बाढीपहिरोबाट ३८ जनाको ज्यान गयो, कयौँ अझै बेपत्ता

काठमाडौँ : अविरल वर्षापछि आएको बाढीपहिरोमा परी देशैभरि ३८ जनाभन्दा बढीको ज्यान गइसकेको छ । कयौँ मानिस बाढी र पहिरोमा परी अझै बेपत्ता छन् ।

उता म्याग्दीमा मात्रै वर्षासँगै गएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । केही अझै हराइरहेका छन् । म्याग्दीमा मृत्यु भएका सबैको सनाखत भएको छ । धवलागिरि गाउँपालिकामा मात्र १८ जनाको मृत्यु भएको छ ।

बिहीबारदेखि देशैभर अविरल वर्षा हुँदा पहाडमा पहिरो र तराईमा डुबानले ठूलो धनजनको क्षति भएको छ । सिन्धुपाल्चोक, रुकुम, जाजरकोट, कास्की, लमजुङलगायत जिल्लाहरू बाढीपहिरोबाट बढी प्रभावित भएका छन् ।

बाढीपहिरोले जनजीवन निकै प्रभावित भएको छ । हजारौँ परिवार विस्थापित तथा घरबारविहीन बनेको बेलामा सरकारले राहत र उद्धारकाकार्यहरूलाई प्रभावकारी बनाउन सकेको छैन । बाढीपहिरो र डुबानको जोखिम हुने क्षेत्रका बस्तीहरू अध्ययन गरेर समयमै स्थानान्तरण गरेको भए धनजनको क्षति कम गर्न सकिने सम्भावना थियो । सरकार भने बैठक गर्ने र नयाँ रणनीति अपनाएर काम गर्ने भन्ने निर्णय गर्नमै व्यस्त रहेको छ । सरकारले कछुवा गतिको तयारी गर्दागर्दै बाढीपहिरोले देशैभर ठूलो मानवीय र भौतिक क्षति गरिसकेको छ ।

कोरोना महामारीले जनजीवन त्रासदीपूर्ण बनिरहेको बेला कोरोनाबाट र बाढीपहिरोमा परी ज्यान जानेको सङ्ख्या बराबर भएको छ । मनसुन सक्रिय भएसँगै बर्सेनि बाढी, पहिरो र डुबानले ठूलो धनजनको क्षति हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :