्रकाण्डको विज्ञप्तिमा भनिएको छ, ‘दर्जनौँको सङ्ख्यामा बेपत्ता भएका जनताको शीघ्र उद्धार तथा वास्तविक अवस्था सार्वजनिक गर्न, घाइतेहरूको निःशुल्क, उचित उपचारको व्यवस्था गर्न, मृतकका आफन्त एवम् पीडित जनतालाई पर्याप्त राहतको व्यवस्था गर्न र घरवारविहीन जनताको पुनर्बासको व्यवस्था गर्न सरकारसँग पार्टी जोडदार माग गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘दलाल संसदीय राज्यव्यवस्थाको जनविरोधी चरित्र, गैरजिम्मेवारीपना र अक्षमताका कारण अव्यवस्थित बस्ती र असुरक्षित आवासमा दैनिक गुजारा चलाउन विवश आमनेपाली जनतालाई आफैँ उच्च सतर्कता कायम राख्न आग्रह गर्दै नेता–कार्यकर्ताहरूलाई पीडित जनताको उद्धार, राहत र जनसेवाको कार्यमा जुट्न पार्टी विशेष निर्देशन गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :