नेपालमा भारतीय टेलिभिजनको प्रसारण बन्द

काठमाडौँ : नेपालमा निर्बाध रूपमा प्रसारण हुँदै आएका भारतीय टीभी च्यानलहरू बिहीबारबाटै बन्द हुने भएका छन् । भारतीय सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर र जनस्तरबाट बन्द गरिने भएको हो । जनस्तरबाट व्यापक माग भएपछि नेपालवविरुद्ध भ्रामक प्रचार गरिरहेका विदेशी च्यानल प्रसारण गरिरहेका डिस होम, मेगा म्याक्स, डीएसएल, मेरो टीभीलगायत निकायले भारतीय टीभी बन्द गर्ने निर्णय गरेका हुन् ।

भारतीय टीभी च्यानलहरूले केही समयदेखि निकै भद्दा तरिकाले नेपालको सार्वभौमिकतामा आँच पुग्ने गरी अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री केपी वली र चिनियाँ राजदूतको नाम जोडेर आपत्तिजनक भिडियो प्रसारण गरेपछि भारतीय च्यानलहरू नेपालमा बन्द हुने भएका हुन् ।

नेपालमा २०७२ सालमा गएको महाभूकम्पको समयमा भारतले नेपालमाथि नाकाबन्दी गरेको बेला पनि नेपालमा भारतीय टेलिभिजनहरू बन्द गरिएको थियो ।

त्यतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी–माओवादीले भारतीय च्यानल बन्द गर्नका लागि चर्को दबाब दिइरहको सन्दर्भमा जनताबाट पनि भारतीय च्यानलको तीव्र विरोध भएपछि केबुल सञ्चालकहरू भारतीय च्यानल बन्द गर्न बाध्य भएका थिए । यसपालि पनि नेपालविरुद्ध भारतीय टेलिभिजनहरूले नेपाल र नेपाली राष्ट्रियताविरुद्ध व्यापक विष बमन गरेपछि जनस्तरबाट चर्को विरोध भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :