बाढीपहिरोपीडितको उद्धारमा जुट्न कार्यकर्तालाई नेकपाको निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले बाढीपहिरोबाट पीडित जनताको उद्धारमा खट्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएको छ ।

नेकपा म्याग्दीकी इन्चार्ज दीपाले प्रेस विज्ञप्ति जारी गर्दै नेता–कार्यकर्तालाई उद्धारमा खट्न निर्देशन दिएकी हुन् । म्याग्दीका विभिन्न ठाउँमा पहिरोले २५ जनाभन्दा बढीको मृत्यु भएको छ भने १३ जनाभन्दा बढी घाइते भएका छन् ।

इन्चार्ज दीपाले पहिरोको दुःखद् घटनाप्रति म्याग्दी जिल्ला पार्टीले गहिरो दुःख व्यक्त गरेको जनाएकी छिन् । उनले मृतकहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवार र आफन्तजनहरूप्रति गहिरो समवेदना प्रकट गरेकी छिन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् । उनले पहिरोका कारण विपत्तिमा परेका पीडितहरूको उद्धारका लागि पार्टीका कार्यकर्ताहरूलाई निर्देशन पनि दिएकी छिन् । विभिन्न सङ्घसंस्था र युवालाई उद्धारकार्यमा सहयोग गर्न विशेष आग्रह पनि गरेकी छिन् ।

दीपाले पहिरोका कारण धनजनको क्षति बेहोरेका सम्पूर्ण नागरिकको उद्धार गर्न, राहत उपलब्ध गराउन, सुरक्षित स्थानमा व्यवस्थित बसोबासको व्यस्थापन र उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण पनि गराएकी छिन् । दीपाले वर्षा बाँकी नै रहेकाले बाढीपहिरोको जोखिम अझै रहिरहने हुनाले सम्पूर्ण जिल्लाबासी जनसमुदायहरूलाई सचेत र सजग रहन अपिल पनि गरेकी छिन् । उनले नेपाल कम्युनिस्ट पार्टी सदैव जनताको साथमा रहने विश्वास पनि दिलाएकी छिन् ।

दीपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो समयदेखि यता मानव जातिको स्वास्थ्यमाथि चुनौती दिँदै महामारीका रूपमा विश्वलाई नै हलचल र तहसनहस पार्दै कोरोना भाइरस (कोभिड १९) तीव्र गतिमा फैलँदो क्रम जारी नै छ । विश्व जगत् कोभिड १९ सँग जुधिरहेको छ । नेपालमा पनि मृत्युदर बढिरहेको छ । देशमा लामो बन्दाबन्दी (लकडाउन) का कारण विविध समस्यासँग नेपाली जनता जुधिरहेका छन् भने राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको रक्षाको प्रश्न उठिरहेको छ । बहुसङ्ख्यक नेपाली जनता यसको रक्षार्थ एकत्रित भएका छन् ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अर्कोतिर सामाजिक दलाल फासिवादका नाइकेहरू केपी–पीके नेतृत्वको सरकार कोभिड १९ को समस्या त छँदैछ, जनतामाथि आइपरेका अन्य विपत्तिको पनि मतलब नगरी लाजमर्दो तरिकाले कुर्सी हत्याउने र जोगाउने खेलको चरमचुलीमा पुगेका छन् । प्रतिपक्ष भनिने दलहरू रमिते बनेका छन् । विगतदेखि नै हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी वैज्ञानिक समाजवाद स्थापनार्थ र आमूल परिवर्तनका निम्ति निरन्तर अघि बढिरहेको यहाँहरूलाई अवगत नै छ । वर्षायामसँगै बुधबार रातिदेखिको अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो र डुबानले ठूलो धनजनको क्षति भएको छ । यसै क्रममा म्याग्दी जिल्लामा पनि यही २०७७ असार २४ गते रातिदेखि २६ गते बिहानसम्ममा जिल्लाका विभिन्न भागमा गएको पहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ । जिल्लाको धवलागिरि गाउँपालिका ६ मराडमा सबैभन्दा ठूलो धनजनको क्षति भएको छ । मालिका गाउँपालिका ७ बिम र रघुगङ्गा गाउँपालिका ठाडाखालीमा गरी २५ जनाको मानवीय क्षति भएको छ । १३ जना घाइते हुनुभएको छ भने यी सबै स्थानमा गरी सयौँको सङ्ख्यामा जनता घरबारविहीन भएका छन् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :