संविधान जलाउँदै सङ्घीय गठबन्धन

काठमाडौँ : पहिचानमा आधारित सङ्घीय गठबन्धनले वर्तमान संविधान पहिचानविरोधी भएकाले संशोधन नगरिए जलाउने जनाएको छ । गठबन्धनले राजनीतिक विद्रोहलाई आपराधिक घटना बनाई रेशम चौधरीसहित ११ जनालाई जेलबाट मुक्त गराउन आन्दोलनको घोषणा गरेको छ । काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा शनिबार पत्रकार सम्मेलन गरी गठबन्धनले आफ्ना मागहरू सम्बोधन गर्न सरकारले आनाकानी गरेकाले असोज ३ गते संविधान जलाउने र अझै अटेर गरे सङ्घर्षका कडा कार्यक्रम लिएर अघि बढ्ने चेतावनीसमेत दिएको छ ।

गठबन्धनमा आबद्ध खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले वर्तमान संविधान नेपाली जनता र आदिवासी तथा जनजातिहरूको चाहनाविपरीत भएकाले यथाशीघ्र संशोधन गर्न माग गरे । खम्बुले २०७२ साल भदौ ७ गते कैलाली टीकापुरमा भएको घटना आपराधिक नभई आदिवासीहरूको विद्रोह भएको पनि बताए । उनले भने, ‘कम्युनिस्ट मुकुण्डो ओढेका तानाशाहहरूले आफूलाई बेलैमा सच्याएनन् भने उनीहरूको अन्त्यको सुरुआत भएको छ ।’

थरुहट थारूवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारूले सांसद रेशम चौधरीसहितका ११ जनालाई अझै पनि सरकारले अपराधी बनाएर कैदमा राखेकाले उनीहरूलाई निसर्त रिहा गर्नुपर्ने बताए । कोरोनाको महासङ्कटमा पनि भ्रष्ट, तस्कर र दलालहरूले मुलुकलाई लुटको स्वर्ग बनाएको भन्दै उनले केपी वली सरकार देश र जनताका लागि पूरै असफल भएको पनि बताए ।

गठबन्धनका अन्य वक्ताले दसबर्से जनयुद्ध र जनआन्दोलनबाट नयाँ संविधान बने पनि उल्टै संविधान कार्यान्वयनका नाममा जनविरोधी ऐनकानुन बनाएर सदियौँदेखि उत्पीडनमा पारिएका जाति, वर्ग, लिङ्ग, क्षेत्रको जनभावनालाई उपहास एवम् उपेक्षा गरिएकाले यसलाई संशोधन गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :